आमाको माङ्गेना ढलेर होकि
ओइलाइजाने फूलजस्तो
मुर्झाउनु भएको छ आमा
हे फेदाङ्मानहरू हो
हे साम्बाहरू हो
भुइँ लिपेर चोख्याएको छु
केराको पातमाथि एक जोडी कलश राखेको छु
एक माना चामल र अक्षता ठिक गरेको छु
डबकामा राखेको वदुम पक्वाले मन्छाउँदै
खोलाको तीरैतीर डुलिहिँड्ने
भिरैभिर डुलिहिँड्ने
आमाको हंस ल्याएर
आमाको शीरमा राखिदेऊ।
आमाको माङ्गेना ढलेर होकि
अस्ताइजाने घामजस्तो
पहेँलिनु भएको छ आमा
हे फेदाङ्माहरू हो
हे साम्बाहरू हो
आमाको पछ्यौरीको मैनाम ठिक पारेको छु
मुन्धुमले बाँधेर
उभो हिमालतिर डुलिहिँड्ने
उधो मधेशतिर डुलिहिँड्ने
आमाको हंस ल्याएर
आमाको मैनाममा राखिदेऊ।
हे तागेरा निङ्वाफूमाङ
तुत्तु तुम्याहाङ्हरू साक्षी राखेर
फक्ताङ्लुङ्को हिउँजस्तो कञ्चन मनले
मुन्धुम फलाक्दै छु
हाम्री आमाको माङ्गेना ढल्न नदिनू
हाम्रा सन्तानको माङ्गेना ढल्न नदिनू
बोरोम बोरोम
म हंस समात्छु
हे फेदाङ्माहरू हो
हे साम्बाहरू हो
जीवनका अनुष्ठानहरू पूरा गरिहाल
शीर उठाउनु छ आमाको
शीर उठाउनु छ सबैको
माङ्गेना गर्नु छ सबैको।
(माङ्गेनाको अर्थ लिम्बु जातिमा दु:ख बिमार हटाउन, ग्रहदशा कटाउन तथा शिर उठाउनका लागि व्यक्ति विशेषको नाममा वर्षमा एक पटक फेदाङ्मा वा साम्बाद्वारा गरिने पुजा तथा अनुष्ठान।)