ऊ हरेक दिन आठ बजेसम्म सुत्ने गरेकी छ। आमाले 'चिया सेलायो उठ्, घर माथिकी दुर्गाले उठेर के-के काम गरीसकी यसले घर कसरी गर्ली!' भन्ने किसिमका गाली मिश्रित सुझाव कानमा नपरुन्जेल ऊ उठ्ने गरेकी थिइन।
उसको शरीरले घर आएपछि बाहिरी झिसमिसे बिहानीको स्पर्श गर्न कहिल्यै पाएको थिएन। तपाईंलाई सुन्दा हाँसो लाग्ला तर पत्याउनुस् कति धेरै पटक त ऊ आमाले बोलाउँदा नसुने झैं गरेर झन् उल्टो कोल्टे फेरेर सुतेकी थिई।
तर आजको दिन धेरै भिन्न छ। ऊ आफै साह्रै गह्रुङ्गो मन बनाएर ६ नबज्दै उठेकी छ। रहरले उठेको हैन, कसरत योगा गर्नु पनि छैन। उसलाई छिटो तयार हुनुपरेको छ। किनकि पारि धरमपानीमा बसले हर्न बजाएको आवाज उसको कानमा विस्तरामा छँदै आएको हो। उसलाई अब हतार भएको छ। मन अमिलो भएको छ। अहिलेको चल्तिको भाषामा भन्नुपर्दा मुड अफ छ।
तपाईंलाई लाग्दै छ होला पंक्तिकारले यो कथा पक्कै कमाउन भनेर परदेशको निम्ति अग्रसर भएको युवा/युवतीको बारेमा लेख्दै छे। तर, हैन। यो केवल अध्ययनको लागि सहर पस्न लागेकी एक निम्न मध्यम वर्गीय किसानी युवतीको कथा हो। जसको सोच सगरमाथा जत्रो अग्लो छ तर धरातल जमिनमा गाडिएको छ।
उसको घर साह्रै विकट ठाउँमा त पर्दैन तर पनि उसको अध्ययन स्थायी रुपमा घरमा बसेर हुँदैन। पहिले-पहिले बाल्यकालमा पो घरभन्दा टाढा सहरमा बस्ने, ममीको गाली नपाएपछि स्वतन्त्र रुपमा रमाउने, कस्ता-कस्ता राम्रा र रमाइला सपना सजाएकी थिई उसले। कत्ति पटक त उसले खन्नु र बिडुलाको हाँगामा पछाडि आफूजस्तै साथीहरू राखेर काठमाडौँसम्म घुमाएकी पनि हो। तर आज वास्तविक सहर जाँदा पनि उसलाई हर्ष लागेको छैन।
विदेश हिँड्नेले पो घरबाट हिँड्दा रित्तो हात हिँड्छन्। फर्किँदा गुडाउने ब्यागभरि सामान र पैसा ल्याउछन्। तर ऊ र ऊजस्तै परिस्थितिमा बँच्नु पर्नेले त्यसको उल्टो गर्छन्। घरबाट हिँड्दा पैसा र सामान उठाएर हिँड्छन्। आज पनि उसको ममीले उसको लागि धनेर सिन्की, गुन्द्रुक, भुटेको मकै, एउटा हर्लिक्सको बोत्तलमा घिउ, आँपको अचार र अलिकति तरकारी राखिदिएर जेब्रा ब्याग भरिदिनुभएको छ।
सधैँ झैँ भन्नु हुन्छ, 'कान्छी! यो हर्लिक्सको बोत्तल दसैंमा आउँदा फिर्ता लिएर आइज है।' तर अफसोच! ऊ सधैँ बिर्सिन्छे।
वातावरण कुनै तवरबाट विदेश हिँड्न लागेको एउटा तन्नेरी युवाको भन्दा फरक छैन। विदेश हिँड्ने पनि त एक-दुई वर्षमा छुट्टी लिएर घर फर्किन्छन्। ऊ पनि प्रत्येक दसैंमा त हो नि फर्किने। विदेश जानेले बरु ट्याक्सी रिजर्भ गरेर अटेजीभरि कपडा, झोलाभरि काजु, किसमिस, बदाम र छोकडा, बैंकमा पैसा र उत्तिकै धेरै ठूला सपना लिएर घर फर्किन्छन्।
तर ऊजस्ता थुप्रै युवा-युवती त प्रत्येक दसैंमा बाबाले पठाइदिएको पैसा, आमाले पठाएको गुन्द्रुक र घिउ सकेर घर पुग्छन्। परदेशीएकाहरु मोटाएर फर्किन्छन्, कति गोरा, चिल्ला, सुकिला कपडा लगाएर फर्किन्छन्। ऊ जहिले त्यहीँ गालामा खोपिल्टो परेको अनुहार, दुई वर्ष अगाडि जबर्जस्ती ममीबाट किनाएको घुँडामा काटेको जिन्स र बाबाले दुई वर्ष अगाडि किनिदिएको सुट। विदेशीनेलाई स्वदेशमा रोजगार नभएर परदेशीनुको बाध्यता छ, तर उसलाई घर नजिकै क्याम्पस नभएर।
उनको बुबा दुबईमा हुनुहुन्छ। दिदीको बिहे भइसक्यो। उसलाई र उसको दाइलाई पढाउने उहाँको धोको छ। बाबाले के कसरी कमाउनु हुन्छ र पठाउनुन्छ, उसलाई थाहा छैन। तर यति थाहा छ, पैसा सजिलोमा छैन। घरमा जम्माजम्मी चार जना चार तिर बस्छन्। हुनसक्छ आज पनि बाबाले पठाएर बचाएको दश हजार पैसा ममीले उसलाई दिनुभयो। उसले केही नबोली गोजीमा राखी।
त्यत्तिकैमा हजुरआमा पनि उठिसक्नु भएछ। एक्लै भित्र बोलाउनु भयो। सुटुक्क चोलोको गोजीबाट पाँच सयको पड्किनी नोट निकाल्नुभयो। सायद भत्ताबाट बचाएको हुनसक्छ, उसलाई थमाउनु भयो। ममीले कति छिटो रोटी बनाइसक्नु भएछ। उनले खान्न भन्दै जिद्दी गरिरही। तर ममीको अगाडि उसको के चल्थ्यो र? दुईवटा सुक्खा रोटी दहीसँग नखाई निको चाल भएन। ऊ बल्ल जुत्ता लगाउँदै छे तर पारि बस कराइसक्यो।
'लौ न नि आइसक्यो!'
उसको दाइ अगाडि-अगाडि जेब्रा ब्याग बोकेर बाटो तिर कुद्यो। 'गाडी रोकाएस् है, बैनी आइसकी भनेस्' ममीले दाइलाई अह्राउनु भयो।
'जहिले छिटो गर् भन्छु, जहिले ढिलो गर्छे यसले' उसको ममी एक्लै चिढिनु भयो।
'हिँड्ने बेलामा त गाली नगर्नु न ममी' उसले तुरुन्तै जवाफ फर्काई। अनि आँसु नझार्ने कसरत गर्दै घरबाट लागी। ऊ हतारिँदै बाटो तिर कुदी। बस आयो। दाइले साथमा भएको पाँच सय रुपैयाँ उसलाई थमायो। 'हिजो चटपटे खाँदा पैसा ले भन्दा त दिन्नथिस् त,' ऊ मुस्कुराई। दाइले नसुनेझैँ गर्यो। जवाफ फर्काएन।
सहचालकले ब्याग माथि छतमा फाल्दिन के आटेथ्यो ऊ चिच्याई, 'फुट्नी सामान छ दाइ, विस्तारै।'
ऊ बस चढी। सिट खालि देखेर गमक्क परी। घर पोल तिरबाट चढ्ने आफ्नो मिल्ने साथी सरितालाई सिट राख्दिन होला, दुई वटा सिट नै ओगटी।
सिटमा अडेस लागेर ऊ सोच्दै छे 'पाँच रुपैयाँ सस्तो चिनी किन्न ३ किलोमिटर पैदल हिँडेर माथिको ठूलापोखरा बजार पुग्ने मेरी ममीले कसरी यो पैसा बचाएर राख्नुहुन्छ?' ऊ फेरि सोच्छे 'साँच्चै खैरो खसी बेचेको पैसा हो सायद।'
बसमा मान्छे चढ्दै छन्, ओर्लिदै छन्। ऊ भने खेतमा मेलापात गरेको, फूलको चुन्नी खेलेको, देउसीमा नाचेको, माले गोरु जुधाएको सम्झिँदै छे। वनका काफल सम्झिँदै छे। लौ आँपको अचारको बट्टा राख्नै बिर्सिछे।
पहाडी कच्ची बाटाका दुई घम्ती काट्न नपाउँदै पछाडि बसेका दाइ एक्कासी सहचालकसँग कराए 'यो बसमा गीत बज्दैन हो?'
सहचालक नबोली गीत बजाए विष्णु माझीको स्वरको 'अस्ति हाँस्न सिकायौ, हिजो रुन सिकायौ, धेरै धेरै धन्यवाद मायालु आज पागल हुन सिकायौ।' ऊ हुँदै नभएको प्रेमीको बिछोड भएको कल्पना गर्न भ्याइसकी।
यस्तै गीतमा रात यत्तिकैमा बित्यो। सहर आइसकेको खबर सरिताले उसको कानमा पारी। ऊ ओर्ली। ट्याक्सीवालाले 'बैनी कहाँ जाने?' भन्दै छन्। ऊ भने नसुने झैँ गरेर जेब्रा ब्याग काँधमा राखी माइक्रो चढी। ऊ झ्याल बाहिर हेरेर फेरि कल्पना गर्छे 'यो सहर आफैं बनेको छैन, यस्तो फोहोर छ, मलाई के बनाउला?'
तर इच्छाशक्ति बेजोड छ। ऊ सहरका साथीहरुले जस्तो फरर... अङ्ग्रेजी बोल्न त जान्दिन तर सिक्ने चाहना छ। उसको तीव्र इच्छाशक्ति र महत्वाकांक्षी मनको यो तप्काले भन्दै छ 'सहर पनि बन्छ, म पनि बन्छु, मेरो परिवार पनि बन्छ। हामी सबै बन्छौ, म बनाउँछु।'