झिलिमिली बलेको बत्ती मुनिको अँध्यारो कसले पो देख्छ र?
गगनचुम्बी भवनहरुमा निसास्सिएका सपनाहरु कसले पो बुझ्छ र?
दियोको प्रज्वलित ज्योति सरी जलेको मन
अनि
मुकभाषीहरुको सहर
जहाँ
पटकाहरुको बिस्फोटमा कान थुन्नेहरुले
बिस्फोटित यी मनका भावनाहरु
कसरी बुझ्छन र?
प्लाष्टिकका मखमलीको फूल सरी अप्राकृतिक सौन्दर्य
सयपत्रीको सुगन्धमा हराएको स्मृतिहरु
धागोमा उनेर घरको ढोका-झ्यालमा
झुन्डाइएका ती रंगिचंगी ध्वजाहरु
वर्षेनी खुइलिँदै गएका छन्
झिलमिल बत्तीको जेलिएको तार सरी
जेलिएको यो जीवन
जसको म्याद भाइटीकाको ओखरभन्दा कम छ
धुलोमा रंगिएको रंगोली
हावाले उडाउला कि
पैतालाले किच्ला कि
भन्ने पिर
एउटा तिहार यस्तो पनि।