अहिले कात्तिकको महिना, त्यसमा पनि हुम्लाको साया गाउँ। मौसमले च्यालेन्ज गरिरहेको थियो लगातार विगत २४ घन्टादेखि। त्यो हिउँको चिसो अनि व्यापारको मेसोले गर्दा घरमा बुढा बाजे, बज्यै र म मात्र थियौँ। बुवाआमा नभएको दुई साता भयो। उहाँहरु रुपेडियामा सामान खरिद गरेर, व्यापार गरेर अहिले पहाडतिर लाग्नुभयो होला सायद।
उहाँहरूले घुम्ती व्यापार गर्न थालेको पनि २५ वर्ष भयो भन्दै हुनुहुन्थो। त्यसैले उहाँहरूले करिब ६ महिना हिमाली क्षेत्रमा अनि ६ महिमा घुम्ती व्यापारमा पहाड तथा तराई झर्नुहुन्थो। मेरो पनि स्कुल बिदा छ अहिले। त्यसैले बिहान आठ बजेतिर उठ्छु, खाजा खान्छु र साथीहरूसँग खेल्छु। अनि ११ बजेतिर खाना खायो, फेरि खेल्यो। यसरी बितिरहेछ मेरा दिनचर्या।
बेलाबेलामा बुवा-आमाले फोन गर्नुहुन्छ। हामीहरू रमाइलो मानेर कुरा गर्थ्यौं। त्यतिबेला लाग्छ आकाशबाट हिउँ बर्सिएझैँ अनि उहाँहरुको माया सूर्यकिरण किरण झैँ चौतर्फी फैलिरहेछ।
घरमा म एक्लै सुत्थेँ प्रायः। मेरो कोठाको झ्यालबाट पूर्णिमाको रात चन्द्रमाको किरण हिमालमा अनि हिमताल सँगैको विशाल झरनामा परेको मनमोहक दृष्य देखिन्थ्यो। यो दृष्य हेरेर निदाउन लागेको पनि करिब साढे पाँच वर्ष भयो। प्रकृतिमा रमाउन सौखिन र जिज्ञासु भएकाले चन्द्रमा, हिमाल, हिमनदी र हिमपहिरोसँग विशेष सम्बन्ध राख्थेँ। किनभने सबैले मलाई छाडे पनि यिनीहरूले कहिल्यै छोड्दैन भन्ने कुरामा अटल विश्वास थियो ममा।
एकदिन म रात्रीमा बाहिर निस्केर यो सृष्टिको विशालताको कल्पनासँगै रमाइरहेको थिएँ। म एक्कासी बिरामी पो भएछु चिसोले। त्यसपछि मलाई हस्पिटल लगिएछ। डाक्टरले सबै जाँच गरिसकेपछि मलाई न्युमोनिया भएको थाहा भयो।
आइसियूमा भर्ना गरियो र मेरो परिवारसँग सम्बन्ध बिच्छेद भयो। यता ती बुढा हजुरबा-आमाले कुरिरहेका थिए त म उता हस्पिटलमा। एकदिन पछाडिको कुरो हो 'पेमा शेर्पा लस्ट फ्रम दि आइसोलेसन बेड फर्स्ट' भन्ने खबर सूर्यको किरणझैँ चारैतिर फैलियो। त्यो खबर गन्धर्वमार्फत पेमाका बुवाआमासम्म पुग्यो।
यता एक रहस्यमय घटना भनेर देशका सबै सञ्चार माध्यममा आएको थियो भने उता तालिवानी विद्रोही चारैतिर फैलिएर आतंक मच्चाइरहेको खबर दिनानुदिन बढ्दै गइरहेको थियो। सञ्चार माध्यमले सूचना बेचे, कविले कविता लेखे, गाइनेले सारङ्गी रेटे, न्यायाधीशले न्याय बेचे, सबैले बेचे तर विडम्बना अन्यायले भने न्याय पाउन सकेन।
न्याय खोज्ने क्रममा उनीहरूका बुवाआमा बसाइ सरे तर घटनाले भने ठाउँ छोड्न सकेन र पेमाका बा सदाका लागि कालो टोपी लगाउने बाध्यतया पुगे।
'सदा झैँ सूर्य त उदायो तर सत्य भने उदाउन सकेन' भन्दै आमा चिच्याइन्। सधैँ लेकबाट बेसी झर्दाको चिच्चाहट सबैले सुने तर यो दुःखको चिच्चाहट कसैले सुनेनन्। अनि त्यो भित्तामा टाँसेको फोटोको अवतारको पर्खाइमा जीवन बिताउन बाध्य भइन्।
बुवा अहिले न्याय भेटिन्छ कि भन्दै पत्रिका बेच्न थाले, आमा अन्यायलाई जलाउन लाइटर। एकदिन बुवा पत्रिकामा म्याजिकल टाइम नामको लेख पढिरहेका थिए जसमा यस्तो लेखिएको थियो-
'एक प्रकृतिप्रेमी अनाथ बालक जसको बहादुरी संसारभर फैलिएको छ। उनको नाम हो 'सैफ इस्लाम।' पाकिस्तानको त्यो बालक प्रविधिमा अनविज्ञ छ तर ज्ञानले ऊसँग करिब चौध सय पन्ध्र वर्ष पाको छ। जब ऊ सानो थियो उसलाई आतंककारीले अपहरण गरेर लगे अनि बन्दी बनाए एउटा लाइब्रेरीमा। उसलाई निस्कन पनि दिएनन् ६ वर्षसम्म। उमेरले ऊ बाह्र वर्ष भयो। त्यसपछि उसलाई 'फिक्सन अफ ट्राभलर' नामक पुस्तक लेख्न लगाइयो।
यदि तीन महिनाभित्र पुस्तक नलेखेमा उसलाई नजिकैको समुन्द्र छेउ लगेर गोली हानी हत्या गरिने सर्त प्रस्तुत भयो। समय आउन एक दिन बाँकी थियो तर पुस्तक सकिएन। अनि सर्त बमोजिम उसलाई समुन्द्र छेउ पुर्याए र बन्दुक तेर्साए। 'तेरो अन्तिम इच्छा के छ?' भन्दा उसले निडर भएर भन्यो 'फिक्सन अफ ट्राभलर' पुस्तक लेखेर सिध्याउने भन्यो।
त्यसपछि उनीहरू छक्क परे र बन्दुकलाई पहिलाकै ठाउँमा राखे। पुन: सोही रुममा लगे यो सर्तमा कि 'किताब सकिएपछि तिम्रो चिहान यही हो।' उसले मन्जुरी पनि जनायो। किताब समयमै सकियो अनि आतङ्ककारीको नाइके 'झरफाट अब्दुलाह' को नामबाट प्रकाशित भयो म्याजिकल टाइम शीर्षकबाट। किताब संसारभरि प्रसिद्ध भयो र यसबाट उनीहरूको गिरोहलाई करिब बीस मिलियन फाइदा भयो। नतिजा स्वरूप त्यो नाइकेलाई उसको कृति स्वरूप नोबेल पुरस्कार दिइयो भने सैफलाई पुनः पहिले झैँ समुन्द्री किनारामा लगेर मृत्युदण्ड दिने पक्का भयो।
ऊ त्यो ठाउँमा उभियो पनि। जब बन्दुक कक गरियो र पड्काउन लागिएको थियो, छेउमा अर्का गिरोहको हमला भयो। त्यस ठाउँबाट ती आतङ्ककारी भागे, ऊ बच्यो र तत्काल भाग्यो। अहिले ऊ भागेको ४ वर्ष बित्यो। उसको बारेमा कुनै पनि जानकारी नाआएको सिआइएको भनाइ छ। सम्भवत ऊ हिमालयन एरियामा रहन सक्ने उनीहरूको ठम्याई छ।'
यति पढेपछि पत्रिका बन्द गर्छन्।
आखिर जीवन शब्द र भावनाको खोलो त रहेछ नि भन्दै छोराको वियोगको भावना श्रीमतीको बलेको लाइटर नजिक पुर्याएको के थियो आकाशमा चन्द्रमाले फोटो खिचेझैँ लाग्यो उसलाई।
बाहिर हिउँ सेताम्य थियो। नचिनेको आवाज आयो, 'प्लिज ओपन दि डोर!'
श्रीमतीले संकेत गदै भनिन्, 'खोल्नु न ढोकामा को रहेछ?'
ढोका खोलेर उनीहरूले सोधे, 'हु आर यू?'
उसले जवाफ दियो, 'म सैफ इस्लाम वा पेमा शेर्पा अथवा हिममानव जो अस्तित्वमा विरलै भेटिन्छ।'