प्रिय डायरी,
तिमीलाई आज मेरो मनमा गाडिएका सब कुरा अन्तिम पटक सुनाउनु छ।
सायद तिम्रो र मेरो भेट अब कहिले पनि हुने छैन। म यो स्वार्थी संसार छाडेर धेरै टाढा जाँदैछु। जहाँ कसैको मनमा पाप लोभ लालच हुनेछैन। मेरो शरीरमा रहेका हरेक दागले मलाई सन्तोषका साथ अघि बढ्न दिएको छैन।
मलाई यो नरकमा कहिलै आउन मन छैन। मेरो कुरा अरूले त बुझ्दैनन् तर तिमी एउटामात्र मेरो असल साथी हो जसले फर्केर मेरा शब्दविपरीत आवाज उठाउने कोसिस गर्दैन।
दुई महिना अघि म स्कुलबाट घर फर्किंदै गर्दा बाटोमा कुन पापीले अपहरण गर्यो। मेरो आँखामा पट्टि बाँधेर मेरो इज्जत लुट्याे।
एक बलात्कृत किशोरीको रूपमा यो समाजमा छाड्यो। त्यो दुष्ट कोहो त्यो त मलाई थाहा छैन। तर मेरो जीवनमा कहिल्यै न निभ्ने डडेलो लगाइदियो। राजा र उनका स-परिवार मारिएको देशमा एक म जस्तीको अस्मिता लुटिनु सामान्य ठान्यो यो समाजले! त्यसैले त सबैले ममाथि नै खोट लगाए। छोरी मान्छे साँझ पख किन हिँडेकी भनेर मलाई नै आरोप लगाए।
मानौं म स्कुलबाट अबेर ट्यूसन पढेर घर फर्किनु र मेरो इज्जत लुटिनुमा मेरै दोष थियो।
म एक १७ वर्षकी किशोरीमाथि भएको दुर्व्यवहार गर्ने त्यो दुष्टलाई कसैले खोज्न आवश्यक ठानेन सायद।
मेरो शरीरलाई निवस्त्र बनाएर मेरो कलिलो शरीरलाई मेरो इच्छाविरूद्ध दिएको त्यो पीडा यातना कसैले बुझ्ने आँट गरेनन् सायद। त्यसैले त म न्याय न पाएर हरेक दिन आँसुको खोलामा पौडिँदै बसेकी छु।
आफ्नो गल्तीबिना नै सजाय भोगेर अगाडि निरन्तर बढिरहेकी छु।
आशा गर्छु, म पछि यस्तो पीडा कोही निर्दोषले कहिल्यै पनि भोग्नु नपरोस्।
माघ महिनाको टहटह जुन लगाएको पूर्णिमाको रातमा मेरो जीवनमा अन्धकार बनाएर मलाई बाग्मतीको किनारमा निवस्त्र लगेर कुनै फोहोर हो जसरी फालियो।
मेरो नांगो शरीर त्यो माघ महिनाको चिसो रातमा नदी किनारमा फालिएको थियो। तिनी दुष्टहरूले मेरो कोमल शरीरलाई हलचल गर्न नमिल्ने बनाइदिएका थिए।
ओठ मुख सुकेर म केही आवाज निकाल्न नसक्ने अवस्थामा जीवन र मृत्युको दोसाधमा थिए। मेरो शरीरमा कुनै हलचल थिएन। मेरो मुखमा एक थोपा पानी समेत नदिएर मलाई बोल्न नसक्ने अवस्थामा छोडेका थिए।
ईश्वर मलाई किन छोरी बनाएर यो धर्तीमा पठायौ भन्दै म भित्र भित्र रोएँ, कराएँ।
आज दिव्या पहिलेजस्तै दिव्य पवित्र थिइन्।
'आमा को पापीले तिम्री दिव्याको अस्मिता लुट्यो। तिमीले तिम्री दिव्यालाई भेट्न पाउछौ कि पाउन्न।'भन्दै मन मनै रोएँ पीडामै। मेरो अस्मिता लुटेर बागमती किनारमा फालियो। बागमतीमात्र छिन् साक्षी मेरो आँसुको हिसाब गर्ने।
रुँदा रुँदै म त्यही किनारमा बेहोस भएछु। बिहानपख त्यही बागमती किनारमा बस्ने एक आमाले मलाई त्यस्तो अवस्थामा देखेर पुलिसलाई बोलाउनु भएछ। अनि पुलिस आएपछि मलाई अस्पताल लगिएछ।
मलाई अस्पतालमा राखेको ३ दिनपछि मात्र म होसमा आएछ। म होसमा आउँदा मेरो साथमा आमा हुनुहुन्थ्यो। म झन् आमालाई देखेर भक्कानिँदै आमालाई अंगालेर रोएँ।
आफ्नो शरीर राम्रोसँग चलाउन सक्ने अवस्थामा म थिइनँ।
हरेक ठाउँमा मेरो अस्मिता लुटिएको प्रसंगलाई ताजा समाचार स्वरूप सम्पूर्ण सामाजिक संजालमा सनसनी फैलिसकेको रहेछ।
मेरो लागि आवाज उठाउन चालिस जना जतिले ती दुष्टविरूद्ध आन्दोलन नि गर्दै रहेछन्। तर यो सबै दुई चार दिनको लागि मात्र भयो। अन्त्यमा सबै सेलाए। न कसैले मेरो मर्म बुझे, न मलाई न्याय दिने अठोट नै गरे।
मेरा आमा बाबाले मेरो लागि न्यायको भिखसम्म माग्नु भयो निर्दयी सरकारको सामु।
महिला राष्ट्रपति भएको देशमा समेत मैले न्याय पाइनँ।
मेरो आँखामा पट्टि बाँधेर, हात खुट्टा हलचल गर्न नमिल्ने गरी च्यापेर मेरो इज्जत लुटिएको थियो। मेरा आँखामा सरि यो सरकार र यो समाजले पनि आँखामा पट्टि बाध्यो। नेताहरू सत्ता र कुर्सीको पछि भागदौड गरेको मात्र देखें।
अनि बल्ल सोचें मभन्दा अगाडि निर्मला पन्तजस्ता चेलीको पनि मेरो जसरी नै अस्मिता लुटेर मारेका थिए ती राक्षसहरूले।
यतिका समय न उनले न्याय पाइन् न मैले नै।
हामीभन्दा अघि धेरै अबला नारीले यस्तो भोगेर समाजमा आफ्नो घर परिवारको इज्जत जाने डरले केही बोलेनन्। त्यसैले नै होला यस्ता दुष्ट पुरूषको साहस बढेको।
मेरो भावना उहाँहरूले सुन्नुभयो भने अवश्य भन्नुहुन्छ होला, 'मैले न्यायको लागि आवाज उठाइनँ त्यसैले आज म पश्चाताप गरिरहेको छु।'
यो सबै हामीलाई हाम्रो समाजले सानैदेखि अरुले के सोच्लान्, अरुले के भन्लान् भनेर आफ्ना भवाना, वेदना, समस्या सबैलाई लुकाउन सिकायो। तर कसैले पनि आत्मसम्मानको पाठ हामीलाई सिकाएनन्।
आज म त्यही पीडा सहँदै छु जसको म भागीदार थिइनँ। मेरा भावना धेरै जनाका निम्ति अपरिचित होला तर बेथा सबैको एउटा हो 'समाजले के भन्ला'
मेरो र मेरा आमा बाबाको आँसु लाग्नेछ सोच्दै जीवन काट्दै छु। मैले त न्याय पाइनँ तर म जसरी अरू कोही नारीले पनि यस्तो अवस्था भोग्नु नपरोस्।
आँसु झरोस् तर खुसीको मात्र। कसैले कसैको अन्याय सहनु नपरोस्। कोही पनि चेलीले पूर्ण रूपमा समाजमा आफ्ना समस्या, आफ्ना दु:ख पीडा खुलस्त सुनौन सकून् र यो समाजले मानिस रूपी राक्षसबाट सम्पूर्ण छोरीलाई बचाएर सम्मान साथ शिर उठाएर बाँच्न सिकाओस्।
हरेक घरमा आमा-बाबा आफ्ना छोरालाई नारीको इज्जत र सम्मान गर्न सिकाऊन्। छोरीलाई आत्मसम्मानको पाठ सिकाऊन्। छोरा-छोरीलाई कुनै भेद नगरेर एउटा सभ्य समाज बनाऊन्।
यदि तिमीलाई आफ्नो विचार व्यक्त गरेर व्यक्तिलाई सचेत गर्न सक्ने भए, समाजमा आउने हरेक समस्या तिमीलाई व्यक्त गर्ने थिएँ। तर तिमी पानामै सीमित छौ।
समाजमा कसले के भन्छ भन्दै आफ्नो लक्ष्यबाट कोही मानवले पनि आफ्नो मन मारेर जीवन काट्न नपरोस्। अनि बल्ल मेरो आत्माले शान्ति पाउने छ। आशा गर्छु मेरो बलिदान खेर नजाओस्।
यो हाम्रो अन्तिम भेट हो। अलबिदा डायरी...