रङ त कालोले नै मलाई दर्शाउथ्यो
त्यो मेरो उदेश्य बिनाको जीवन
त्यो औचित्य बिनाको चाहना
त्यो मरुभूमिको लामो रात
जहाँ चन्द्रमाको कुनै औचित्य हुँदैन
र ताराहरु पनि टिल्मिलाउन अन्कनाउछन्।
अनि मेरो त्यही जीवन जुन पहिले पूर्ण कालो थियो
कहिलेकाहीँ पूर्ण सफेद भैदिन्थ्यो
कोहरा लागेको मिर्मिरेजस्तो
जहाँ आफूलाई त थाहा हुन्थ्यो म कहाँ छु भनेर
तर केही परको पनि आभास गर्न मुस्किल पर्थ्यो।
तर
तर तिम्रो आगमनसँगै मैले खुला आकाश
जुन आफ्नो साबिक स्थानमै थियो
त्यसको अस्तित्वको भान पाएँ
त्यो निश्चल अनि अनन्तसम्म फैलिएको सागर
त्यो विज्ञानले नि पूर्ण दहन भनेको निलो ज्वाला
त्यो अक्सिजन नपाएर कलंकित भएको तन
र मुटुमा छेदन भै समय नपुग्दै जन्मिएको शिशु
यी सबैले केबल तिम्रो त्यो निलो नयनको प्रतीक दर्शाउँछ
जुन मेरो मनको गहन कक्षमा पूर्णरुपमा कुदिएको छ।
तथाकथितको पर्यायवाची बनेको मेरो जीवन
तिम्रो आगमनले तथागतको खादा पहिरियो
मेरो अस्तित्व जुन मैलिएर शून्यमा विलाप हुन पुगेको थियो
त्यसलाई तिमीले एक नयाँ जीवनदान प्रदान गर्यौ
मृत्युको टुप्पोमा पुगेको मेरो जीवन रेखालाई तिमीले पुछारमा पुर्यायौ
र
हाँसेर समय आएपछि मृत्यृलाई अङ्गाल्नु पर्छ भनेर सिकायौ
किनकि बाँच्ने पनि एउटा सीमा हुन्छ
र मृत्युभन्दा अगाडि केही हुन्न।