टिभी कोठाको एक कुनामा पुरानो काठको आल्मारी छ। धुलाका कणहरु स्थायी रुपमा लेस्सिएर काठको सतह माथि आफ्नो छाप छोडेका छन्। आल्मारी भित्र बुवा-आमाजस्तै पाका भएका केही पुस्तकहरु एक-अर्कामा अडेस लागेर बसेका छन्।
आल्मारीको छेउमा कान्छी ढसमस्स बसेकी छे। एकदिन अघि माइत आएकी हो कान्छी। घरमा चहलपहल ताजै छ। कान्छी आएदेखि घरमा हाँसोको खित्का बेलाबेला छुट्ने गरेको छ। घरमा माकुराको जालोदेखि आमाको गुन्युको टालो, सबैले नयाँ जीवन पाएका छन्। मात्र, कान्छीबाट एउटा सन्तानले जीवन पाएन।
आल्मारी भित्रबाट केही थान पुराना किताबहरु निकालेर भुँइमा रेल्छे। बुवाले जतनले राखेका डिक्सनेरी, रामायण र महाभारत। केही किताबलाई धमिराले खाएर, पुराना घरका भग्नावशेषजस्तै देखिएका थिए। केही किताब गाता च्यातिएर नाम विहीन भएका थिए। जमानामा खुब रौससँग यी किताबहरु हेर्ने गर्थी कान्छी। उतिबेला दाइजोमा किताब मागेनन्, नत्र कति मायाले यी किताबका एक-एक पाना रुन्ग्दी हो कान्छीले।
आज अन्तिम पटक किताबका पानाहरु पल्टाएर एकपटक हेर्ने धोको भयो। किताबको पाना भित्रबाट मयुरको प्वाँख खोज्ने अन्तिम कोसिस गर्ने रहर जाग्यो।
वरपर किताब फिजाएर, धुमधुम्ती मयुरको प्वाँख खोजेको दृश्य उसको बुवा-आमाको लागि भने नौलो पक्कै होइन। सानो हुँदा कान्छीको फुर्सदको बसिबियालो नै मयुरको प्वाँख खोज्ने काम थियो। हरेक पटक आमाले दिक्क मान्दै भन्नुहुन्थ्यो, 'भेटिँदैन कान्छी। नाथे मयुरको प्वाँख खोजेर। कता परेर हराइसक्यो।'
ऊ त्यो उमेरलाई सम्झिन्छे। कक्षा ४ मा हुँदो हो। कुनै साथीले उसलाई सग्लो मयुरको प्वाँख दिएको थियो। त्योभन्दा पहिला त्यति सुन्दर वस्तु देखेकै थिइन जस्तो लागेको थियो उसलाई। रंगिन र जादुमय। बीचमा आँखा जस्तो आकृति। अद्भुत! अर्को कुनै साथीले भनेको स्मरणमा आयो, 'मयुरको प्वाँखलाई त किताबको बीचमा राख्यो भने यसले बच्चा पाउँछ। यसको एउटा-एउटा केस्रा पनि किताबको पानामा राख्यो भने केही दिनपछि त्यो दुई वटा हुन्छ।'
त्यही कुरा सुनेर सबै साथीले एक-एक वटा मयुरको प्वाँखका रौहरु आ-आफ्नो किताबभित्र राखेका थिए त्यस दिन। अझ, सिसाकलम तिखारेर त्यसको धुलो पनि त्यसमाथि राखिदिँदा झन् चाँडो बच्चा पाउने भन्ने गाइगुई पनि सुनियो।
त्यस दिन कान्छीले स्कुलदेखि घर फर्किँदा झोलालाई थप होसियारीको साथ बोकेकी थिई। दिदीले दिनुभएको पुरानो ज्यामिति बक्सभित्र थियो उसको मयुरको प्वाँख। घर आइपुग्ने बित्तिकै खाजा पनि नखाई साथीहरुले भनेझैँ एउटा मोटो किताबको बीचमा देउतीलाई थापना गरेझैँ मयुरको प्वाँखलाई नकुच्याई राखी। फूलपातीको ठाउँमा सिसाकलम तिखारेर त्यसको धुलो पनि चढाई। अनि, पुलकित अनुहार लिई। केही दिनपछि दुई वटा मयुरको प्वाँख पाउने सपना बोकी खाजा खान आमा भन्दै बोलाएको पनि झल्झली याद आयो।
अर्को वर्ष, कान्छी बोर्डिङ स्कुल जान थालेकी थिई। ज्यामिति बक्सलाई जियोमेट्री बक्स भन्न सिकेकी थिई। लामो समयपछि, एक्कासी उसलाई मयुरको प्वाँखको याद आयो। गएर किताबको पाना पल्टाउन थाली। मयुर दुइवटा त के, त्यही एउटा पनि भेटिन। न मयुरको प्वाँख भेटि, न सँगै राखेको सिसाकलमको धुलो। कुनै पानामा त्यो धुलोको कालो दाग पनि बाँकी रहेको भेटिन। उसलाई छटपटी भयो।
आफूले त्यति प्यारो मानेको वस्तु एकाएक हराउँदा रिस पनि उठ्यो, चित्त पनि दुख्यो। अझ मयुरको प्वाँखको बच्चा हेर्ने धोको पनि उसै बिलायो। हराउन त केवल मयुरको प्वाँख हराएको थियो, तर उसको लागि एउटा सपना बिलाएको थियो, किताब भित्रबाट। त्यो दिन उसलाई लागेको थियो कि किताबको ज्ञानले मात्र सपनालाई विपना बनाउँदा रहेनछन्। एउटा जादुमय वस्तु, जादु जसरी नै हराएर गयो।
ठूलो हुँदै गएपछि उसले मयुरको प्वाँख कुनै जादुमय वस्तु नभएको र यो त केवल मयुर चराको झरेको प्वाँख हो भन्ने पढी। कुनै किताबले उसलाई साथीहरुले भनेझैँ किताब भित्र राख्दा मयुरको प्वाँखले बच्चा पाउँछ भनेर पनि सिकाएन। तर, जिन्दगीले सिकायो। बच्चा पाउन नसक्दा जीवनसाथीले मयुरले आफ्नो प्वाँख त्यागे झैँ त्यागिदिन सक्ने रहेछन् भनेर।
झिनो आश थियो। कतै कुनै चमत्कारले मयुरको प्वाँख र एउटा बच्चा प्वाँख, मोटो किताबको अन्तिम पाना तिर भए पनि देख्ने। तर, यथार्थमा अनेक कोसिस र भाकलपछि पनि कुनै जादु देखा नपर्दो रहेछ।
कान्छीको पूर्वपतिले मख्ख पर्दा सुरु-सुरुमा 'तँ मयुरको प्वाँखजस्तै सुन्दर छेस्' भन्ने गर्दथ्यो। जतनको साथ जसरी ज्यामिति बक्समा उसले सानोमा मयुरको प्वाँख घर भित्राएकी थिई, त्यही जतनको साथ कान्छीलाई सजाएर डोलीमा राखी लगेका थिए वर्षौंअघि। कान्छीलाई त अझै पनि आफूले घर ल्याएको मयुरको प्वाँख मात्र भए पनि भेट्ने कति रहर छ, तर सायद उसको पूर्वपतिलाई बच्चा दिन नसक्ने कान्छीको कहिलै याद आएन।
कहिलेकाहीँ तिनै बच्चा बेलाका साथीहरु खोजेर सोध्ने हुटहुटी चल्छ कान्छीलाई, 'के तिम्रो मयुरको प्वाँखले बच्चा पायो? कि तिमीहरुले पनि बच्चा नपाएको मयुरको प्वाँखलाई त्यागीदियौ? कि आफै बिलाएछ त्यो प्वाँख?'
फेरि एकपटक मयुरको प्वाँख भेटिएन। केही बुझे झैँ लामो सुस्केरा लिई। सबै किताब समेटेर आल्मारीमा थन्काएपछि आल्मारीमाथि लेस्सिएका दागहरु पुछ्न थाल्छे कान्छी। जिन्दगीमा लगाइएका लेशहरु पुछेर नयाँ जीवन जिउने शक्ति आयो कि कान्छीमा पनि। मयुरको प्वाँखको अस्तित्व र सुन्दरता ऊ आफै हुनुमा छ, एउटाबाट दुइटा हुन्छ भन्ने कथामा होइन भन्ने बुझी कि कान्छीले।