बुबा भन्नुहुन्थ्यो,
सदियौँ पहिले यी खोलाहरु यति गहिरा थिएनन्
यी नदीहरु यति गहिरा थिएनन्,
समयको प्रभावले, पानीको प्रवाहले यी यति गहिरा बनेका हुन्
यहाँ यसरी खोच बनेका हुन्, गल्छी बनेका हुन्।
अचेल मलाई लाग्छ
सायद
मान्छेको आयु पनि
यो धर्तीको जस्तै लामो हुन्थ्यो भने
आँसु र पसिनासँग जीवनको तार जोडिएका
करोडौं मान्छेको अनुहारमा
करोडौं मान्छेको शरीरमा
कति खोच भेटिन्थे होला, कति गल्छी देखिन्थे होला।
सायद मान्छेको आयु पनि
यो धर्तीको जस्तै लामो हुन्थ्यो भने
जीवनको उत्तरार्धमा मान्छे
धातुको पुरानो भाडोजस्तै हुन्थ्यो होला,
कतै कुच्चिएको, कतै च्याप्टिएको
कतै उठेको, कतै बसेको।
सायद,
मान्छेको आयु पनि यो धर्तीको जस्तै लामो हुन्थ्यो भने
वर्षौंदेखि ठालुहरुका ठूला-ठूला महल बनाएर
साँझ आफ्नो झुपडीमा सुस्ताउन आउने
हर्के, बिर्खेका शरीरमा कति गल्छी भेटिन्थे होला, कति खोच भेटिन्थे होला।
जन्मैदेखि सुकेनास, फुकेनास र रुञ्चे लिएर आएका
भुन्टे, चिन्टे, सन्तेका अनुहारमा
कति गल्छी भेटिन्थे होला
कति खोच देखिन्थे होला।
आफ्नी बलात्कृत मृत छोरीको
सुकोमल शरीरमा आगो दिएर
उसको न्यायको लागि भौतारिरहेका
सितादेवी, मायादेवी, तारादेवीजस्ता
हजारौँ देवीहरुको अनुहारमा
कति गल्छी भेटिन्थे होला, खोछ भेटिन्थे होला।
नहेरेर मात्र हो सायद,
नियालेर हेरौँ त
सेतीका खोचहरु हर्के, बिर्खेका शरीरमा भेटिन सक्छन्
नियालेर हेरौँ त,
सेतीका खोछहरु सितादेवी, मायादेवी, भुन्टे, चिन्टे,
सन्तेको अनुहारमा भेटिन सक्छन्।
आखिर फरक के नै छ र
आँसु, पसिना र पानीमा
आँसु अलिकति नुनिलो हुन्छ
पसिना अलिकति नुनिलो हुन्छ
फरक यति नै त हो!