हो, मेरो परिचय आजको दिनसम्म आइपुग्दा एक मजदुरको रूपमा सीमित छ।
यतिमात्र होइन मेरो बुवा-आमाको परिचय पनि मजदुरकै थियो या मजदुरकै रूपमा सीमित रह्यो। यसरी हेर्दा मेरो दुइटा परिचय हुन गए। एक मजदुर र अर्को मजदुरको छोरा।
म जन्मेर जान्ने हुँदाखेरि नै मेरा बुवा-आमा पहिलेदेखि नै काम गर्दै आउनु भएको एक प्राइभेट कम्पनीमा काम गर्न जानुहुन्थ्यो र उहाँहरूले त्यस कम्पनीबाट कमाएर लिएको पैसाले हाम्रो छाक टर्दै आएको थियो।
उहाँहरूले बडो मेहनत गरेको बिहानदेखि साँझसम्म काम गरेर कमाएको पैसाले बिहान साँझको छाक टार्नु सिवाय अरू केही गर्न सकिँदैनथ्यो !
पछि गएर म जन्मिसकेपछि मलाई लाग्छ बुवा-आमाले साँझ बिहानको छाक कटाएरै मलाई हुर्काउनु भयो। जेनतेन ५ कक्षासम्म पढाउनु पनि भयो। त्यसभन्दा माथि पढाउन सक्ने उहाँहरूको अवस्था थिएन। म पछि मेरी अर्की बहिनी जन्मिसकेकी थिइन्, उनलाई पढाउने, हुर्काउने जिम्मेवारी पनि बुवा-आमाकै थियो।
एकदिन काम नगर्दा बिहान साँझको छाक रोकिन्थ्यो त्यसमा हामी दुई बेना माथिको जिम्मेवारी पनि।
जति काम गरेता पनि साहुले तलब बढाउनुकाे साटो अझै काम भएन भन्दै झन् घटाएर दिन्थ्यो रे। केही बोल्यो भने कामबाटै निकाल्दिने हो कि भन्ने डर त्यतिकै थियो। यस्तै बाध्यात्मक परिस्थितिले गर्दा मैले पनि पढाइ छाडेर त्यही साहुको कम्पनीमा बुवा-आमासँगै काम गर्न जान थालें। त्यहाँ मैले साहुले भनेको सबै काम गर्नु पर्थ्यो। सानो भएकोले साहुले मलाई आफ्नो अफिस सरसफाइ गर्ने लगायतका हल्का काम बढी लगाउथ्याे।
अफिस जति सफा नै राख्दा हाेस् या उसले भनेका सबै काम गर्दा दिनमा २/४ पटक गाली नखाएको दिन नै हुँदैनथ्यो।
साहुले किन गाली गरिराखेको छ कारण मलाई थाहा थिएन। एकदिन किन गाली गरेको भनेर प्रश्न गर्दा पिटिनु परेको दिन म आज पनि सम्झन्छु।
त्यसपछि म चुपचाप काम गरिरहें। उक्त पिटाइ खाएको घटना घरमा आएर बुवा-आमालाई सुनाउँदा उहाँहरूले मुटुमा गाँठो पार्नुभयो र केही भन्न सक्नु भएन।
सायद उहाँहरूले पनि यस्तै भोगाइ भोगेर होला त्यो मलाई थाहा भएन।
त्यसपछि मेरो मनमा विभिन्न प्रश्न उठ्न थाले। आजकाे दिनसम्म मेरो बुवा-आमाले कति दु:ख भोग्नुपर्यो होला। यति दिनसम्म पनि बुवा-आमाले लेवरको रूपमा कम्पनी भित्र निकै अप्ठ्यारा काम गर्नुपर्थ्यो।
बरू पछि गएर थाहा पाएँ, त्यही कम्पनीमा काम गर्ने अलि उपल्ला दर्जाका कर्मचारी (कामदार)ले पनि हाम्रा बुवा-आमा जस्ता धेरै कामदारलाई हेप्दाा पाे रहेछन्।
मलाई लाग्यो हामी मजदुरहरू कति दिन यसरी दबिएर बस्ने हामी मजदुरहरूले मुक्तिको सास कहिले फेर्ने होला जस्ता प्रश्न मनमा उब्जिन थाले र मैले काम गर्ने क्रममा एउटा कम्पनीको मालिक र मजदुरको बीचको खाडल त्यही मालिककोमा काम गर्ने अर्को ठूलो कर्मचारी हाकिम (कामदार) बीचको खाडल उनीहरू दुबैले मजदुरलाई गर्ने अमानवीय व्यवहार देख्दा मलाई असह्य लाग्यो। तर के गर्ने मान्छेलाई बाध्यताले गाँज्दो रहेछ।
यतिमात्र कहाँ हाे र! यहाँ त मजदुरको नाममा संगठन खोलेर राजनीति गर्दा रहेछन्। मजदुरका मुद्दा उठाएर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने र पदमा बसेर मालिकसँग मिलेर कमिसन खाने र मजदुरलाई त्यही मालिककै निर्देशनमा मालिकले भन्दा पनि अमानवीय व्यवहार गर्ने मजदुर नेता भनाउँदाहरू पनि रहेछन्।
आजसम्म पनि यसरी नै चल्दै आएको छ नेपाली राजनीतिक इतिहासमा हरेक राजनीतिक घटनाक्रम परिवर्तनका पछाडि मजदुरहरूको उतिकै ठूलो हात देखिन्छ तर पछि गएर मजदुरकै मुद्दा उठाएर नेता बनेकाहरूले नै तिनै मजदुरलाई चिन्न समेत चिन्दैनन्!
खाली स्वार्थ पूरा गर्ने र मजदुरलाई लात हान्ने प्रवृत्ति आज पनि देखिन्छ र त आज पनि मजदुरका समस्या ज्यूँका त्यूँ छन्।
मजदुरलाई हेर्ने प्रवृत्ति आज पनि बदलिएको छैन र पनि मे १ लाई दिवसको रूपमा नेपालमा पनि भव्यताका साथ मनाइन्छ तर जबसम्म राष्ट्रनिर्माता, राष्ट्र सेवक मजदुरहरूको मुक्ति हुन सक्दैन तबसम्म हामीजस्ता मजदुरहरूका निम्ति मजदुर दिवस मे १ ले खास कुनै अर्थ राख्दैन।
त्यसैले एक सच्चा देशभक्त म मजदुर हामीजस्ता सबै पक्षबाट दु:ख, पीडा खेपिरहेका मजदुरहरूले मुक्तिको सास फेर्ने, न्याय, सम्मान पाउने वातावरण नबन्दासम्म यो दिवस दिवसको रूपमा मनाउनै सक्दैनाैं।
मे १ लाई अझै तिनै साहुजन र तिनलाई (दलाल पुँजीवादलाई ) संरक्षण गर्ने पार्टीहरूले बढाे धुमधामका साथ मनाएको देख्दा झनै टाढैबाट मे १ बहिस्कार गर्दछौं।
जय मजदुर !!! जय देश !!!