हे मन
मलाई थाहा छ
तँ आज पनि उस्तै छस्
जस्तो हिजो थिइस्
अनुहारको मुस्कान देखेर तँलाई आकलन गर्नेहरुलाई के थाहा
तँभित्र अझै पनि गलित आभास मेटिएको छैन
लाल रक्तकोषिका भित्र छरपस्टिएका
मृत सागर भित्रको स्वाद विलीन बनेको छैन
गुलाबी ओठमा प्रेषित तेरो मुस्कानभित्र
श्वेत गुलाबको झल्को स्पष्टिएकै छ
नुनिलो समुन्द्रभित्र पौडिएको तँभित्र
जिजीविषाका तरंगहरु अझै अर्द्धमृत छन्
हे मन
मलाई थाहा छ
उज्यालो अनुहारभित्र तैरिएको तँभित्र
अझै कहालीलाग्दा ती दिनहरुको सम्झनामा मौनता चिच्याइरहेको छ
पूर्णिमामा उज्यालिएको जल जगतभित्र पनि
तेरो श्वेत मुस्कानलाई हेर्दै औँसीले गिज्याइरहेको छ
जगत झिलमिलाउने उज्यालो अनुहारभित्र
कहालीलाग्दो भोगाइ अनुभूत गरेको तँ
तँ अझै निस्सासिरहेको छस्
डराइरहेको छस्
हे मन
मलाई थाहा छ
पानी परेपछि खुलेको आकाश सरी खुले झैं देखिएको तँ
कता-कता
भाग्न चाहन्छस्
दौडन चाहन्छस्
विलीन हुन चाहन्छस्
तर
तर गुलाबै किन नहोस् काँडाको साथ,
अमृतै किन नहोस् मृत सागरको
जल स्वीकार्ने तँलाई कुनै रहर छैन।
हे मन
तँ भन् या नभन्
तर मलाई थाहा छ
माया, प्रेम अनि उदारताको अनुपम तँभित्र
उमालिएको काँचको सिंँचनले कठोर बनाइएको तँलाई
जिजीविषाका आशा तरंगित छैन
क्षमादानका महत्व ज्ञात भए पनि पुनः मुटु जोड्ने अभिलाषा छैन
तँ जति उज्यालिए झैं देखिए पनि तँभित्र कुनै जुनेली आभास छैन।