सयपत्री मखमली, फुल्थे पाखाभरि
दसैँ आउँदा, तिहार आउँदा, झल्को आँखाभरि
विदेश जाने घर आउँथे, सहर पस्ने गाउँ
सबैलाई प्यारो लाग्ने, आफ्नै जन्म ठाउँ
उल्लासमय वातावरण, खुसी घरैभरि
हतार हुन्थ्यो नयाँ लुगा, नयाँ जुत्ता लाउन
टीका थाप्नभन्दा पनि पैसा कमाउन
निधारमा रातो टीका, पैसा हातैभरि
देउसी-भैलो खेल्ने गर्थे, सबै जम्मा भई
रातो माटो, चिप्लो बाटो, घर-घर गई
केटाकेटी लिङ्गे पिङ्गमा, धान त खेतैभरि
दिदी लिन भाइ जान्थ्यो, तिहारको बेला
सहरको त के कुरा भो, गाउँमै लाग्थ्यो मेला
यादहरू बाँकी नै छन्, मनमुटुभरि
सयपत्री मखमली, फुल्थे पाखाभरि
दशैँ आउँदा, तिहार आउँदा, झल्को आँखाभरि।