आस्थाका धरोहरहरु भत्काएर
इमानलाई भट्टीमा पोल्नेहरुले
विधि र पद्धतिको
खुलेआम चिरहरण गरिरहेका छन्
र सगर्व बखान गरिरहेका छन्
आफ्ना कर्तुतहरु
म भने
मूकदर्शक भएर रमिता हेरिरहेको छु।
यो सत्ताको द्युतक्रिडामा
दुवै पक्षतिर
पासा हान्न जान्ने
धुरन्धर शकुनीहरु छन्
व्यूह रच्न जान्ने
धुरन्धर हस्तीहरु छन्
रणनीति बुन्न जान्ने
धुरन्धर योजनाकारहरु छन्।
सतरञ्जको बाजीमा
तगडा चालहरु चालिएका छन्
चुस्त सिपाही, हात्ती, घोडा र ऊँटहरुमार्फत
समर्थक यता पनि उस्तै
समर्थक उता पनि उस्तै
रोमाञ्चकता प्रतिदिन बढ्दो छ खेलमा।
यतिखेर
खेलमा विवाद देखिएको
विवाद उत्कर्षमा पुगेर कतै अड्किएको छ
हरेकका व्यवहार, नियत र इमानमाथि
यक्ष प्रश्नहरु सोझिएका छन्
कति प्रश्नका जवाफ मौनतामा समाहित छन्
न्यायको कसौटीमा
इन्साफको तराजु कतापट्टि ढल्कने हो
त्यो त समयले नै बताउला।
भन्नेले त चिच्याई-चिच्याई भन्दैछन्
विकास र समृद्धिका फसलहरु
हलक्क बढेका छन्, गज्जबले सप्रिएका छन्
तिमी राम्रा कुरा देख्दै देख्दैनौ, देख्नै सक्दैनौ
तिमीमा दृष्टिदोष छ
हामीकहाँ लच्छिनकी गाई छिन्
दूधालु र भनेको मान्ने
बेकारमा कराइरहेका छन् साथीहरु
तर मार्न नपाएको झोंकमा।
तर, यति सत्य हो
यहाँ इमानका रेशमी रुमालहरुमा दाग लाग्न थालेको छ
हरेकलाई केही न केही भाग लाग्न थालेको छ
म भने
मूकदर्शक भएर रमिता हेरिरहेको छु।