कुनै समय महाकवि लक्ष्मीप्रसाद देवकोटाका सारथी जस्तै थिए श्यामदास बैष्णव। महाकविले लेखेका केही किताब फेरि साफी गरेर लेख्न उनी सारथी बनेका थिए। महाकविका थोरै साथीमध्ये पर्ने वैष्णव आफैं पनि प्रख्यात साहित्यकार /नाटककार हुन्।
यस्तो सुनेपछि, ज्ञानेश्वरस्थित उनको घरमा फोन गरियो। छोराले उठाएको फोन बाबुलाई दिए। उताबाट वृद्ध आवाज आयो, 'यसपालि म बोल्न सक्दिनँ अरूसँगै सोधेर लेख्नू। महाकविबारे धेरैलाई थाहा छ।'
उनले फोन काटिदिए। महाकविबारे साहित्यको बजार र लोकमा चल्ने हल्लाहरू के साँच्चीकै होलान्? यस्तो प्रश्न सोध्ने हुटहुटीले फेरि फोन गर्न लगायो। यसपालि उनकी छोरीले उठाइन् फोन।
केही घण्टा आराम गरेपछि मुड बन्ला बोल्ने?
उनले भनिन्, 'आउनुस्।'
बोल्दिनँ भन्दाभन्दै किन आएको? भनेर मुख मोडिदेलान् कि भन्ने डर मनभरी बोकेर ज्ञानेश्वरको ग्यालेक्सी स्कुल छेउ पुगेँ, २०७१ कात्तिक ५ गते बुधबार साँझ ५ बजे।
स्कुल छेवैमा वैष्णवको घर रहेछ। साँघुरो र पुरानो भर्याङ चढेर पहिलो तल्ला उक्लन नपाउँदै बरण्डामा उनीसँग जम्काभेट भयो।
९१ वर्षीय (२०७१ सालमा) वैष्णव दिउँसोको निद्राबाट केहीक्षण अघि मात्रै बिउँझिएका रहेछन्।
'आउनु भयो? के भन्नुपर्यो मैले?,' उनले पो सोधे।
'देवकोटालाई कसरी जान्नुहुन्छ?' यस्तो चल्तीको प्रश्नबाट कुराकानी सुरू भयो।
‘लक्ष्मीप्रसाद देवकोटा अत्यन्तै प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो नेपाली साहित्यमा धेरै कुरा रच्नुभयो उहाँले। बाल साहित्यदेखि महाकाव्यसम्म रचना गर्नुभयो। उहाँका कृति विश्वविद्यालयमा राखियो। देशको महाकवि भएर उहाँले धेरै ठाउँमा योगदान दिनुभएको छ’, आँखा चिम्म गरे र बोल्न थाले, ‘देवकोटाले भाषा अनुवाद संस्थानमा पनि काम गर्नुभएको थियो। त्रि-चन्द्र कलेजमा पढाउनुभयो। एकेडेमी बनाउन मद्दत गर्नुभयो। धेरै समय पछि मन्त्री पनि हुनुभयो। कवि सम्मेलनमा नेपालको तर्फबाट देश विदेश जानुहुन्थ्यो। उहाँको मृत्यु भने दुखत् तवरले भयो '
वैष्णवले महाकविको धाराप्रवाह परिचय दिए। यो परिचय नौलो थिएन। उनी आँखा चिम्लेर महाकविबारे बोलिरहेका थिए।
'हामीले यसरी नै चिन्छौँ महाकविलाई,' उनले कुराको विट मार्न खोजेझैँ भने। लामो सास तानेर सुकेको मुख भिजाए र आँखा खोले।
***
पहिलोपटक महाकविलाई कहाँ भेटे होलान्? उनीहरुको मित्रता कस्तो पो थियो मनमा यस्ता प्रश्न थिए। उनलाई भने बोल्न सकस भइरहेको थियो।
डिल्ली बजारको बाटुले घर भएको ठाँउनिर डबलीमा, केशव भन्ने व्यक्तिको नाटक मण्डली थियो। नाटकको नेपथ्यमा काम गर्नेवाला थिए वैष्णव। एउटा नयाँ नाटकको काम शुरु हुन लागिरहेको थियो।
ती केशवले उनलाई एउटा नाटकको ताकेता गर्न पठाए, 'महाकविसँग एउटा नाटक मागेको छु जाउँ लिएर आऊ।'
वैष्णव दौडेर डिल्लीबजारस्थित महाकविको घरमा गए। उनी त ट्यूसन पढाउँदै रहेछन्।
'नाटक लिन आएको,' भनेपछि महाकविले खेस्रा गरेको कापी वैष्णवलाई दिएर साफी गर्न लगाए।
'तिम्रो अक्षर त खुब राम्रो रैछ,' देवकोटाले तारिफ गर्दै भने, 'मेरा अरु पनि किताब लेख्न सहयोग गर्छौ?'
वैष्णव दंग परे र अरू किताब लेख्न सहयोग गर्ने बाचा गरे।
'उँहाले नाटकबारे कुरा गर्नुभन्दा मेरो अक्षरको तारिफ गर्न थाल्नुभयो। मैले पनि अरू किताब साफी गरेर लेखिदिने भएँ।'
यसरी उनीहरुबीच अक्षरको साइनो गाँसियो।
उनले महाकविका शाकुन्तल र सुलोचना महाकाव्यलगायत अरू धेरै कृति लेखिदिए।
महाकवि लेख्न बसेपछि धाराप्रवाह लेख्थे। उनलाई चुरोट असाध्यै पिउनुपर्थ्यो।
घरमा, जब महाकवि एक्लै कोठामा बसेर एकदम डुबेर लेखिरहेका हुन्थे त्यो बेला चुरोट पिउने फुर्सद पनि हुँदैनथ्यो उनलाई। देवकोटाको घुँडा धसेर घोप्टो परेर लेख्ने बानी थियो कहिलेकाँही बाहिरबाट विस्तारै वैष्णव पुग्थे। तर महाकविले चाल पाइहाल्थे।
'तिमी आयौं श्याम?' देवकोटाले भन्थे, 'चुरोट छ? सल्काउ।'
सत्तरी वर्ष पुग्नलाग्यो ती कुरा विस्मृतिमा गएको। अहिले सम्झन पनि वैष्णवले आँखा चिम्लेर स्मृतिको गहिराईमा पस्नुपर्छ खोजेर निकाल्नुपर्छ।
वैष्णवको आवाज थरथराएर अस्पष्ट भएको छ। थोरै खोक्दा पनि सास फुलेर आउँछ। उनले आँखा चिम्लेरै बताइरहेका छन्, कसरी महाकविको लागि उनले चुरोट सल्काउँथे। वैष्णवले हाउभाउमा देखाए महाकविलाई आफूले चुरोट दिने तरिका।
बसेर महाकवि लेखिरहेका बेला पछाडि वैष्णव चुरोट सल्काएर आफ्नो हातमा च्याप्थे अनि देवकोटालाई दिन्थे। अनि महाकवि ट्याप लगाएर खान्थे चुरोट।
वैष्णव सम्झन्छन्- महाकविलाई मासु खान औधी मनपर्ने। एउटा जाडोको याममा मासु खाने कुरा चल्यो। त्यो दिन काठमाडौंमा बेपत्ता हिउँ परेको थियो। म ल्याइदिन्छु भनेर वैष्णव पसल गए।
एक किलो मासु किनेर लगिदिए।
फर्केर आएपछि महाकविले सोधे 'यस्तो हिउँमा कसरी आयौं?'
उनले केही बोलेनन्। उनीसँग केही भन्ने शब्द थिएनन् पनि।
भोलिपल्ट जाँदा त उनी अचम्म परे।
'उहाँले त्यसै राती तुषार वर्णन भन्ने खण्डकाव्य लेख्नु भएछ,' वैष्णवले आँखा खोलेर भने। उनले त मासु खाएर बुढा सुते होलान् भन्ठानेका थिए।
वैष्णवले व्यक्त गर्नै नसकेको भावनाले छोएको होला कविलाई। देवकोटासँग भावना र शब्दको बेजोड संग्रह थियो।
***
'नेपाली भाषा अनुवाद परिषद्'मा महाकविले लेखकको जागिर पाएपछि वैष्णवले पनि सहायक भएर काम पाए। त्यहाँ महाकविको मासिक तलब ८० रूपैँया हुन्थ्यो।
त्यो बेला उनको चर्चा फैलिसकेको थियो।
वैष्णव र उनी भाषा अनुवादको अफिसबाट तलब बुझेर फर्किरहेका थिए। धोविधारामा मेवा पसल गरेर एउटी बुढी बसिरहेकी हुन्थीन्। महाकविलाई मेवा खान मन भएर होला उनले सोधे, 'मेवाको कति?'
'यो बेच्न राखेको होइन,' ती बुढीले मुख बटारिन्। महाकवि शान्त देखिन्थे तर उनको अपमान भयो झैँ लागेर होला वैष्णवलाई रिस उठ्यो। 'महाकवि भनेर दुनियाँले कत्रो तारिफ गर्छ यो बुढीले बेच्न राखेको मेवा पनि होइन भनि मान्छेको मनोवृत्ति पनि कस्तो हुन्छ भन्ने लाग्यो।'
यत्रो वर्षपछि त्यो बुढीलाई सम्झिँदा पनि वैष्णवको आवाजमा रिस बाँकी नै छ।
***
देवकोटा कसैसँग झगडा गर्ने खालका मान्छे थिएनन्। उनी मिलनसार र अरूलाई नराम्रो नबोल्ने खालको मान्छे थिए।
'मिलनसार व्यक्ति। व्यवहार सरल हुनुहुथ्यो, कसैलाई गाली नगर्ने देवकोटाको पुष्कर शमशेर राणासँग भने झगडा भएको थियो,' वैषणवले अघि नै धारा प्रवाह परिचय दिदाँ भनेका थिए।
किन भएको थियो मन मुटाव?
महाकाव्य शाकुन्तल लेखिसकेपछि छाप्न भन्दै महाकवि पुष्कर शमसेर राणाकोमा पुगे। भाषा अनुवादमा उनी उपल्लो दर्जामा थिए।
शाकुन्तलमा धेरै वाणिनी छन्द प्रयोग गरेका छन् तर मात्रिक छन्द पनि मिसाएका रैछन्। पुष्करले एउटै छन्द प्रयोग गर्नुपर्छ। मात्रिक छन्द फेर भनेर आदेश दिए। देवकोटालाई चित्तै बुझिरहेको थिएन। त्यसैबेला बालकृष्ण सममाथि आइपुगे। उनी पुष्करका भाइ हुन्। महाकविले समलाई देखाए।
सम खुसी भए, 'ल राम्रो लेखेछौ।'
दुवै जना मिलेको देखेर पुष्कर शमशेरलाई रिस उठेछ। भाइको अघि आफ्नो तेजोबध गर्न खोजेको ठानेर होला पुष्कर महाकविलाई ‘बाजे’ भन्दै बाझेछन्।
कहिल्यै नरिसाउने देवकोटा पनि सन्किएछन्, 'म टपरे बाहुन होइन छोड्न सक्छु यो जागिर।'
पछि कुरा डाइमण्ड शमशेरकोमा पुग्यो। उनले पुष्करलाई गल्ती स्वीकार गर्न लगाएर कुरा मिल्यो।
त्यहीँ बेलापछि राणासँग महाकविको राम्रो भएन। उनीसँग विद्रोहीलाई जस्तो व्यवहार गर्न थालियो।
महाकवि २००४ सालमा बनारस गए। त्यसपछि वैष्णवको र देवकोटाको सहकार्य टुट्यो।
उनले पछि सुने, बनारसमा खुब दुःख पाए रे, महाकविले। विँडी/चुरोट खुब मन पर्ने। तर बनारसमा विडी खान पैसा पुगेनछ।
उनले दुग्ध विनायकको प्रवन्धकसँग एउटा सम्झौता गरेछन्। चार आनामा एउटा कविता। त्यो चार आनाले उनले विँडि खान पाउँथे।
'पछि यति धेरै कविता लेखेर दिनुभएछ कि, ऊ त भयो अब मलाई यति धेरै कविता चाहिँदैन भनेर थाकेँ भनेछ’, वैष्णवले आफूले पछि यस्तो सुनेका थिए रे।
महाकविको धाराप्रवाह लेख्नसक्ने क्षमता उनको लागि दुःखैको विषय बनेछ कहिलेकाँही। राणा शासनको बेला थियो। अशिक्षाको अँध्यारोमा थियो समाज। जान्ने सुन्ने सानो घेरामा हुर्किएका थिए देवकोटा। राणा खलकका केही व्यक्तिले भने उनलाई माया गर्थे रे।
देवकोटाले बनारसमा दुःख पाएका छन् भन्ने सुनेर बबर शमशेरले बोलाएछन्। ८० रूपैँया पनि दिएछन्।
***
'महाकविले भाषा अनुवादमा काम गरेर पुस्तक लेखेर अनि ट्यूसन पढाएर पैसा कमाउनुहुन्थ्यो। तै पनि दुःख भने थियो' वैष्णवले भने, 'तर बाटोमा गरिब देखे आफ्नो कोट नै फुकालेर दिन्थे, पैसा बाँड्दै हिँड्थे भन्छन् नि त्यस्तो भने होइन।'
आफ्ना व्यक्तिगत दुःखभन्दा माथि उठेर देवकोटाले साहित्यको क्षेत्रमा योगदान गरेका छन्।
२००७ सालको परिवर्तन भयो। परिवर्तनकारीहरुले त उनको वास्तै गरेनन्।
उहाँ एकपटक रूस जानुभयो। नसोधी गयो भनेर जरीवानासमेत गरे।
यी सबै कुरा सम्झेर वैष्णवले भने, 'एउटा विदेशीले भनेको थियो नेपालमा उनको जन्म हुनु भौगोलिक त्रुटि हो, यसरी उथ्थानपतको खेलमा देवकोटाजी अनेक झेलमा पर्नुभयो।'
क्यान्सर लागेर थला परेपछि देवकोटाले दुःख पाए। वैष्णव बेलाबेला भेट्न जान्थे। र आफ्ना कविको विजोग हेरेर फर्किन्थे।
'उहाँलाई भागवत पढ्ने ठाँउबाट आर्यघाट चलान गरियो उहाँको अवसान भयो।'
महाकविको मृत्युले दुःखी भएका श्यामदास वैष्णवले उनलाई सम्झेर कविता लेखे-आफ्नो मनमा। त्यो कतै छापिएको छैन। तर अहिलेसम्म उनलाई कण्ठस्त छः
श्रमिक थियो कवि उपकारी
हेर्न खोज्दथ्यो तवखारी
कृतघ्नताको बन्यो शिकार
उल्टो अपराधी भै लाचार
सबथोक मेटी निर्वन्ध भयो
आर्यघाटमा यै कविको मुटुको धड्कन बन्द भयो।
साहित्यकार श्यामदास वैष्णवको २०७८ वैशाख ३ गते निधन भएको छ। नेपाली भाषासाहित्यका साधक उनको आफ्नै घर ज्ञानेश्वरमा निधन भएको थियो। १९८१ साउन ५ गते जन्मिएका उनी पछिल्लो समय हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका थिए। उनीसँग सेतोपाटीका लागि शोभा शर्माले गरेको कुराकानीको आधारमा प्रकाशित यो स्टोरी पुनः प्रकाशन गरेका हौ।