घाँस काट्नु, खेतमा पानी लगाउनु, आफूले जोइन गरेका अनलाइन क्लासहरुमा उपस्थित हुनु, कोभिडले थुनिएर घर बस्दाका यी नै बर्खाका दैनिकीहरुलाई पन्छाएर कोभिडको मन्दीसँगै विस्तारै खुल्दै गरेको काठमाडौंलाई गन्तव्य बनाएर पर्वतबाट पूर्व तिर हानिएको म।
खास वा कुनै काम विशेषले हैन, म यत्तिकै बिना काम कारण फुरुक-फुरुक पर्दै काठमाडौं गएको हुँ। साढे नौ बजे सदमुकाम कुस्माबाट उठाएको हाइसले साँझ पाँच बजे तिर कलंकी पुर्यायो। यतिन्जेलसम्म मैले काठमाडौंमा रहनु हुने कोही आफन्न, साथीभाइ कसैलाई पनि आउँदै छु भनेर जानकारी कल गरेको थिइनँ।
कलंकी नजिकै क्यानभास नेपाल प्रालि तथा युट्युब च्यानलका निर्देशक आदित्य भाइलाई कल गरेँ तर कल उठेन। सायद नेपाली पर्यटन प्रवर्द्धनका लागि उहाँ लाइभ पेन्टिङका क्रममा कुनै क्यानभासमा व्यस्त हुनुहुन्छ। मैले अर्को नम्बर खोजेँ, शैलेस, उहाँ मेरो ब्याच्लर पढ्दाको साथी हो। बानेश्वर आसपास बस्नुहुन्छ। कल गरेँ। उहाँको फोन उठ्यो।
उहाँले मलाई गुरु भनेर सम्बोधन गर्नु हुन्छ। कहाँ के सन्चो बिसन्चो सोधेपछि उहाँले भन्नु भयो, 'ल गुरु, तपाईंलाई काठमाडौंमा स्वागत छ। म अफिसमै छु। हजुर रिङरोडको गाडी चढेर कोटेश्वर आउनुस्। अनि बानेश्वर जाने सडक तिर पैदल आउनुस् शान्तिनगर चोकसम्म।'
हुन्छमा हुन्छ मिलाउँदै मैले त्यसै गर्ने निर्णय गरेँ।
सातदोबाटो, कोटेश्वर, भक्तपुर, ठिमी गाडीको स्टाफ कराउँदै आए। रिङरोडकै किन चाहियो, कोटेश्वरसम्म जाने भएपछि म त्यसैमा चढेँ। कोटेश्वर चोकभन्दा अलि वरको आकाशे पुल निर पुगेपछि गाडीको स्टाफले कोटेश्वर झर्ने सम्पूर्ण यात्रुलाई झर्न अनुरोध गरे। म पनि त्यहीँ झरेँ।
म काठमाडौं पहिलो पटक गएको हैन तर पनि सडक पेटीमा उभिएर बानेश्वरका लागि गुगल म्याप सर्च गरेँ। पूर्व जाने रात्रिकालीन गाडीहरुका कारण कोटेश्वर चोक साँझमा निकै व्यस्त हुन्छ। व्यस्त सडकलाई छिचोल्दै म अगाडि बढेँ। मलाई ढिलो पाइला चाल्न आउँदैन, फटाफट पाइला चाल्न व्यस्त सडकले दिँदैन। गुगल म्याप हेर्दै तीनकुनेबाट पश्चिम तिर तेर्सिएँ।
त्यसै बखत म हिँडेकै सडक पेटीमा झण्डै छ सात मिटर अगाडि मभन्दा छिटो-छिटो चलेका स्त्रि पाइलाहरु मेरो आँखामा ठोक्किए। ओहो! कति छिटो हिँड्न सकेका हुन् ती पाइला, मनमा एकखाले कोतुहलता नाच्यो। पाइलासँगै पछाडिबाट उसलाई नियालेँ। झण्डै पाँच फिट बढी उचाइ, न त मोटी न त पातली, ठिक्क शरीरमा काला थाइल्यान्ड मेड किट्टो चप्पल, चपक्क समातेको निलो जिन्स पाइन्ट, सेतो टि-सर्ट, एडिड्यासको कालो भिर्ने झोला, शीरमा कालो लवडले बाँधेको कालो छोटो कपाल हिँडाइको झट्कासँगै नाच्दा कति राम्रो दखिएको।
यो दृष्य देखेर मेरो मनले मलाई अन्त हेर्नै दिएन। कसैले देख्न नसक्ने, छेक्न नसक्ने यो मन उसको पछाडि-पछाडि नियालेर केही कामुक चित्र कोर्न भ्यायो। छि! यो मन किन यति घृणित हुन्छ घरीघरी? अचम्म लाग्छ मलाई!
मभन्दा फटाफट चलेका ती पाइला भेट्टाउन मन लाग्यो। मलाई हत्तपत्त मभन्दा सानो-ठूलो कुसैलाई पनि तँ भनेर सम्बोधन गर्न आउँदैन। हजुर तपाईं नै भन्न मन लाग्छ। नजिक पुगेर उसको आधा अनुहार यी आँखामा टिपेर मैले भनेँ, 'कति छिट्टो हिँड्नु भएको! म त भेट्टाउनै सकिनँ, पछाडिको जेब्राक्रसबाट फलो गरिरहेको थिएँ। बल्ल भेट्टाएँ।'
मेरो अनुहारको देव्रे भागमा एक नजर लिएर उसले च्याठ्ठिएको स्वरमा भनि 'सुस्त हिँड्ने मेरो बानी नै छैन। अनि हजुरले मलाई भेट्टाउनु पर्ने केही जरुरी थियो र?'
यस्तो खरो स्त्री आवाज मैले पहिलो पट्क सुनेँ। कति जाद्रो बोलेकी, दूरीले नजिकिएको एक अपरिचित पुरुषलाई पर धकेल्न उसका यी शब्द र हाउभाउ पूर्ण थियो तर पनि मैले नम्र स्वरमै जवाफ दिएँ, 'हो, हजुरलाई भेट्न एकदम जरुरी थियो। अथवा भनौँ पर्वतबाट म हजुरलाई नै भेट्न आएको हुँ।'
केही खच्किदो स्वरमा उसले भनि, 'ओहो! मान्नुपर्छ हजुरको कृयटिभिटी। पर्वतबाट कोसेली पनि ल्याइदिनु भएको होला नि?'
जिस्किएका आँखाले मलाई हेरेर उसले म तिर प्रश्न तेर्स्याइ।
'उम् ल्याइदिएको छु,' मैले भनेँ।
हाम्रा पाइला रोक्किएका थिएनन्।
'तर म हजुरलाई चिन्दिनँ नि,' उसले भनि।
'अब चिनजान गरौँ न त,' मैले भनेँ।
'नाई, नचिन्ने' उसले भनि।
अघिबाटै कुनै ठाउँ नदिएर मलाई पर पुर्याएकी उसले अहिले त डाँडै कटादिई।
'इट्स ओके,' मैले भनेँ।
यो मन पनि अचम्मको छ। उसको रुपरंग देखेका यी आँखाले उसलाई जहाँसम्म पुग्छे त्यहीसम्म फलो गर्नु भनेर मलाई हौसाउछन्। यो माया हो या उत्तेजना? यो मायाको न टुप्पो हुन्छ न छेउ। जो देख्यो, जो नजिक हुन्छ उसैको माया लाग्छ। तर खासमा मलाई म भित्रको सचेत मनले माया त श्रीमान् गुमाएकी गर्भवती महिलाको लाग्छ र लाग्नु पर्छ भनेर अर्थाउँछ। फेरि जिन्दगीले भन्छ बढी जिम्मेवार भने उसैका लागि हुनुपर्छ जसले हरेक मोडमा यो काँधमा हात राखेर मलाई आफ्नो पति हो भन्ने कुरा सम्झिरहन्छे।
मलाई मायाले या उत्तेजनाले ऊसँगै पाइला चाल्न प्रोत्साहन गरिरह्यो। एकछिन म चुप भएँ। थप केही बोलिनँ। उसले पनि केही बोलिन तर सँगै हिँड्न भने छाडेका थिएनौँ।
परिचयलाई रोकेर उसले फिमेल इगो देखाइहाली, मलाई यो मन परेको थिएन।
साथीले बागमती पुल तरेपछि शान्तिनगर आउँछ भनेको थियो। म मोबाइलमा गुगल म्यापमा घोप्टिएँ। केही मिटर पर पुगेपछि नजिकबाट गुडेको गाडीले हामी तिर धुलो हुत्यायो। त्यसै बखत उसले भनि, 'काठमाडौं कहिले सफा हुन्छ होला है! दिक्क लाग्छ मलाई।'
म बढी केही बोलिनँ।
'पहिलेभन्दा त धेरै सुधार भएको छ,' मैले भनेँ।
यथार्थताको वर्णन भनौँ या उदाङ्गो नाउँ, भन्नेहरुले काठमाडौंलाई हिउँदमा धुलोमाण्डु, बर्खामा हिलोमाण्डु, र सदावहार भिडमाण्डु भन्छन्। तर म मस्तिष्कमा लालिगुराँस बोकेर हिँडेको यात्री हुँ। अथवा भनौँ उपत्यकाको दुई दिनको पाउना हुँ। मलाई काठमाडौंमा धुलोसँग होली खेल्न मन छ। हिलोसँग असार पन्ध्र मनाउन मन छ। भिडसँग जात्रा र उत्सव हेर्न मन छ। अथवा भनौँ मलाई राजधानी रैला छ।
बागमती पुल तरेपछि साथीले भनेको शान्तिनगर लेखेको बोर्ड दिखियो। त्यहाँ पुगेर मेरा पाइला रोक्किनु पर्ने हो तर उसका पाइला बल्ल रोकिए। म तिर फर्केकी उसलाई बल्ल नियाल्न पाएँ। पडाहको उकाली-ओराली र चिसो पानीले छाटेको हैन उसको शरीर र पनि अँगालोमा बेरुँ बेरुँ लाग्ने सलक्क मिलेको। कालो टीका निधारमा, कालो गाजल आँखामा।
'मास्क खोल्नुस् न एक पटक' भन्न मन थियो। अपरिचितमै छुट्न हतार उसको व्यवहारले मलाई उसलाई थप चिड्याउन मन लागेन।
पर कोटेश्वर चोकबाट कुरा गर्दै आएको अनि अहिले उसको अगाडि उभिएको एउटा जवान पुरुषलाई उसले राम्ररी नियाली सायद। र केही नम्र स्वरमा उसले सोधी, 'हजुर यहाँबाट कता जाने हो?'
मैले भनेँ, 'म साथीकोमा आएको हुँ। साथीको रुम कता हो थाहा छैन। उसले यही चोकमा बस्नू लिन आउँछु भनेको छ। ऊ नआउन्जेल म यहीँ बस्छु। अनि हजुर?'
देव्रे पट्टिको सडकलाई इसारा गर्दै उसले भनि, 'म यता जाने हो। साथीलाई कल गरेर सोध्नुस् न यता जाने भए सँगै जाउँला।'
त्यो ठाउँलाई आलोकनगर भन्ने रैछ। मैले सोचेँ, यतिसम्म समझ्दारी अपनाएर बोल्न जानेकी मान्छे अघि किन च्याठ्ठिएकी होलि!
मैले भनेँ, 'नाई उहाँ बाइकमा हुनुहुन्छ होला। यहाँ आएर उहाँ आफैले कल गर्नुहुन्छ।'
'उसो भए म जान्छु नि' उसले भनि।
'नाई, एकछिन बस्नुस् न म एक्लै हुन्छु।'
'ओहो! पर्वतदेखि एक्लै आएको केटोलाई चोकमा केहीबेर प्रतिक्षा गर्न एक्लै हुन्छु भन्ने पिर छ? म हतारमा त छैन तर हजुरसँग गफ्फिने समय पनि छैन' उसले भनि।
मनमनै सोचेँ, कति ठाडो भाषा बोलेकी! कति हेपेकी।! मनमा लाग्यो यो केटीको जिब्रोमा पुरुष विरोधी सेलहरुले अड्डा जमाएका छन् सायद। कतिसम्म मानहानि गरेकी, केटो रे!
यस बारे मलाई कुनै प्रतिकारको भाषा बोल्न मन लागेन।
'चोकबाट यहाँसम्म साथ दिएको साथीले अझै केहीबेर साथ नछोडोस् भन्ने मात्रै मेरो चाहना हो।'
मेरो ध्यान पूरै तानिने गरी तिखा र गाजलु आँखाले मलाई हेरेर उसले भनि, 'अनि साथीलाई कल गर्नुस् न त, कति बेर लाग्छ यहाँ आउन?'
उसका आँखामा हेरिरहन मन लाग्यो। मेरो यो अस्वाभाविक व्यवहार उसलाई मन परेन। केहीपछि खिच्चिएर उसले भनि, 'तैट! म जान्छु।'
'दश मिनेट बस्नुस् अनि साथी नआए पनि जानुहोला।'
'नाई, फाइभ मिनेट बस्दिन्छु। त्यो पनि मलाई प्रभाव पार्न कुनै कृयटिभिटी देखाउनु भएन भने,' उसले भनि।
म यसै हाँसीमजाक बोल्दिन्छु। मनमा पाप छैन। कस्तो सर्त राखेकी! तै पनि 'ओके' भनेँ र थपेँ, 'हजुरको घर कता नि?'
'थानकोट।'
'अनि यता कता आउनु भएको?'
अघि देखाएकै बाटो तिर इसारा गर्दै उसले भनि, 'फुपू दिदीकोमा। यहाँ उहाँहरु दुई जना मात्रै हुनुहुन्छ। (सायद फुपू र फुपाजु हुनुपर्छ भनेर बुझेँ।) दिदीहरु युरोप। (फुपू-फुपाजुको छोरीहरु भन्न खोजेकि होली।) फुपूले बोलाएर आएकी,' उसले भनि।
'ए ए, अनि कुन लेभल पढ्नु हुन्छ?'
'एमएससी इन्भाइरोमेन्टल साइन्स, फर्स्ट सेमेस्टर।'
'ओहो! पढ्नदास। फिलिङ ह्याप्पी विथ यू' भन्न मन थियो तर भनिनँ।
थप प्रश्न गरेँ, 'अब त नाम भन्न मिल्छ होला नि?'
'नाई मिल्दैन,' उसले भनि।
केही नजिक ल्याएर उसले मलाई फेरि पर धकेली।
'त्यसोभए मास्क खोल्नुस् न एक पटक,' मैले भनेँ।
मबाट बागमती पुल तिर नजर घुमाएर परेली जोडेर इन्कारको भावले उसले भनि 'नाई'।
'उसो भए नम्बर दिएर जानुस्, म हजुरलाई नै कल गरेर साथी आउन्जेलको टाइम किल गर्छु।'
हाँस्दै भनि, 'नम्बर माग्ने घुमाउरो तरिका हो यो। सक्दिनँ मैले हजुरसँग। यो फाइभ मिनेट पनि धेरै हुन्छ मलाई। हजुरको नाम नम्बर दिनुस्, म नै कल गर्छु बरु।'
यो के मजाक हो। उसको नम्बर नदिने रे तर मेरो नम्बर लगेर कल गर्ने रे। कुरा उस्तै हो मेरा लागि तर उसका लागि हैन। कस्ती केटी? किन यति धेरै जान्नी हुनु परेको होला मेरो अगाडि। मैले भाउ खाएको बहाना गरेर भनेँ 'फाइभ हन्ड्रेड रिचार्ज गर्दिनु हुन्छ भने नम्बर दिन्छु।'
'ठिक छ। हजुरकोमा ब्यालेन्स छैन भने अथवा थोरै छ भने गर्दिन्छु।'
मलाई रिचार्ज चाहिएर यसो भनेको हैन, उसको मन विचार गर्न यसो भनेको हुँ। पत्यार लागेन, एकछिन कुरा गरेको एक अपरिचित केटालाई फाइभ हन्ड्रेडको रिचार्ज! आफ्नो नाम भन्नसम्म पनि विश्वास गरेकी छैन मलाई। म कसरी पत्ताउँ?
ऊतिर सहमति खोजेर मैले भने 'प्रमिस!'
'प्रमिस गर्दिन्छु।'
मैले नम्बर दिएँ।
'हजुरकोमा ब्यालेन्स आउँछ चेक गर्नुस् है, म जान्छु,' उसले फेरि हतार देखाएर भनि।
'नाम नभनि जाने?' मैले फेरि सोधेँ।
उसले भनि 'सरी।'
'उसो भए रिचार्ज पनि पर्दैन, मेरो नम्बर डिलिट गर्नुस्' मैले भनेँ।
'ब्यालेन्स नभए गर्दिन्छु, जबरजस्ती गरिछैन,' उसले भनि।
मैले यो कुरालाई यत्तिकै छाडेर फेसबुक, ट्विटर एकाउन्ट नेम त भन्न मिल्छ होला नि भनेर सोधेँ।
'सरी' उसले भनि।
'उसो भए एक पटक मास्क त खोल्नुस न त।'
'दाहिने हातमा मोबाइल समातेकी उसले देव्रे हातले दाहिने कान तिरबाट मास्क खोली र मेरो आँखामा हेरेर सोधी भयो?'
उसलाई हेरिरहेँ, भयो भनिनँ। उसले मास्क लगाई, 'ल म गएँ।'
अघि इसारा गरेको बाटो ऊ आफ्नो गन्तव्य तिर लागि।
ओठहरुमा मह अनि दाहिने गालामा केक र देव्रे गालामा आइसक्रिम बोकेर ऊ बागमती किनारको सडकबाट मेरो मनको साँझको बत्ती लिएर मलाई अँध्यारै पारेर गई। मोबाइलमा घोप्टिँदै हिँडेकी उसलाई पछाडिबाट पर पुग्ने बेलासम्म हेरिरहेको थिएँ।
यत्तिकैमा 'आदित्य, क्यानभास नेपाल' लेखेको नम्बरबाट मेरो मोबाइलमा कल आयो। कल रिसिभ गरेँ।
आदित्य: दादा नमस्कार, सन्चै हुनुहुन्छ?
म: नमस्कार! हजुर बाबु म ठिक छु।
आदित्य: बिजी थिएँ कल गर्नु भ,को रैछ। कता हुनुहुन्छ?
म: हजुर कल गरेको थिएँ उठाउँनु भएन। म यतै वरिपरि नै छु।
आदित्य: ए काठमाडौं आउनु भएको? अनि कता हुनुहुन्छ म लिन आउछु नि।
म: हो, काठमाडौं आएको छु। म साथीकोमा छु। भोलि बिहान भेटौँला नि।
आदित्य: हुन्छ, कल गर्नुस् है।
म: ल ल।
कल राखेँ। त्यति बेलासम्म ऊ ओझेल परिसकेकी थिई।
मोबाईलमा मेसेज आयो। ई-सेवाबाट फाइभ हन्ड्रेड टपअप गर्दिछे। सर्भिस नम्बरमा कल गरिहालेँ।
केटा मान्छेको आवाज सुनियो, हतार-हतार फोन काटेँ। मेसेज फेरि हेरेँ ई-सेवाबाट फाइभ हन्ड्रेड रुपैयाँ आएको सर्भिस नम्बर त्यही हो भनि स्योर भँए। फेरि त्यही नम्बरमा कल गरेँ।
त्यही केटा मान्छेको आवाज आयो।
मैले सोधेँ, 'सर, यो कहाँ पर्यो होला?'
'यो कुसुम स्टेशनरी शान्तिनगर, काठमाडौं।'
केही नभनि कल राखेँ।
उसले पसलबाट रिचार्ज गर्दिछ। केही मिनेट अगाडि मबाट छुटेकी उसको नाम, नम्बर, ठेगाना मसँग केही छैन। उसको पाँच सय रुपैयाँमात्रै छ। सोचेको थिएँ उसले आफ्नै ई-सेवाबाट टपअप गरी तर त्यसो भएन। कस्तो उदारता हो यो? मैले ख्याल ख्याल भनेको थिएँ उसले साँच्चीकै रिचार्ज गर्दिन के जरुरी थियो र? फेरि फेसबुक, ट्विटर एकाउन्ट पनि भनिन, कस्ती केटी! पाँच सयले परिचय बनाएर गई। मनमा कुरा खेलिरहे, मेरो नम्बर ऊसँग छ, कुनै न कुनै दिन त अवश्य कल गर्ली।
यत्तिकैमा शैलेसको कल आयो। उठाएँ, 'गुरु कता हो तपाईं?'
'म यता कोटेश्वर तिरबाट आउँदाको देब्रे साइडकै पान पसल निर।'
'ए देखेँ' उहाँले कल राख्नु भो तर मैले उहाँलाई देखिनँ।
शैलेसजी मेरो अगाडि आएर बाइक रोकेर, 'गुरु आउनुस्' भन्नु भो।
हामी हात मिलायौँ।
'ठिक हुनुहुन्छ नि, कुर्न पर्यो है?' उहाँले भन्नु भो।
'इट्स ओके,' मैले भनेँ।
'मेरो बालाजु जाने काम छ। हजुरलाई रुममा लगेर छाड्छु र म बालाजु पुगेर आउँछु। एक जनालाई भेट्नु छ। भेट्ने मात्रै हो। धेरै बेर त लाग्दैन। कि हजुर पनि मसँगै जानु हुन्छ?' उहाँले भन्नु भयो।
झमक्क साँझ परिसकेको थियो | नयाँ ठाउँमा रुममा एक्लै के बस्नु। मैले भनेँ, 'म पनि हजुरसँगै जान्छु।'
बानेश्वर, माइतिघर, भद्रकाली, सुनधारा, लैनचौरको जाम छिचोरेर हामी बालाजु पुग्यौँ र फर्किइँ। सानो-सानो गल्लीबाट छिरेर हामी एउटा तीन तले घर पुग्यौँ। बाइकको लाइटले टल्काइदियो गेटको भित्तामा कालो मार्बलमा सुनौला अक्षरले लेखिएको 'ढुंगाना निवास' जुन घरको भुइँ तलामा साथी शैलेसको रुम थियो।
बाइक राखेपछि म उहाँको पछि लागेँ। उहाँले मलाई घरसँग परिचय गराउँदै भन्नु भयो, 'मेरो रुम यही हो। अरुहरु पनि भाडामा बस्नु हुन्छ। भुइँ तला पूरै भाडामा छ। घरबेटी बा-आमा माथि बस्नु हुन्छ।'
रुमको ताला खोल्दै उहाँले भन्नु भो 'गुरु, बाथरुम त्यता हो। नुहाउन भने बाहिरको ड्रमबाट पानी लग्नु पर्छ।'
जुत्ता ढोका अगाडिको र्याकमा राखेर हामी रुम भित्र छिर्यौँ।
'नुहाउन त पर्छ होला शैलेसजी' मैले भनेँ।
'हुन्छ' भन्दै उहाँ बाहिर निस्किनु भो र केही बेरमा भित्र छिर्नु भो। 'ल गुरु, पानी ल्याइदिएको छु नुहाउनुस्, टावेल यो लैजानुस्, साबुन यता छ' उहाँले मलाई टावेल र साबुन थमाइदिनु भयो र भन्नु भयो, 'म खाना बनाउछु, हजुर नुहाउनुस्। अनि कुरा गरौँला।'
हुन्छ भन्दै म नुहाउन गएँ। नुहाएर आएँ। उहाँ भेट हुनुपूर्व साँझमा भेट्टिएकी अपरिच केटीसँग भए गरेका कुराहरु उहाँसँग केही सेयर गरिनँ। मलाई केटी मान्छेबारे हत्तपत्त कसैसँग कुरा गर्न मन लाग्दैन। घरको सन्चो विसन्चो, पढाइ, देश, विदेश आदि बारे कुरा गर्यौँ। आदित्य सहित मेसेन्जरमा कुराकानीका क्रममा सोधखोज गरेका साथीहरुलाई भोलि बिहान सात आठ बजे तिर भृकुटीमण्डपमा चिया भेट गरौँ न त भन्ने मेसेज छाडेर म टाढाको यात्रा गरी आएको, थाकेकोले हामी सुत्यौँ।
भोलिपल्ट बिहान उठेर फ्रेस भई चिया बाहिरै खानेगरी हामी रुमबाट बाहिरन लाग्यौँ। साथीले ढिला गर्नु हुन्छ कि भनेर म आँगनतिर निस्किसकेको थिएँ। म निस्केको केही बेरमा एउटी पैँतालिस/पचास वर्ष उमेरकी आन्टी सारी-ब्लाउजमा बाहिर निस्कनु भयो। घरबेटी हुनुपर्छ भन्ने अड्कल गरेँ। गेटबाट बाहिर निस्किनै लाग्दा हातको सानो पर्स खोतल्दै आन्टीले आफैसँग भन्नु भो 'मोबाइल त माथि नै छुटेछ।'
मोबाइल ल्याइदिने आग्रहका लागि आन्टी माथि फर्केर केही चर्को स्वरमा भन्नु भो, 'ए नानी! नानी!' माथिबाट कुनै आवाज आएन बरु मेरो साथी हातमा हेलमेट र चाबी लिएर निस्कियो। आन्टी फेरि बोलाउनु हुन्छ। का गई यो केटी, नैना!'
साथीले बाइक गेट बाहिर निकाल्यो, म पनि बाहिरिएँ। दोस्रो तलाको बरण्डामा 'हजुर' आवाज सहित हाफ कट्टु र टिसर्टमा एउटा अनुहार देखापर्यो जुन अनुहार हिजो मसँग शान्तिनगरबाट मलाई पाँच सयको परिचय दिएर छुटेको थियो।
शैलेस जीले गुरु बस्नुस् भन्नु भयो। म बाइकमा बसेँ। मसँग नजर जुधिरहेकी उसले सायद मलाई चिनी।
नाम नैना रै,छ। के नैना? कस्तो नैना?
मनमा कोतुहलता नाचिरह्यो। भृकुटीमण्डप पुगेर हत्तपत्त मोबाइलमा डेटा अन गरी फेसबुक, ट्विटर, इन्स्टा जताततै खोजे तर भेटिनँ।
आज भेटिनँ, भोलि भेटिनँ। मैले उसलाई कुनै पनि अनलाइन सामाजिक संजालमा भदौका केही दिन र पूरै असोज महिनाभरि खोज्दा पनि भेटिनँ। मेरो नम्बर ऊसँग थियो तर कुनै दिन नयाँ नम्बरबाट कल पनि आएन।
नैना! यो त अन्याय भयो ममाथि। म हजुरलाई भेटेर फेरि त्यही बहस गर्न चाहान्छु। म नजिकिने बहाना गर्छु। हजुरले टाढा पुराउने चेष्टा गर्नुस्। कहीँ कतै त भेट्टिनुस्। कल गर्नुस्। मलाई मेरो कुरामा होमा हो मिलाएको भन्दा हजुरले झैँ खण्डन मण्डन गरेको, प्रतिप्रश्न गरेको खुब मनपर्छ। तर्क गरेको मनपर्छ। अनि मैले हजुरलाई पाँच सय फिर्ता गर्नुछ।
नैना, अब त कल गर्नुस्।