आकाश रुनुपूर्व नै रोइसकेको थियो धरती
तर म रोएको धरतीमा बसेर
रोएको आकाश हेरिरहेछु आजसम्म पनि
आकाशको बादल फाट्नु पूर्व नै
फाटिसकेको छ धरतीको पेट।
त्यही फाटेको धरतीको फाटेको पेटमा बसेर
आफ्नो पेट फुटाइरहेछु आज म
यहाँ केवल आज फाटेका फुटेका
र फुटाउनेहरू बाचीरहेछन्
नपत्याए हेर्नूस्
आमाको पेट फुटाउनेहरू
धरतीमा मान्छे भएर बाँचेका छन्
मित्रता फुटाउनेहरू
यो ब्रमाण्डलाई फुटाएर साना-साना देश बनाइरहेछन्
कोही-कोही भाइहरू घर फुटाएर
साना-साना घर बनाइरहेछन्
देश फुटाएर प्रदेश बनाइरहेछन्
यहाँ केवल फुटाउनेहरू मात्र बाँकी छन्।
हुन त तिमी पनि फुटाउनेवाली हौ
तिमीले आफ्नै आमाको पेट त फुटायौ
जाबो मलाई फुटाउन तिमीलाई
के समय लाग्ला र?
यसैले मलाई तिम्रो कुनै विश्वास छैन
ए मनुष्य, तिमी केवल फुटाउने गर्छौ
नपत्याए सम्झ
तिमीले आफ्नै आमाको पेट फुटाएर
धरतीमा आएका हौ
ए मनुष्य, तिमी केवल फुटाउने काम गर्छौ
यसैले मलाई तिम्रो कुनै विश्वास छैन।
यहाँ सबैले सबैको विश्वास गर्नू
तर मनुष्यको विश्वास कसैले नगर्नू
किनकि, मनुष्यले फुटाउने काम गर्छ
केवल फुटाउने काम गर्छ मनुष्यले
यदि सक्थ्यो भने मनुष्यले,
आफ्नै घर भित्र राख्थ्यो
ब्रमाण्डलाई फुटाएर,
तर नसकेर मात्र आज ब्रमाण्ड बाचेको छ
त्यही ब्रमाण्डको पनि
पेट फुटाइसकेको छ मनुष्यले।