घरको मात्र फाल्ने होइन, फालौं मनको कालो
यसपालि त हाम्रो घरमा लक्ष्मी आउने पालो
तिमी बिना गाह्रो भयो चलाउन यो सृष्टि
घुमाएर यता पनि पार कृपा दृष्टि
आवश्यकता कतिकति इच्छा अनगिन्ती
लक्ष्मी आऊ हाम्रो घरमा गर्छु लाख बिन्ती
हात जोड्छु हटाइदेऊ दु:खको यो जालो
यसपालि त हाम्रो घरमा लक्ष्मी आउने पालो
धन नै त रै'छ ठूलो मान्छे नाप्ने कसी
स्वच्छ मनले पुकार गर्छु माता ! घरमै बसी
तिमी बिना बाँकी सबै आदर्शका कुरा
शिर झुकाई पाउ पर्छु गराऊ इच्छा पूरा
दिव्य ज्ञानले भरिदेऊ मेरो मनको डालो
यसपालि त हाम्रो घरमा लक्ष्मी आउने पालो
यसपालि त लक्ष्मी आउने हाम्रै घरको पालो