'के तपाईं पैसालाई चिन्नुहुन्छ?' मैले यो प्रश्न सोध्दा तपाईंको उत्तर पक्कै पनि 'कस्तो बकम्फुसे मान्छे रैछ! पैसालाई कसले चिन्दैन?' भन्ने आयो होला। नाआवस् पनि किन? पैसा यस्तो कागज हो, जुन कागजले नै यो कागजी दुनियाँको आकृति कोरेको छ।
पैसा भनेपछि महादेवको पनि तीन नेत्र खुल्छ भन्ने उखानले पनि यो कुरा प्रस्ट हुन्छ कि पैसाको उत्पत्ति परापूर्व कालमा नै भएको हो। फरक यति हो कि पहिले सुन-चाँदीका ढ्याक पैसा हुन्थे अहिले 'स्लिम ट्रिम' कागजका पैसा। जसरी सर्पका बच्चालाई डस्न सिकाउनु पर्दैन, त्यसरी नै अहिलेका मान्छेलाई पनि पैसाको महत्त्व बुझाउनु पर्दैन। त्यसैले मैले त्यो प्रश्नलाई हल्का तोडमरोड गरेँ। 'के पैसाले तपाईंलाई चिनेको छ?' बल्ल तपाईंहरुलाई चित्त बुझ्यो होला, हैन?
तपाईं पैसाको फुपूको छोरा हो वा पैसा नै तपाईंको फुपू त्यो मलाई थाहा भएन, म चाहिँ पैसाको परको नातेदार। परकै नातेदार भएकाले होला यो पैसा मेरो घर त्यति आउँदा पनि आउँदैन र आए पनि नानाथरी बहाना बनाएर फर्किहाल्छ। अनि मेरी आमा 'त्यो नआउनको लागि हजार बहाना बनाउने पैसा कहिले आउँछ हँ?' भनेर मलाई बारम्बार प्रश्न गर्नुहुन्छ। म उनको प्रश्न टाल्न भन्छु, 'पैसा कागज न हो, त्यसैले धेरै पैसा-पैसा नगर्नू न, यो कागजभन्दा पनि धेरै महत्त्व राख्ने चिज छन् यहाँ!'
यत्तिकैमा होमा हो मिलाउँदै, एउटा खुट्टा भाँच्चिएर इँट्टाको चाङको भरमा अडिएको मेरो खाटले पनि भन्छ, 'हो त, पैसा एउटा कागज न हो।' फूलका बुट्टा कम, भ्वाङका बुट्टा बढी भएको मेरो खाटको तन्नाले भन्छ, 'अँ नि! पैसा एक कागज न हो।' वर्षौं वर्ष मेरो साथ रहेको मेरो खुइलिएको सर्टले पनि भन्छ 'पैसा केही त हैन।'
मेरो बुढीऔँला पनि मेरो मोजाको भ्वाङ छेडेर, जुत्ताको भ्वाङबाट तन्किँदै भन्छ, 'पैसा एउटा बुट्टेदार कागज न हो।' एक-एक गरी मेरा अभावहरु कुनै अंग्रेजी फिल्ममा मुर्दाघरमा गाडेका मुर्दाहरु बाहिर निस्किएझैँ निस्किँदै मलाई मेरो अपूर्ण इच्छा आकांक्षाको मसानघाट तिर डोराउँछन्।
पैसा मेरो टाढाको नातेदार हो र अभाव मेरो निकटतम सहायात्री। या भनम् आभव मेरो एकतर्फी प्रेमी हो। मैले जति नै अभावबाट टाढिन खोजे पनि ऊ मसँग जुकाझैँ टाँसिएर बस्छ। तर तपाईंलाई यो भ्रम नपरोस् कि अभाव र जुका उस्तै हुन्। जुका तपाईंको जीउमा आफ्नो पेट नभरिन्जेल मात्र बस्छ अनि आफै झर्छ तर अहँ! अभावको कुनै अन्त्य छैन। अभाव एउटा भूलभुलैयाजस्तो हो, तपाईं जति योबाट निस्कन प्रयास गर्नु हुन्छ, त्यति नै भित्र-भित्र पस्छ।
कुरा मेरो परको नातेदारको भइराख्दा मैले मेरो एउटा घटना नभनी बस्न् सकिनँ। लौ सुन्नुहोस्- दिन, गते, साल केही याद नभए पनि त्यो घटना मेरो दिमागमा राम्ररी छापिएको छ। म कतैबाट घर फर्कँदै थिएँ र यतिकैमा मेरो आँखा बाटो छेउमा झरेको पैसामा गयो। स्वभाविक नै हो देखेको पैसा टिप्न मलाई दुई सेकेन्ड पनि लगेन।
विज्ञान भन्छ कि मानिसको शरीरले आफूअघि खतरा हुँदा 'रिफ्लेक्स एक्सन्' नामक प्रतिक्रिया देखाउँछ तर सोही प्रतिक्रिया मान्छे पैसा देख्दा पनि देखाउने कुरा वैज्ञानिकले भन्न भुलेछन्। त्यो पैसा टिपेर यसो हेरेँ। अभावको भूमरीमा बसेको म आफ्नो अगाडि मेरो आफ्नो टाढाको नातेदार देख्दा पनि खुसी हुन सकिनँ। कारण त्यो पैसा पनि कसैको टाढाको नातेदार नै थियो। त्यो कुनै एटिएमबाट तात्तातै निस्किएको कटकटे नोट थिएन। नोट हजारको थियो तर चोट पनि हजार नै प्रतिबिम्बित गरिरहेको थियो।
त्यो नोटमा भएका अनगिन्ती मुजाहरुले मलाई त्यो व्यक्तिले टारेका अनगिन्ती आवश्यकताहरुको झल्को दिइरहेका थिए। 'भो, पछि किनौँला', भन्दै अनगिन्ती आवश्यकता टारेर आफ्नो थैलोमा नै सुरक्षित राखेको त्यो नोट, आज कुनै अपरिचित व्यक्तिकोमा टाढाको नातेदार बनेर आएको थियो। त्येसैले अहँ! म खुसी हुन सकिनँ। तैपनि त्यो धेरैपछि आएको पाहुनालाई बडो सम्हालेर मैले मेरो खुइलेको सर्टको गोजीमा राखेँ।
योभन्दा धेरै मैले मेरो टाढाको नातेदार पैसाको खेदो खनेँ भने, मेरोमा कहिले नआउला भन्ने सम्भावनालाई मध्यनजर गर्दै मैले मेरो औँलालाई यही रोकेँ।