जे भन्नु थिएन त्यही भनेँ
जे बन्नु थिएन त्यही बनेँ
जे गर्नु थिएन त्यही गरेँ
जस्तो थिएँ त्यो कायम राख्न सकिनँ
होस गुमाएँ
चेतना गुमाएँ
मैले समझदार 'म' लाई गुमाएँ
मैले मेरै धैर्यता गुमाएँ
विश्वास गुमाएँ
साहस गुमाएँ
बाटो कतै बिराएँ
आइन्दा...
म तिमीलाई चिन्नु अघि आफूलाई चिन्नेछु
तिमीलाई सोध्नु अघि आफूलाई सोध्नेछु
तिमीलाई बुझ्नु अघि आफूलाई बुझ्नेछु
म संसार हेर्ने मेरो पुरानै लयमा फर्किनेछु
सिद्धान्तको रटान हैन
व्यवहारिकतामा उडान भर्नेछु
म काँचो छु
म आलो छु
तर यति थाहा छ
म पाक्छु
पाक्दैछु
संसार बिर्सेर म अब मेरै यात्रा निसंकोच हाक्दै छु
मलाई 'म' चिनाउने तिमीलाई एक सुन्दर गुलाफको फूल।