सर्वहाराको मुकुन्डो लाएर
दलाली र कमिसनमा
राष्ट्रवाद भजाएर
चुरे बेच्न तयार म
लाज किन बाबा!
भ्रष्टाचारीको मुखै नहेर्ने
उधारो भाषण कति-कति
उत्तरको गुणगान गाएर
अंकलसम्मका लागि सुराक गर्ने म
लाज किन बाबा!
प्रजातन्त्र दरबारमा
संगठन एनजिओको झोलामा
आत्माले धर्ती छाड्न आँटिसक्यो
शरीरले कुर्सी छाड्न मान्दैन
लाज किन बाबा!
पछि लाग्ने नभेटेपछि
घरैपिच्छे एउटा राज्य
निमुखाको सपना बेचेर
महलको चास्नी चाख्ने यो मन
लाज किन बाबा!
धर्मको दोकान थापेर
निकम्माको दास बन्न पाए
हिजोको लुट र मस्ती सम्झेर
आज यो मन किटकिट गर्छ
लाज किन बाबा!
होलिको पाइन पचाएर
सर्प पालि अनुदान
बोलीमा साह्रै मिजासिलो
शासनमा आफ्नै थैली प्यारो
लाज किन बाबा!
समाजले विद्वान सम्झिन्छ
नभए आफैँ मपाईं गर्छु
आफ्नो स्वार्थ पूरा भए
धर्म माटो सबै बेच्छु
लाज किन बाबा!
मलाई कसले भ्रष्टाचारी भन्छ
मलाई कसले व्यभिचारी भन्छ
मलाई कसले निकम्मा भन्छ
मलाई कसले दले डन भन्छ
म त हिँड्छु मेरै बाटो
खुट्टा तान्ने तानिरहुन्
म त चढ्छु डंगुरमाथि
कुरा काट्ने काटिरहुन्
लाज किन बाबा!