जब मन खुम्चिन्छ
आकाश र क्षितिजलाई हेरेर मन फुकाउँछु
जब मन निस्सासिन्छ
हावा र प्रकाशलाई हेरेर मुक्त हुन्छु।
आजसम्म
म धन्य-धन्य बन्न सकिनँ आकाशप्रति
क्षितिजप्रति
हावाप्रति
प्रकाशप्रति
मैले कुल्चेर हिँड्ने धुलोले मलाई चुमेको छ
रिसमा पात चुँडिफालेका पतिङ्गर र पोथ्राले मलाई सुनेको छ।
बाल्यकालमा
आमासँग झगडा गर्दा होस् कि
दिदीसँग घुर्की लगाउँदा होस् कि
दाजुसँगको मनमुटावमा होस् कि
बाबुको लपेटाले झन्झनाउँदा होस्
पटक-पटक
आकाश, क्षितिज, हावा, प्रकाश, धुलो, पतिङ्गरसँग
गुहार मागेको छु।
वयस्क हुँदा
संसारसँग रिसाएको बेला
उदासिएको बेला
दुखेको बेला
तर्सिएको बेला
मैले अमुक पतिङ्गरसँग बात मारेको छु।
आजसम्म
म धन्य-धन्य बन्न सकेको छैन
धुलो र पतिङ्गरप्रति।
प्रिय
जब तिमीले आफ्नो मन
ऐना जसरी फुटाएर हजार टुक्रामा
एक टुक्रा मात्र मलाई सुम्पेकी रहिछेउ भन्ने थाहा पाएँ
म फेरि फर्केको छु यिनै आकाश तिर
यिनै क्षितिज, हावा, प्रकाश, धुलो,पतिङ्गरतिर।
यसपटक
मेरा अभिन्न मायालुहरूप्रति
धन्य-धन्य बन्न सकुँ।