म धन्य हुने थिएँ भैरे काका
स्वर्गमा पनि यहाँजस्तै रहून्
जान्छु एकदिन अनि भन्नेछु
तिम्रो गाउँ उस्तै रहेन अब
काका अब गयौं भने त
चिन्दैनौ आफ्नै गाउँ पनि
खै के-के जाति खुल्यो
जहाँ साहुनीको भट्टी हुने गर्थ्यो।
यस्सो हेर्दा उस्तै देखिए पनि
परिवर्तन धेरै भएको छ यहाँ
छैन नामो निसान
जहाँ माटो हुने गर्थ्यो।
थाहा छ भेटिँदैनन् ती पुस्ताहरु
घाम त अस्ताउँछ, उदाउँछ
खै कहाँ अस्ताए तिनीहरु
जो ऐतिहासिक दस्तावेजलाई
हाम्रो मगजमा छाप्ने गर्थे।
त्यो चौताराको चिया पसल
अनि तल्लारे साहुनीको भट्टीमा
भिड चल्ने गर्थ्यो, गफ लड्ने गर्थ्यो
चिया त पाकिरहेछ त्यहाँ
तर पहिले बास्नाले नै थाहा हुन्थ्यो।
धान बोरामा अनि
दूध प्याकेटमा पाइन्छ अचेल
सबै खेतहरु घडेरी बने
जंगल कङक्रिटको भैसक्यो
नाली भयो जहाँ कञ्चन कुलो बग्ने गर्थ्यो।