एकदिन कसैले मेसेज गर्यो फेसबुक मेसेन्जरमा, ऊ बोली। तुरुन्तै भोलिपल्ट उसलाई मेसेज आयो। ऊ दंग परी। हिजो श्रीमानले मेसेज गरेको थियो। भोलिपल्ट श्रीमतीले गरी। उसको मेसेज थियो- 'म फलानोको श्रीमती हो, यो आइडीमा मेसेज नगर्नुहोला।'
उसले मलाई तुरुन्तै फोन गरी, रिसाई मसँग। 'अरूका श्रीमतीले वा श्रीमानले कति सोधखोज गर्छन्। कति केयर गर्छन्। तपाईंलाई केही वास्तै छैन' भनी किनकि त्यति बेला ऊप्रतिको विश्वासले मैले कुनै कुराको वास्ता गर्दिन्थेँ। उसले जे गर्छे ठिक गर्छे, गलत गर्दिन भन्ने विश्वास थियो।
ऊ त्यति बेला नर्मल्ली भनी रहन्थी, 'मेरो लब कतिसँग पर्छ कति तर एक हप्ता टिक्दैनन्।' र, उसले बारबार भन्थी 'तपाईं कतिविधि कुरा बुझ्नुहुन्छ, नाइँ भन्ने शब्द त तपाईंसँग छैन, जे पनि गरौँ भन्नुहुन्छ।' उसले मेरो ध्यान खिचिरही।
मेरो विश्वास झन् गाढा भयो। जब ऊ गाउँ जाँदा कुनै युवकले बिहेको प्रस्ताव जबरजस्ती राखिरह्यो। अन्तमा उसले झुक्काएर किस गरिदियो।
यो कुराले ऊ डराई। 'एउटा कुरा भन्छु नराम्रो नसोच्ने ल' भनी। ऊ धेरै डराई करिब तीन दिनको समय लिई। मैले एकदमै सहजको वातावरण बनाएँ। 'कुरा सुनेपछि नछोड्ने है त' भनेर बारबार वाचा गरी र कसैले जबरजस्ती किस गरेको कुरा सुनाई।
कहिलेकाहीँ सङ्कटमा परिन्छ। दुवैले यसलाई यसरी नर्मल लियौँ। उसको मप्रतिको विश्वास र मेरो ऊप्रतिको विश्वास चुलिँदै गयो। तर, उसले भन्न छोडिन। 'मेरो लब पर्न बेर पनि लाग्दैन, छुट्न पनि।' अझै मैले उसको कुरामा कुनै वास्ता गरिनँ।
हामी क्लोज हुँदै गयौँ। लकडाउन सुरु भो। हामी दुवैले सञ्जालमा समय व्यथित गर्यौँ। अलिक नजिकबाट नियाल्यौँ एकले अर्कोलाई। त्यतिन्जेल ऊ सञ्जालमा एकदमै एक्टिभ भइसकेकी थिई।
एकदिन उसले फेसबुक स्टोरी राखी। स्टोरीमा रिप्लाई गरे इन्बक्समै जान्छ। धेरै मध्ये एकसँग स्टोरीकै बारे कुरा गरी। स्टोरीकै कुराबाट नजिक भएर उनीहरू भेटे। अबेरसम्म कुरा गर्न थाले। मैले कुरा गर्न खोज्दा रिसाउन थाली। निकैपछि नयाँ वर्षमा मलाई बताइ। पछिल्लो समय त यसरी भेटिन थाले कि उनीहरू दुवैले काम सकेर बाहिर कतै निस्किन थाले। फोटो खिच्ने र फेसबुक स्टोरीमा समेत राख्न थाले। बाहिर निस्किँदा मोबाइल स्विच अफ गर्ने र सदाको भन्दा ढिलो घर फर्कन थाले।
मैले उसलाई माया गरेर बोल्ने नामलाई बङ्गाएर भन्थी, 'छोरीले ज्वाइँ भित्राउने बेला भएको छ। दाइजो दिने कि नदिने वा के दिने?' ऊ बारबार यही भन्थी। कसैसँग मोबाइल नै स्विच अफ गरेर घुम्ने र यस्तो बोल्ने। म केवल सुनिरहेँ। सम्झाइरहेँ 'दूरी बनाउनु पर्छ नत्र गाह्रो हुनसक्छ।'
असहज लाग्थ्यो, त्यसैले चुप बसेँ, झगडा पनि गरेँ। अझै उसैसँग गाउँ जाने कुरा गरी। ऊसँगको कारण मसँग झगडा चुलियो। एकदिन यता हाम्रो प्रेम केवल साथीमा परिवर्तन भएको भनी। आफ्नो मान्छे हो नि, अरू कोहीसँग गाउँ जाने र यति लामो प्रेम साथीमा परिणत भएको सजिलै भन्ने। मनले कहाँ मान्छ?
जोसँग ऊ बोलिरहन्छे, ऊ माग्न जाने भएको छ। 'घरमा जसलाई दिन्छन् त्यसैसँग बिहे गर्छु' भनेपछि म त परदेश माग्न जान सक्ने त कुरै भएन। ऊ कोहीसँग त्यति लामो यात्रा हिँड्ने भएकी छ भनेपछि मैले खै किन ब्लक गरेँ फेसबुकमा। तर उसले खोल्न अनेक उपाय गरी पुनः बोलचाल भयो।
उसको व्यवहार परिवर्तन भइरह्यो। र, साँचो कुरा पनि उसले गरिरही। ऊ कसैको अट्याचमेन्टमा परेको कुरा। दूरी बनाउन कति रिक्वेस्ट गरेँ। परदेशी, जवानी, रहर जोडेर झगडा गरी। उल्टो एक महिना एकदमै तनावमा बित्यो दुवैको। उता केटो अन्ततः खै कसरी हो आफै साइड लाग्यो।
ऊप्रतिको विश्वास एक्कासी घट्यो। झगडा भई नै रह्यो। सम्बन्धमा फाटो आइरहेकै बेला आफ्नै गाउँतिरको एकजनासँग राजनीतिक बहस हुन थाल्यो उसको र व्यक्तिगत। मलाई होल्डमा राखेर उनीहरू कुरा गर्न थाले। मसँग ऊ रिसाउँदै गई। एकदिन बिन्ती गरेँ। 'मलाई देख्ने बित्तिकै कस्तो रिस उठ्छ के?' उसको रिस कम भएन। उसले भनिरहन्थी 'म त अन्तरजातीय बिहे गर्न मन छ। गरम?' मैले बधाइ छ भनिरहन्थेँ। एकदिन उसले त्यही अन्तरजातीय साथीसँगको प्रेमबारे कथा लेखी र मैले सम्पादन गरेँ। ऊ कथाकार पनि बनी।
झगडा पर्यो। त्यो व्यक्तिसँग जोडेर लाञ्छना लगाएजस्तो भयो। मतलब उसँग कुरा गर्दा आफू ओझेलमा परेको कुरा गरेँ। परदेशबाट कल गरेको छु, राती साढे एघार बजे 'म अरूसँग बोल्दै छु' भनेर मलाई होल्ड गर्थी। मेरो कामबाट निकालेको समय सकिन्थ्यो। झगडाले उग्र रूप लियो।
झगडाको बीउ म हुँ भन्ने जानेँ। र, ननबोल्ने, प्रश्न नसोध्ने वाचा गरेँ। उसलाई कुनै प्रश्न सोध्नै हुन्नथ्यो। त्यो बीचमा कयौँ पटक उसले अर्को एकजनाको नाम लिई। उसको गुणगानमा बिताई।
अन्तरजातीय प्रेम कथापछि अर्को प्रेम कथा उसकै नामको लेख्नु भनेको छ भनी रहन्थी। त्यो केटा राजनीतिक वृत्तको रहेछ। हरेक दिनको कुरामा केवल मलाई कम्युनिस्ट बनाउने र म कम्युनिस्ट बने मात्रै बिहे गर्छु नत्र विचार नमिल्नेसँग किन बिहे गर्ने भनी रहन्थी। तानाशाही, राजावादी अनेक उपमा दिन्थी। म चुपचाप सहेँ, केही बोलिनँ।
केही समयपश्चात् अर्को कुनै व्यक्तिको नाम लिइरही। उसले भनेका कुरा ठिक भन्न थाली जब कि त्यही कुरा मैले गर्दा 'पढ्नुपर्छ है' भनिरहँदा तँ त र म म गरेर 'तैँले पढाको होस् र यतिन्जेल' भनी। 'नपढेकाहरूको व्यवहार नै यस्तो हो' भनी। अनपढ भनी। कुनै दिन मैले उसलाई यतिसम्म भनेको हो कि 'पढ, मैले कमाउँदासम्म पढ। पछि पढेर ठूलो मान्छे बनेपछि मलाई सानो लाग्न थाले अरू नै रोज्न सक्छौ।'
तर एकदिन स्टोरीमा त्यही व्यक्तिसँगको कुराकानीको अंश राखी स्टोरीमा। उसलाई विचरा पढ्न नपाएको रहेछ भनेर सहानुभूति देखाई। उसका कुरा सब ठिक बनेर भनी।
ऊसँग कुरा गर्ने, 'मेरो मेसेजको रिप्लाई नगर्ने, फेरि मध्यरातसम्म अनलाइनमै त्यसपछि अफ गर्ने?' भनेर बन्द गरेको मुख फोरेँ। नफोरूँ पनि कसरी। मोबाइल पठाउने मै, रिचार्ज गरिदिने मै। त्यसपछि तँ त र म म सुरु भयो। गल्ती मेरा पनि होलान्। सहन सकिनँ। केही बोल्दिनँ भनेको एक महिनापछि अति भएर केही गाली गरिदिएँ। अवश्य नाम जोडिदिएँ।
यसपालि ऊ यी सब कुरालाई व्यक्तिगत कुरा भनी। व्यक्तिहरू चाहिन्छ भनी। अधिकार भनी। अधिकार मागी। झगडा बढ्यो।
केही दिन चुप बसेर मैले फकाएँ तर ऊ बोल्न नै छोडी। बरु सम्बन्धको अवसान भएको भनेर स्टोरी लेखी मैले रिप्लाई लेखेँ- 'ल आफ्नो जिन्दगी आफ्नो तरिकाले जिउनू' भनेर। उसले 'यस्तो नसोचेको' लेखी मेसेजमा।
ऊ चुपचाप काठमाडौँ फर्की, खबर गरिन। काठमाडौँ फर्केर बिरामी परी, अनावश्यक रगत बगेर मुर्छा परिछ। 'तेरो मुख देख्न मन छैन' भनेर मेसेज गरेकीले एकदिन कल गरी। उठाएँ।
ऊ बिरामी भएको थाहा भयो। सकेको सहयोग गर्ने भनेँ तर ऊ सबै इग्नोर गर्थी। 'काठमाडौँ फर्केको किन थाहा नगरेको?' भनी सोधेँ। 'बाटो अलग भएको' भनी। 'बाटो नै अलग भएको हो भने फेरि बिरामी छु भनेर किन कल गरेको त?' भनी कराइदिएँ। ऊ नेट अफ गरेर बाटो लागी।
हिजो उसलाई निगरानी चाहियो। वास्ता गरेनस् भनी। सामान्य हुलमुलमा कसैले शरीर छोएको कुराले पनि नछोड्नु भनी तर अहिले त्यही मान्छे अधिकारको कुरा, आफ्नो कुरा भन्छे। माया गर्दिन घृणा गर्छु भन्छे। समय परिवर्तनशील रहेछ। तर मेरो भावनाको लगानी, उमेरको लगानी, मानसिक लगानी समयले फिर्ता गर्ला?