‘अलि पर, त्यो सल्लेरीभन्दा पनि पारि, त्यो एउटा डाँडो छ नि ? देख्नुभो ? हो त्यहीँ गएर बसम् न एकछिन, है ?’, मैले ओठभरि खुसी भरेर सोधें, ‘कहाँ ? त्यति टाढा ? मेरो अरु काम छैन?’ ऊ जंगियो।
ओठमा भरिएको खुसी अलिकति पनि तन्किन नपाउँदै मेरा आँखा भरिए र पनि फेरि बोल्ने चेस्टा गरें, ‘प्लिज के, आधा घण्टा मात्रै नि!’ ऊ फेरि चिढियो।
‘तिमीलाई एकचोटी भनेर हुन्न ? कस्तो खालको मान्छे होला’, यस्तो सुन्ने आशले म पटक्कै बोलेकी थिइनँ, मुटु भरियो मेरो, म अवाक भएँ , घुरेर हेरिरहें उसको मोहक अनुहारमा।
अब एक पटक मात्र पनि आँखा झिम्काएँ भने मेरा भर्खरै मारिएको रहर आँसु बनेर धरधरी बग्थे, तर अहँ पटक्कै आँखा झिम्क्याइनँ मैले, हेरिरहें त्यो अनुहारमा, खै कुन दिन कुन दशा लागेर माया गर्न पुगेछु!
आफूलाई सामान्य बनाउने कोसिस गर्दै म फेरि बोलें, आज घर नजानुहुने ?
‘अँ, आज यतै काम छ, साथीकोमा बस्छु होला’ सामान्य जवाफ फर्कायो उसले।
मनमनै फेरि रिस उठ्यो मलाई, साथीको मै जाने त रैछ, जाबो आधा घण्टा मसँग बिताउन यसलाई किन यति गाह्रो ? जे होस् मैले त्यो कुरा मनमै दबाएँ, उसले मेरो हात समातिदिए पनि हुन्थ्योझैं लागिरह्यो त्यो पल, तर उसले मैले जसरी सोचेन।
म उसलाई जुनिभरि मेरो अंगालोमा राख्न चाहन्छु, उसलाई यो सबै कुराको मतलब नै छैन, कस्तो ज्याद्रो मान्छ!
मलाई खै किन मेरो हरेक पाइलामा उसले पछ्याइरहेको जस्तो लाग्छ, मेरा हरेक ठट्टामा ऊ पनि हाँसेकोजस्तो लाग्छ।
मलाई जादु टुना आउने भए पनि एक मुठी चामलले हानेर उसलाई मेरो माया बुझाउँथें, त्यो पनि जान्दिनँ।
उसले तीतो बोल्दा मुटु पीरो हुन्छ, अकबरे खुर्सानी खाएझैं, उसले कहिलेकाहीँ बिर्सिएर मीठो कुरा गर्छ मसँग, त्यो बेला कस्सम आफूले आफूलाई संसारकै भाग्यमानी ठान्छु। त्यो बेला लाग्छ यति मीठो मान्छे कसरी एक निमेषमै नीमभन्दा तीतो बन्न सक्छ ?
मलाई पहिला कसैलाई देखेर कहिल्यै यस्तो भएन, तर यो मान्छेले मलाई मैन पगालेझैं पागल्यो। मेरै हो ऊ भनेर न उसको अंगालोमा लटपटिन सक्छु न यो मान्छे मेरो हैन भनेर चटक्क नसम्झी बस्न नै सक्छु, मेरो जिन्दगी पनि तुफान आएको बेला बीच समुन्द्रमा अल्मलिएको डुंगाझैं भयो, मैले कहिल्यै सोचेको पनि थिइनँ कि कसैको मायाले मलाई यतिसम्म विक्षिप्त बनाउँछ।
म हरेक बिहान मेरा आँखाका पर्दाभित्र उसैलाई खोज्छु, मलाई उसको बोली महभन्दा मीठो लाग्छ, त्यसैले त त्यो बोली नसुनी मेरा आँखा निदाउनै मान्दैनन्।
म हरेक पटक केही मीठो खाने कुरा खाँदा ऊ पनि मसँगै भैदिए हुन्थ्योजस्तो लाग्छ। अनि कहिलेकाहीँ केही नमीठो खाँदा शायद उसको हातले दिए रुच्थ्यो कि जस्तो लाग्छ।
यो सहरमा हजारौंको भिडमा पनि मेरा आँखाले उसैका आकृति खोजिरहन्छन्। कति पागल छु म, थानकोटको मान्छेलाई म भक्तपुरको तरकारी बजारमा खोज्छु तरकारी किन्न जाँदा, म कार्यालय जाँदा बनेपाको गाडीको हरेक सिटमा म उसैलाई खोज्छु। कास उसलाई पनि यस्तै हुँदो हो त नमरी स्वर्ग देख्ने पहिलो भाग्यमानी म नै हुन्थें।
बाटोमा हिँड्दा चर्को घामले मलाई पोल्दा उसको छायामा सुस्ताउन मन लाग्छ, झमझम झरी पर्दा उसको अंगालोमा ओत्तिन मन लाग्छ।
मैले लगाउने हरेक पहिरनमा म उसको रंग मिसाउँछु, मेरो नाम पनि ‘के’ अक्षरबाट सुरू भएको भए म सबैले देख्ने गरी यो अक्षरको किरिङ, यही अक्षरको मोबाइल कभर अनि यही अक्षरको नाम खोपाउँथें मेरो नाडीमा, तर के फाइदा ? जसलाई देखाउनु पर्ने उसलाई मतलब नै छैन!
ऊ जति कठोर बन्दै जान्छ, म त्यति पग्लिँदै गइरहेको छु, उसको मायामा, हुन हो या रुन हो थाहा छैन तर यो आकाशभन्दा पनि धेरै माया लाग्छ उसको, कास उसलाई मेरो माया त्यो आकाशमा चम्किने एउटा तारा जति मात्र लागे पनि हुन्थ्यो नि!, कस्तो ढुंगाको मन भा’को मान्छे के!
म उसलाई जिन्दगी सुम्पन तयार भएँ एक भेटमा, ऊ भने यत्रो समय बितिसक्दा पनि पटक्कै वास्ता नै गर्दैन मेरो माया।
उसले जे भने पनि मलाई कहिल्यै केही मान्न गाह्रो भएन तर मैले भनेको कुरा ऊ सजिलै केही मान्दैन।
उसले मलाई विष नै ल्याएर देओस्, म हाँसी हाँसी पिउन तयार छु तर ऊ मसँग बसेर एक कप चिया पिउन पनि जहिले बहाना गर्छ। उसलाई नदेखेको दिन पूर्णिमा नै भए पनि औंशीझैं लाग्छ अनि उसँग बोलेको दिन औंशी नै भए पनि पूर्णिमाझैं उज्यालो र शितल लाग्छ।
सायद यही माया हो। हरेक दिन म बिहानीको शितको थोपा पातमा टल्किएझैं उसको यादमा टल्किन्छु।
हरेक साँझ म उसलाई पनि मैले नै खाना बनाएको मीठो अनुभवमा आफैंभित्र हराउँछु। उसको हातले दिएको जे सुकै होस् त्योभन्दा मीठो व्यंजन यो धर्तीमा के नै होला र है ?