हिउँदको आगमनसँगै
हुलका हुल कर्याङकुरुङ
आकाशै ढाकी उड्छन मधेशतिर
या गुमनाम सागरतिर
गर्मी लाग्नासाथ
फर्किन्छन् उही बाटो उस्तैगरी
तर फर्किएनन् छोराछोरीहरु
हराए उतै विदेशको रगमञ्च तिरै
पुस-माघको लामो रात
आँखामा निद्रा छैन
पीडा छ, मनभरि उकुसमुकुस छ
उक्लिन्छु घरको छततिर
झिलिक्क-झिलिक्क बत्ती बाल्दै
उडिरहेछन् अन्तर्राष्ट्रीय उडानका हवाइजहाजहरु
घनघोर रातमा पनि
सायद फर्केका छन् कि छोराछोरी
कतार, सिङ्गापुर या चाइना एयर हुँदै
झिनो आशा लिँदै मनभरि
पल्टिन्छु आफ्नै ओच्छयानमा
कतिबेला आँखा लागेछ कुन्नि
सबेरै ब्युँझिन्छु बिहानै
सन्नाटा छ
सुनसान छ घरको आँगन
हरेक बिहान
उसैगरी पोखिन्छ घाम
छताछुल्ल आँगनभरि
भर्खरै बिस्कुन सुकाएको
धान खान
भुर्र-भुर्र उडेका
भँगेराजस्तै
चारोको खोजीमा
रोजगारीको खोजीमा
ए भँगेरा तँजस्तै
सात समुन्द्रपारि परदेशमा
उडेका हुन् उनीहरु
सन्नाटा छाउँछ मनभरि
याद आउँछ बेस्सरी।