दाइ तिमीले त भन्ने गर्थेऊ
सम्पत्ति कमाउन विदेश लागेको हो म
तर महिना दिन पनि नपुग्दै
सम्पत्तिको नाममा त्यही एउटा
काठको बाकस मात्रै लिएर आएछौ।
जाने बेलामा आमालाई भनेका पनि थियौ
आमा राम्ररी बस्नुस् है, त्यहाँ गएपछि
म तिमीलाई नयाँ सारी किनिदिन्छु
अनि श्रीमतीलाई सिन्दुर, पोते, चुरा किनिदिन्छु
तर आज आउँदा सेतो कात्रोसँगै
श्रीमतीको सिन्दुर पखाल्ने आँसु लिएर आएछौ।
बुवालाई भनेका कुरा त ताजै लाग्छन् मलाई
बुवा हजुरले दुःख गर्ने दिन जान्छन् अब
तिरौला नि उपल्लारे साहुको ऋण
अनि बन्नेछ छुट्टै संसार र हाम्रो खुसी परिवार
आउन त आयौ दाइ तिमी झट्टै आयौ
तर तिम्रो त्यो छुट्टै संसारमा तिमी बाहेक
कोही पनि नअट्ने गरी बनाएछौ
र शीरबाट कहिले नउत्रिने भारी बनेर आएछौ।
जाँदा त एक्लै गएका थियौ तिमी
फेरि किन यतिका मानिसरुपी सवारी साथमा छन्
यति व्यस्त भएछौ सपना देख्न
सास फेर्न पनि बिर्सेछौ क्यारे
सबैसँग मिठो बोलेर नथाक्ने तिमी
अब कहिल्यै नबोल्ने गरी आएछौ।