दुई/चार दिनदेखि अलि बढी नै छटपटी छ। पहिलो पटक विशेष व्यक्तिको रूपमा भ्रमण गर्ने तारतम्य मिलाउँदैमा केही दिन बिते। ढिलै भए पनि अवसर प्राप्त हुँदा मनमा हर्ष र एक प्रकारको बेग्लै उन्माद छाउँदो रहेछ।
जानुभन्दा एकदिन अगाडि आफ्नो शैली, पहिरनलाई आकर्षक बनाउन रिहर्सल आवश्यक लाग्यो र ऐना सामुन्ने उभिएर हाउभाउ, बोल्ने शैली लगायतको परीक्षण गर्दा सबै ठिकै लाग्यो। विशेष व्यक्ति बनिसकेको अवस्थामा अरूका समस्या सुनेर टाउको हल्लाउने, समस्यालाई गम्भीरताका साथ बुझेको झैँ गर्न देखाउनुपर्ने प्रस्तुतिकरण पश्चात आफू पूर्णतया तयार रहेको महसुस गरेँ।
भ्रमणमा निस्किनुपर्ने दिन आयो। दसैँमा नै किनेको भए पनि राम्रो र आकर्षक पहिरन भएको हुँदा सोही पहिरनलाई पहिरेर निस्किएँ। विशेष व्यक्तिका लागि तयार गरिएको सवारीमा आसन जमाएर भ्रमणमा निस्किरहँदा अन्य सामान्य व्यक्तिले आफूलाई गर्ने सम्मान र चाकडीको भोकले व्यग्रै सताइरहेको थियो।
समयको क्रमिक गतिसँगै गन्तव्यतर्फ उन्मुख मलाई चाकडीको स्वादको छटपटी साँच्चै नै उदेकलाग्दो थियो। गन्तव्यमा पुग्नासाथ सवारीबाट बाहिर निस्किएँ। दुब्लो तर अग्लो कदकाँटको व्यक्तिले पूर्णतया निहुँरेर फूलसहितको गुच्छाले मलाई स्वागत गर्यो। विशेष भवनतर्फ त्यो व्यक्तिले मलाई लग्दै गर्दा अधिकांश समय उसको ढाड निहुरेकै अवस्थामा रहँदा मलाई सगरमाथाको उचाइबाट मुन्तिर हेरेको झैँ महसुस भइरहेको थियो।
भवनको मध्यभागमा राखिएको बडेमानको सोफामा आसन जमाएँ। वरिपरी विभिन्न थालीहरूमा चौरासी व्यञ्जनका भोजन, थरीथरीका पिउने जलहरू देखेँ। एकपछि अर्को गर्दै पालैपालो आफूले सो भोजनका परिकारको आनन्द उठाइरहँदा सो व्यक्ति भने शिर निहुराई नमस्कार गरेकै अवस्थामा खडा थियो। जल पिउने क्रममा मेरो हातबाट चिप्लिएर सुनौलो गिलास भुइँमा झर्यो र ठूलो आवाज आयो। त्यही आवाजको बीचमा म झल्याँस्स बिउँझिएँ।
अघि चढेको सवारी गन्तव्यनजिकै पुगेको रहेछ। गन्तव्यपूर्व नै हुनसक्ने स्वर्णीम आभास आफूलाई स्वप्नमार्फत भएको महसुस गरेँ। सपनाझैँ विपनामा हुने समयको प्रतिक्षा गर्दागर्दै गन्तव्य आइपुग्यो। गन्तव्यमा ओर्लिएँ तर त्यहाँ अघि सपनामा झैँ फूलमाला लिएर कोही खडा थिएन। केही परतिर एउटा मानिस उभिएको थियो, जो दुई हात जोडेर नमस्कारको भाव व्यक्त गरिरहेको प्रष्ट देखिन्थ्यो।
उसैले मार्गनिर्देश गरेबमोजिम अगाडि बढेँ। सपनामा झैँ कुनै पनि आतिथ्य र सत्कार थिएन। साँघुरो कोठाको एक कुनाको सोफामा बसाइ, स्टिलको गिलासमा साधारण पानीले आतिथ्य गर्नासाथ मन कुँडियो। सपनामा झैँ चौरासी व्यञ्जनको आतिथ्य पाउने आशा लिएको मैलै त्यसको कुनै सुरसार नदेख्दा आक्रोशले मनमस्तिस्क छोपिसकेको थियो।
विशेष व्यक्ति भएको हुँदा अन्यले आफूसँग गर्ने दुःख, पिरमर्का सो व्यक्ति समेत सुनाइरहेको थियो। उसले भनेको एउटै वाक्य 'पैसा नभएर जीवन मरणको अवस्थामा पुगिसकेँ हजुर!' सम्म सुनेँ तर म भित्रको चाकडी र सम्मान नपाएको आक्रोशले कुनै वाक्य, शब्दको अर्थ बुझ्ने क्षमता गुमाइसकेको थियो।
केही बेरको त्यो बसाइ मेरा लागि दन्किरहेको चितामा बसेसरह महसुस गराइरहेको थियो। केही क्षणमा त्यहाँबाट केही नबोली निस्किएँ र सोही सवारीमा चढेर अगाडि बढेँ।
यस बीचका सम्पूर्ण घटना/परिघटनामा एउटै कुरा प्रधान रहे- मैले सम्मान पाइनँ, सत्कार पाइनँ, चाकडी पाइनँ। भ्रमणबाट फर्किएसँगै मलाई चाकडी नगर्ने सो व्यक्तिको उछित्तो काढ्ने र आफ्नो शक्तिको प्रभावले भष्म पार्ने दृढ अठोट कसेँ। जीवनमरणको अवस्थामा पुगेँ भनेको त्यो व्यक्तिको कारुणिक क्रन्दनभन्दा आज मलाई चाकडी नपाएकोमा औधी क्रोध आइरह्यो। सवारीले दूरी तय गरेसँगै समय बित्दै गयो तर चाकडी नपाएको झोक र आक्रोश उस्तै नै रहिरह्यो।