गरिब छु म धनको तर धनी छु म मनको
त्यसैले उपेक्षा गर्छु म त्यो ईर्ष्यालु जीवनको
मेहनत र परिश्रमले मेरा भोका जहान पाल्छु म
त्यसैले साँझपख झुपडीमा सन्तुष्टिले निदाउँछु म।
नौलो बिहानीको त्यो मिर्मिरेसँगै जुरुक्क उठ्छु म
साँझको जुनेली रातसम्म खेतबारीमा खट्छु म
किनकि आफैँले मातृभूमि श्रृंगार्नु छ मलाई
किनकि त्यहाँका बालीनाली स्याहार्नु छु मलाई।
एक छाकले प्रशस्त स्फूर्ति मिल्छ मेरो तनलाई
खेतबारीमा यी दुई हात पाउ चलाउनलाई
गरिब हली किसान भन्छन् मलाई
तर केही फरक पर्दैन मलाई।
मातृभूमिमा लागेको स्वार्थीपनको दाग पुछिदिन्छु म
त्यसैले त त्यहीँको माटोसँग प्रगाढ मित्रता गाँस्छु म
मातृभूमिको डाँडापाखामा म बताससँगै सुसेली सुसाउँछु
त्यहीँ डाँफे मुनाल र कोइलीको गीतहरूसँग म मुग्ध हुन्छु।
चाहन्नँ म कोही पनि भोकभोकै मरोस्
चाहन्नँ म कोही पनि मातृभूमि छोडोस्
त्यसैले त हलो र जुवा बोकी खेतबारीमा जुट्छु म
त्यसैले त मातृभूमिको चरणमा सन्तुष्टि खोज्छु म।
सुख-सयल र सम्पत्तिको कुनै मोह छैन मलाई
लोभ लालचा र घमण्डको कुनै अर्थ छैन मलाई
केवल मातृभूमिमा रगत र पसिना पोख्नु छ मलाई
केवल मातृभूमिको कर्मवीर सपूत बन्नु छ मलाई।
उकाली ओरालीमा सधैँ घामछाया ताप्छु म
कुटो कोदाली पहाड फोर्न साहरा लिन्छु म
दस नङ्ग्रा खियाएर मातृभूमिमा म खुसीसाथ बाँच्छु
वसन्तमा फुलेका फूलहरुसँग म दुःखसुख साट्छु।
घामपानी ओत्न एउटा झुपडीले पुग्छ मलाई
सगरमाथाको अग्लो शिर झुक्न दिनु छैन मलाई
मेरै मातृभूमि स्वर्गभन्दा प्यारो र पवित्र लाग्छ मलाई
त्यसैले त स्वावलम्बी पाइला चाल्न जाँगर लाग्छ मलाई।