अन्तरमस्तिष्कले
उनको याद
मेटाउन
इरेजर पठाएछ
कस्तो अद्भुत-
इरेजरले त न्यानोपन
वर्षाउन पो थालेछ!
मान्नै पर्छ अन्तरमस्तिष्कलाई-
इरेजरले त न्यानोपन मात्र वर्षाएन,
उनको यादसँग दुश्मनी नै गाँस्न भ्याएछ
अब म त सामान्य वस्तु
कहाँ सक्थेँ र
दुश्मन-दुश्मनलाई सँगै राखेर
मुटुको एउटै च्याम्बरमा भोजन गराएर
आफ्नै मुटुलाई युद्ध मैदान
घोषणा गर्न
त्यसैले
यतिन्जेल स-सम्मान
मेरो मुटुको च्याम्बरमा हक जमाएकोमा
आजै मैले दिएँ
१३% कर सहित
उनको यादलाई
धन्यवाद!
र
गरिदिएँ
उनको यादसँग डिभोर्स
पिँजडामा कैद
भएको म
आज पहिलो पटक
रमणीय यात्रामा निस्केको छु
बस् इरेजरको कारण!
हो
उहीँ इरेजर
अर्थात्
मेरी आमाको कारण।