'मेरो नाममा बिहेको कार्ड आएको भए मिलेसम्म बिहेमा आउने थिएँ अनि धित मरुन्जेल हेर्ने थिएँ, मन साटियो उनी गइन् तर पर्खिरहेँ।' कमेन्टहरु गोली बर्सिए जसरी बर्सिन थाले, थुप्रै लाइकहरु आए।
म्यासेन्जरमा कल र म्यासेजहरु आइरहे। कसैको जिज्ञासा थियो, कसैको त्यसमा केही लाइन थप्दै पोस्ट गरेका थिए जुन उसको लागि खर्चेको अन्तिम स्टाटस थियो। हरेक स्टाटस पोस्ट गर्ने बित्तिकै केही न केही लाइन सहित उपस्थित जनाउने उनले लामो समयसम्म पनि केही देखिएन।
फेसबुक, सामाजिक संजाल त्यतिबेला सबैको रोजाइ र कसैको खोजाइ बनिरहेको थियो। कयौं सम्बन्धहरु जोडिए, कयौं तोडिए त कयौंको यसैबाट तोडाइएका, छोडाइएका दृष्टान्तहरु पेश गरिरहनुपर्ने देख्दिनँ तर पनि लत बन्दो रहेछ हरेकको आफ्नो सिमाना पार गरेपछि। एउटा नशामा देखिएको स्वाद, नभई पनि नहुने भए पनि नहुने, तर पाएसम्म धेरै नै चाहिरहने। सुरु-सुरुमा एकछिन खोल्यो हेर्यो तर विस्तारै संसार नै यही ठानेर झुन्डिरहने, खोल्यो फेरि बन्द गर्यो अनि अपडेट हेर्यो। विस्तारै फेसबुक प्रयोग गरेको मान्छेलाई फेसबुकले नै प्रयोग गर्न थाल्यो।
अब त फेसबुक चलाउन कम गर्नुपर्यो भनेर ओछ्यानमा पल्टिएर सोच्दै थिएँ। अकस्मात अपरिचित केटीको फ्रेन्ड रिक्वेस्ट आयो। नजाने गाउँको बाटै नसोध्नु भन्दै 'नट नाउ' बटन थिचिदिएँ। त्यसको लगत्तै म्यासेज आएको देखेँ। लेखिएको थियो- 'मैले तपाईंको नाम खोज्नै एक महिना लाग्यो। जे होस् भेटेँ। धेरै सुनेको थिएँ अरुबाट तपाईंको बारेमा अनि रिक्वेस्ट पठाएँ। के म साथी बन्न सक्छु नि?'
आफूलाई त्यसरी म्यासेज नै आएपछि के भाउ खोजिरहनु जस्तो लागेकोले 'स्योर' लेखिदिएँ। तुरुन्तै फेरि रिक्वेस्ट आयो र एसेप्ट गरेँ। सायद, अनलाइन नै रहिछन् र त आयो जवाफ- 'थ्याङ्क यू, अब हामी साथी भयौँ' भन्दै स्माइली पठाइन्। जवाफमा मैले उत्तर दिँदै भनेँ- 'ठिकै छ नि, खुसी लाग्यो साथी।'
फेरि अर्को दिन यसैगरी छोटो मिठो कुरा हुन थाल्यो। एकदिन भनिन्- 'तपाईंको स्टाटस त खत्रा-खत्रा पोस्ट हुन्छ, कतै आफ्नै भोगाइ त होइन नि? त्यति गहिरो शब्दहरू कहाँबाट खोज्नु हुन्छ क्या? तैपनि मलाई त एकदमै मनपर्छ, कमेन्ट गर्न आउँदैन त्यसरी त, त्यसैले रेडिमेड पठाइदिन्छु' भन्दै हाहा... गर्दै हाँस्छिन्। कति दिन उत्तर नफर्काई बस्न सकेछु तर कति कन्ट्रोल गर्नु, मेरो नि मनै त हो।
विस्तारै छोटो-छोटो रिप्लाई दिन थालेँ र भनेँ- 'खै त पढ्ने मात्रै? हामीलाई नि कमेन्टको उत्तर दिने मौका कहिल्यै मिल्ला जस्तो त देखिनँ साथी यो जुनीमा।'
उसको उत्तर फेरि यस्तो, 'कमेन्ट गर्यो भनेर रिसाउन पाइँदैन नि प्यारो मान्छे।'
'हवस्।'
हुँदाहुँदै उसको बानी परिसकेछ। म्यासेज, कमेन्ट नआउँदा एक्लोपन फील हुने भैसकेछ। फेसबुक खोलेर पुगेन, उसकै उपस्थिति हुनैपर्ने। उसैसँग बोल्नुपर्ने नशा अरुको उपस्थितिले पूरा हुन, खुसी हुन भुलिसकेछु।
केही क्षण ढिलाइ हुँदा उसको चियो गर्न थाल्ने भैसकेको थिएँ। प्रोफाइल हेर्ने, कमेन्ट गर्ने, लाइक गर्ने, कहिलेकाहीँ त एकै पटक थुप्रै फोटाहरुमा लाइक गर्दिन्थेँ अनि भन्थिन्- 'के गर्नु भाको? एकै पटक त्यत्रो लाइक, त्यो पनि एउटै मान्छेको?'
तर पनि उसको एउटा फोटो असाध्यै मनपर्छ, शिर निहुरिएर फोन चलाउँदै गर्दाको पिङ्क टप्स। घरीघरी कमेन्ट गर्दै उसको रेसपोन्स कुर्ने बानी अनि विस्तारै उसको सुन्दर तस्बिरबाट आउने चुम्बकीय शक्ति सहितको शब्द वाणले कहिलेकाहीँ ठाउँमा छुने।
विस्तारै उनीमा आफूलाई निर्भर भएको पाउन थालेँ। यसरी कुरामा मात्रै सीमित हुनुभन्दा यसको लिमिट तोड्दै फोन नम्बर माग्दा दिन मानिनन्। भेट्न खोजेँ, अस्वीकार गरिन्। आफूलाई झन् असहज महसुस भएको अनुभूति बढ्न थाल्यो। कुरा गर्दा समय बितेको पत्तै हुन छाड्यो र एकदिन आफूलाई बिसन्चो भएको जानकारी म्यासेजमा छाडेँ। त्यसपछि उसले फोन नम्बर मागी, फोन गरी र भनी 'ल भन्नु के भयो खासमा?'
अस्पतालमा बिरामी भएर भर्ना हुँदा डाक्टरले नि यति विस्तृत रुपमा सोधेको थिएन होला। अनि थपी, 'यस्तो बिरामी हुने मान्छेले मलाई भेट्न सक्छ त?' हजारौं भिडहरुको आवाजमा उसको एकल आवाजले किन सब चिज ठिक हुन्छ? थाहा छैन, न त भेटघाट नै भएको छ। यात्रामा कहाँको मानिसलाई कहाँबाट कसरी नजिक बनाउँदो रहेछ। उसको फोन आयो, वसन्तपुरको रुफ टपमा भेट्ने निर्णय भयो।
समयभन्दा केही ढिला गरी आइन्। विस्तारै कफीको तालमा कुराहरू हुन थाले। वसन्तपुरको छेउमा भएकोले तलको दृश्यहरु सजिलैसँग देख्न सकिन्थ्यो। उसको घरायसी हालखबर सोधपुछपछि विस्तारै आँखाहरु एकआपसमा जुध्न थाले। सबैको बिहे भैसकेको र अब आफ्नै पालो भन्ने आशय मुस्कुराउदैँ भनिन्।
त्यसैबीच प्रेम प्रस्ताव राखियो अनि उत्तरमा स्वीकार गर्दै अब बिहे कहिले गर्ने? पालो मेरै हो त भन्थी। कुनै अबरोध सहजै स्वीकार गर्नुले अब संसार जितेजस्तो लाग्यो। उसको अनुहार पनि चम्कन थाले। लाग्यो हामी दुईको खुसी अनि जित यही हो। प्रेममा आउने खुसीले शरीरमा उर्जा थप्छ, रातभर पढ्ने जाँगर बढाउँछ, सबै खुसीयालीमा दिन रमाइलो बन्छ।
यसैगरी सम्बन्धले एक वर्ष पार गर्यो। ऊसँग कहिले गोदावरी, ह्वाइट गुम्बा, स्वयम्भू, गार्डेन अफ ड्रिम्स, टौदह, कीर्तिपुर, नगरकोट, पोखरा, सौराहा लगायतका रोमाञ्चित कहानी थुप्रै छन्। ऊसँगको सामीप्यताले सारा दु:ख-पीडाहरु बिर्साईदिन्थेँ। उसको कोमल ओठलाई चुम्दै हातका चालहरुले आफ्नो गन्तव्य चयन गर्दा जवानीका लक्षणहरु प्रदर्शन भैरहँदा उनको आवाजमा, आँखामा एउटा छुट्टै प्यास देखिन्थ्यो, सायद स्वर्ग यही हो।
फिजिकल रिलेसनशीपको कुरा गर्दा आँखा तर्ने मान्छे आफैले प्रस्ताव राख्दा अघोषित प्रेमको तिर्खा उनमा पनि रहेछ भन्ने लाग्थ्यो। पछि-पछि जब उसमा चाह हुन्थ्यो उनले सङ्केत जनाइहाल्थिन्। यसैगरी कयौं दिनहरु, रातहरु घर बाहिर नै बित्थे। पहिलो सम्बन्धपछि नै होला, उनी मसँग अझ खुलेर कुरा गर्न थालिन्। प्रेमको माइलेज विस्तारै बढ्दै थियो, अकास्मात फोन गरिन् र भेट्न भनिन्।
उसको भेटअनुसार- 'अङ्कलमार्फत बिहेको लागि केटा हेर्न आएको रहेछ। क्यानडाको पिआर, सबै परिवार क्यानडा बसोबास गर्ने। मेरो उच्च शिक्षाको गन्तव्य पनि क्यानडा र अर्को महिना बुबा-आमा सहित कुरो अगाडि बढाउन बोलाउने भन्ने जानकारी आएसँगै मैले अहिले बिहे नगर्ने, अझै दुई वर्ष गर्दिनँ भने।'
मन थोरै हल्का भयो। अनि बीचमा थपिन्- 'म यही बस्ने हो भने बिहेको कुराहरू आउँछ बरु अब पढ्नको लागि बाहिरै जानुपर्ला। एक/दुई वर्ष सजिलै बितिहाल्छ। बरु अहिले युके अंकलसँगै जान्छु अनि एक/दुई महिना बसेर फर्केपछि हामी दुवैजना क्यानडा जानुपर्छ। यतै बस भन्नुभयो भने बस्न मन लागेन भन्दिन्छु। अङ्कल र बुवा-आमाको पनि मन राखिदिन्छु, नाई भन्नु भन्दा नि।'
भोलि उनी उड्दैछिन्। आज हाम्रो बिदाइ भेट। वसन्तपुरको त्यही क्याफे। मन भारी भैरहेको थियो, शरीरमा जोश, जाँगर त्यति थिएन। किनकि यो हाम्रो पहिलो क्षण थियो कि बिदाइ गर्नु। सदा झैँ म गएँ, कुरिरहेँ तर भेट नभई घर फर्किएँ। साँझतिर उसको फोन आयो। 'सरी ल! आज आउन सकिनँ' भन्दै रुन थाली, 'तपाईंलाई भेट्ने समयमा घरमा भेटघाट कार्यक्रम राखिएको रैछ। निस्कनै लाग्दा गेटमा भेट भयो। फेरि फर्कनु पर्यो। त्यही बिहेको प्रस्तावको लागि अनि फेरि अस्वीकार गरिदिएँ। यही बस्नुभयो। दिनभर मन दु:खी बनाउँदै बसिरहेँ।'
भोलि त उनी नेपाल छाड्दैछिन् तर आफूले संसार छाडुँलाजस्तो भैसक्यो। रुँदै भन्दै थिइन्- 'हामी फोनमा, म्यासेन्जरमा कुरा गरौँला। म छिट्टै आउँछु।' एअरपोर्टमा छुट्टिने बेलामा 'आई विल बि ब्याक सून' भन्दै आँखा पुछ्दै बिदाइको हात हल्लाइयो।
एउटा मान्छेको मायाले कति फरक पार्ने रै'छ जिउनुमा! कलेज गयो पढ्न मन लाग्दैन। भर्खरै गएकोले खबर गर्न नभ्याएको हुन सक्छ भन्दै मनलाई सम्झाएँ। करिब एक हप्तापछि उसको फेसबुक देखिएन, डियाक्टिभेट गरेजस्तो लाग्यो। फोन त गर्न सक्थी नि भन्ने लाग्यो। हप्ता हुँदै महिना बित्यो, दुई महिना पनि बित्यो तर अह! उसको खबर पाउन सकिनँ।
उसका यादहरुले नराम्ररी तड्पायो,सम्झनाले पोल्न थाल्यो। आफूलाई जिउँदो छु जस्तो पनि लाग्न छाड्यो तर श्वास चल्छ। बोली फुट्छ तर बोल्ने कोसँग? नेपाल हुँदा मेरै अङ्गालोमा कसिएर बोल्ने उनी आज कहाँ के गरेर बसेकी छिन्, उनैलाई थाहा होला। कतै त्यही केटासँग बिहे त गरिनन्?
प्रेमले मलाई दिनहुँ गलाउँदै लग्यो, जलाउँदै लग्यो। उसको ओठमा रमाउने यी ओठहरु स्पर्शको अभावले पट्पटी फुट्न थालिसकेछ। उसका शरीरमा सल्बलाउने यी हातका औंलाहरु कलम समातेर उसैसँगै बिताएका क्षण्हरुको सम्झनालाई कापीमा लेखिरहेछु।
अकास्मात मेरो देब्रे हात फेसबुक तिर दौडन खोज्छ, कर्सर विस्तारै सार्नुअघि नै दुई वर्षपछि पुन: फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएको देखेँ। यत्रो समयपछि फेरि रिक्वेस्ट तर किन?