आमा भन्नुहुन्छ 'बाबु, तिमी भोलि बिहानै सहर जानु छ। कपडाहरु मिलाएर राख्दै गर, छुट्न सक्छ। मैले सहर लानको लागि बारीमा तरकारीहरु टिप्दिँदै गर्छु। अनि तिमी छिमेकीसँग बिदावारी भएर आउनू।'
म छिमेकीहरुसँग बिदावारी भएर घर आउँदा साँझ परिसकेको हुन्छ। आमा पनि तरकारी टिपेर आउनुहुन्छ। आमा भन्नुहुन्छ, 'म आमा-छोरालाई खाना पकाउँदै गर्छु, तिमी गाईभैँसीलाई घाँस पात गरेर आऊ अनि खाना खाउँला।'
आमाले भन्नु भयो, 'बाबु, भोलि बिहानै पाँच बजेको अलार्म लगाएर सुत है।'
बिहानै पाँच बजेको अलार्म नबज्दै आमा उठेर भनुहुन्छ, 'आज कस्तो निन्द्रै लागेन बाबु कति बज्यो मोबाइल हेर त।'
घर नजिकै बसपार्क थियो, बसले हर्न लगाउँदै पेसेन्जरहरु बोलाउँदै थियो। आमाले रातो टीका मुछ्दै हुनुहुन्थ्यो। आमाले बोलाउनु भयो, 'बाबु, यता आऊ त रातो टीका लगाइदिन्छु।' दायाँ हात निधारमा राख्दै भन्नुहुन्छ 'बाबु मेरो केही पिर/चिन्ता नलिनू होइ, आफ्नो ख्याल राख्नू, पढाइलाई नबिगार्नू, सहर गएर फोन गर्नू है बाबु।'
पटुकाबाट पैसा निकाल्दै आमा भन्नुहुन्छ, 'हिजो आमा समूहबाट पाँच हजार ऋण लिएको थिएँ। साहुले रासन-पानीको पैसा मागेको थियो, पच्चिस सय दिने सोच राखिकी छु। त्यति भएसी साहुले रासन देला। बाँकी पच्चिस सय तिमीलाई चाहियो। यो पाँच सयको खाजा खानू, हजारको कोठामा चाहिने समान किन्नू है बाबु। हजार रुपैयाँ बस भाडा लागिहाल्छ।'
यस्तै भन्दै सम्झाउँदै हुनुहुन्थ्यो आमा तर मेरो मनले मानेन। खाजा खान दिएको पाँच सय आमालाई दिएँ। आमा भन्नुहुन्छ, 'मलाई किन चाहियो पैसा?'
मैले भनेँ, 'आमा म जागिर गर्दै पढ्छु नि, मेरो बारेमा केही पिर लिनु पर्दैन। हजुर दमको रोगी हुनुहुन्छ। त्यही पाँच सयले गर्दा उधारो औषधि त आउँछ।'
आमा भन्नुहुन्छ, 'पर्दैन बाबु' पर्दैन।'
मैले भनेँ, 'आमा, हजुर बुढी हुँदै जानु भाछ। हजुरको साथमा पनि त पैसा चाहिन्छ।'
'मलाई पैसा किन चाहियो? बस छुट्न लागिसक्यो जाऊ, पुगेसी फोन गर है बाबु' भन्दै मनिलो अनुहार बनाउँदै घरतिर फर्किनु हुन्छ। म बसतिर गएँ तर मेरो पनि रहर थिएन बुढी भएकी आमा एक्लै घर छोडेर हिँड्न्। तर समयले बाध्यता बनायो।
त्यहाँबाट बस छुट्छ सहरको लागि। बाटोमा जाँदै गर्दा फोन आउँछ, 'बाबु कहाँ पुग्यौ? राम्रोसँग जाऊ है?'
मैले सहर पुगेपछि फोन गरेँ आमालाई। आमा भन्नुहुन्छ, 'खाना पकाएर खानु होइ बाबु।'
आमा भन्ने चिज नै यस्तो जीवित भगवान रहेछिन्! आफ्ना सारा इच्छाहरु सन्तानको खुसीको लागि बलि चढाउने निडर आत्मा नै आमा हुन्।