गुरूकुल थिएटरको नव निर्मित मौलिक घर। भित्र भव्य र मौलिक प्रेक्षालय। दिउँसै रात पार्न चारैतिरका झ्याल ढोका लगाइएको।
अझै अँध्यारो होस् भनेर पर्दा पनि कालै हालिएको। रङगकर्मीहरू रातलाई दिन र दिनलाई रात बनाउन खप्पिस हुन्छन्। नाटक शुरु भैनसकेको हुनाले हल्का उज्यालो छर्ने एउटा बत्ती बीचमा बालिएको छ।
केही बेरमैं शुरू हुँदैछ नाटक – ‘नवराज वि.क. को भ्यालेन्टाइन्स डे’।
केही खासखुसबाहेक प्रेक्षालय शून्यप्रायः छ। देब्रेपट्टि कुनाको एउटा सिटमा बसेर सुनिल पोखरेल तिलचामले दाह्री कन्याउँदै छन्। बुढाले आज नुहाउन भ्याएनन् क्यार!
प्रदर्शन हुँदै गरेको नाटकका निर्देशक पनि सुनिल नै हुन्। जसमा धेरै संघर्ष पछि पुनःनिर्माण भएको प्रेक्षालयमा पहिलो नाटक नै केही फरक, विशेष र ऐतिहासिक गर्ने भूत सवार छ। फलस्वरुप आज नाटकसँगै एक अन्तर्राष्ट्रिय कविता प्रतियोगिता पनि हुँदैछ। जसका सहभागी अर्थात नाटकका दर्शक दीर्घामा १६ जना विश्व विख्यात कवि छन्।
विशेष निमन्त्रणमा उनीहरू आएका हुन्।
सुनिलको ठीक पछाडि सेक्सपियर टल्किएको चिल्लो तालु छाम्दै छन्। अलि पर ख्याउटेद्वय जुंगावाल आन्तोन चेखव र माक्सिम गोर्की खासखुस गर्दैछन्। पल्लो हारमा दाह्री बुढा टैगोर एक्लै छन्।
त्यसको पछाडि कुमार नगरकोटी दाह्री मुसार्दै पाब्लो नेरूदालाई कुन्नी के गफ दिँदैछन्। सायद कल्प ग्रन्थको प्रचार गर्दैछन्।
अलि पर भोगटेकट कपाल काटेकी मोटी टोनी मोरिसर कुनै पुस्तक पल्टाउँदै छिन्। पल्लो कुनाबाट विन्स्टन चर्चिल टोनीलाई एकोहोरो हेरिरहेछन्। वुढाले सायद लाइन मार्दैछन् ! यता पछिल्लो हारमा ख्याउटे देवकोटा र जूँगामुठे लु सुनको दोस्ती खुब जमेको छ।
अलिक अगाडि यासुनरी कावावाता आँखा चिम्रा पारेर शान्त बसिरहेछन्। सँगै ज्याँ पाल सात्र अर्नेष्ट हेमिङवेलाई पूरै मुडमा गफ दिँदैछन्। सायद अहिले पनि ‘नोवेल पुरस्कार कुहिएको आलु हो। त्यसैले मैले बहिस्कार गरेको’ भन्दै होलान्।
एक छेउमा लियो टल्सटाय खल्तीको काइयो झिकेर दाह्री कोर्दैछन्। कपाल त भए पो कोर्नू!
राजर्सी ठाँटमा सजिएका दाह्री कपाल सेतै फुलेका भिक्टर ह्युगो हातको डायरीले अनुहारमा हम्किँदैछन्।
यो फरक विश्व कवि सम्मेलन र प्रतियोगिताले गुररुकुलको थियटर जाज्वल्यामान छ।
सबैजना नाटकको प्रतिक्षामा छन्। सबैको हातमा एक एक वटा डायरी र कलम छन्।
‘ड्याङ्ग’ दमाहा बज्छ।
सुनिल उठेर रुद्राक्षको माला सम्हाल्दै मञ्चमा जान्छन्। प्रकाशको पर्दा खस्छ अर्थात स्पष्ट लाइट बल्छ। माइक छैन, त्यत्तिकै पनि सुनिन्छ।
‘नमस्कार’, सुनिल पोखरेल थियटर शैलीमा बोल्न शुरू गर्छन्, ‘यो नाटक नेपालको मात्र हैन सिंगो संसारकै प्रेम र त्यागको एक नमूना हो। यसका पात्रहरु सबै वास्तविक हुन्। कतै कतै काल्पनिक जस्तो लाग्न गएमा त्यो संयोग मात्रै हुनेछ। प्रेक्षालयका केही मौलिक नियमहरु छन्। नाटक हुदै गर्दा बोल्न, खोक्न, हाच्छ्युँ गर्न पाइने छैन। जे जे भन्नु या गर्नु छ, नाटक सकिए पछि गर्नुपर्नेछ। सकिए पछि पाँच मिनेट शून्य समय रहनेछ। त्यो अवधि भित्र हामीले प्रदान गरेको डायरीमा सबैले नाटकमा आधारित रहेर एक एक वटा कविता लेख्नुपर्नेछ। कविता संकलन गरी केही बेरमा नतिजा प्रकाशन गरिनेछ।
निर्णायक कोही पनि तोकिएको छैन। किनकि, आजकल निर्णायकहरु त्यत्ति भर लाग्दा छैनन्। त्यसैले हामी आफैं आपसमा छलफल गरेर नतिजा निकाल्नेछौ। प्रतियोगितामा सामेल कविताका कविहरु मध्ये एक उत्कृष्ट कविताका रचनाकारलाई एक ऐतिहासिक पुरस्कारका लागि ईश्वरको दरवारमा सिफारिस गरिनेछ। पुरस्कार हो – उसले अर्को जूनीमा नेपालका प्रेम शहीद नवराज वि.क. की आमा उर्मीलाको कोखमा उनको सन्तान भएर जन्मने सौभाग्य पाउनेछ। र उसलाई वास्तविक प्रेमको नयाँ इतिहास रच्ने सुवर्ण अवस मिल्नेछ। नाटकको अवधि जम्मा २१ मिनेट रहनेछ। नाटक राम्रो लागे कवितामा लेखिदिनु होला, नराम्रो लागे पनि कवितामै लेखिदिनु होला। धन्यवाद।’
पर्दा खस्छ अर्थात स्पट लाइट निभ्छ। गएर अघिकै ठाउँमा बस्छन्।
हलको पछाडिको भागमा अलिक माथिपट्टि बनाइएको फलैँचामा रहेका बाद्यवादकहरु तवला, बाँसुरी, गिटार र हार्मोनियम एकै साथ बजाउन थाल्छन्। प्रेक्षालय सुमधर संगीतले गुञ्जयमान हुन्छ। विस्तारै पँहेलो बत्ती बल्छ। एक कुनाबाट मञ्चमा सेतो लठ्ठीले छाम्दै सेतै फुलेका दृष्टिबिहिन पादरी सेन्ट भ्यालेन्टाइन् आउँछन्। करिब बीच भागमा आइपुगेपछि रोकिन्छन् र आकाश तिर मुन्टो फर्काउँदै एकछिन् टोलाउँछन् अनि बोल्न थाल्छन्।
‘जय होस्, निरंकुश सम्राट क्लोडियस द्धितीयको जय होस्! यदि उनले मृत्युदण्ड नदिएको भए आज सारा संसारले मलाई कसरी सम्झिन्थ्यो? मेरो सिद्धान्त हो – अनुशासित प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। यो कुरा आज संसारभरिका प्रेमीहरुको समान आदर्श बनेको छ। म दङ्ग छु कि, मेरो भनाई आज संसारको आदर्श बनेको छ। मलाई मृत्युदण्ड दिनुअघि थुनेको जेलका जेलर, जसलाई म झन धेरै सम्मान गर्छु। जसले त्यति सुन्दर छोरी जूलियालाई नजन्माएका भए मैले कोसँग प्रेम गर्थेँ ? बिचरी जन्मिदै दृष्टिबिहिन थिई। तर भएर के भो त ? मैले आफ्ना आँखा दिएँ। ज्यूदै छँदा ज्ञानको आँखा दिएँ। मरेपछि मृत्युलोकमा भौतिक शरीरकै आँखा दिएँ। भाग्यमानी म! आफ्नो आँखाले आफ्नै शरीरमा बसेर संसार हेर्ने! म क्या भाग्यमानी.....संसारकै सर्वाधिक भायमानी....’
अट्टहास गर्दै वरिपरि घुम्न थाल्छन्। केहीबेर त्यो क्रम निरन्तर चलिरहन्छ। गिटार र तबला ठूलो ठूलो स्वरले बज्न थाल्छन्।
समय धेरै वितेछ क्यार, सुनिल पोखरेल चिच्याउँछन्, ‘जूली!’
भ्यालेन्टाइन आएकै ढोकाबाट जूलिया बिस्तारै आउँछिन्। सिधै आएर भ्यालेन्टाइनलाई अंगालो मार्दै बोल्न थाल्छिन्, ‘मेरो प्यारो भ्यालेन्टाइन! तिमी नभएको भए मैले पनि त संसार के हो, प्रेम के हो केही पनि देख्न पाउदैनथेँ। त्यसैले मेरो भगवान नै तिमी हौ। तर प्रेमको लागि तिमीले एउटा झुठ पनि बोल्यौ हगि?’
‘के झुठ जूली ?’
‘तिमीले भेटेर बुवालाई’ जूलिया भ्यालेन्टाइनको छातीमा सुस्तरी टाउको राख्दै भन्छिन्, ‘म तपाईँकी छोरीलाई देख्न सक्ने बनाउँछु भनेर ढाँट्यौ। दृष्टिविहिन छोरीको अवस्था देखेर चिन्तामा डुबेका मेरा बुबाले पत्याउनु पनि भयो। मैले पनि पत्याएँ। तर पछि मात्रै थाहा भयो कि, त्यो त तिमीले मसँग नजिक हुने बहाना रचेका रहेछौ।’
भ्यालेन्टाइन जूलियाका सुनौला केश मुर्सार्दै हाँसिराख्छन्।
‘तर दुःख छैन’, जूलिया थप्दै जान्छिन्, ‘साँचो प्रेममा झुठ पनि जायज हुन्छ भन्ने कुरा तिमीले प्रमाणित गर्यौं। यदि तिमीले त्यो झुठ नबोलेको भए मैले यो संसार हेर्न कहाँ पाउथे र? यो संसार, यो जिन्दगी, यो स्पर्श यति मीठो छ भन्ने कुरा प्रेम नगर्ने मान्छेले कहाँ बुझ्न सक्छ प्रिय!’
‘त्यसैले त मैले’, भ्यालेन्टाइन शुरू गर्छन्, ‘सम्राटको आदेश विपरीत पनि प्रेम र विवाहलाई अनुमती दिएर त्यसरी हजारौ जोडीको सामुहिक विवाह समेत गरिदिएको नि! सायद तिनैको आशिवार्दले होला, मैले यत्ति सुन्दर प्रेयसी पाएको। तिमी र तिम्रो प्रेमको अगाडि मैले पाएको त्यो मृत्युदण्ड निकै क्षीण कुरा हो प्रिय।’
दुवै जना निःशब्द अंगालोमा बाँधिन्छन्।
माथिबाट बाँसुरीको प्रेमिल धून बज्न थाल्छ। बत्ती पनि हल्का गुलाबी बलेर वातावरण अर्कै बनाइदिन्छ। दर्शकहरु सबै नतमस्तक छन्।
केही बेर यो क्रम पनि निरन्तर चलिरहन्छ। दर्शकहरु मन्त्रमुग्ध हुन्छन्।
सुनिल पोखरेल पुनः चिच्याउँछन्, ‘नबु!’
प्रेक्षालयको अर्को ढोकाबाट प्रवेश गर्छन् – नवराज वि. क.।
शिरमा ढाका टोपी। आङमा छिर्केमिर्के सर्ट र खैरो रङको केही मैलो वेस्टकोट। नीलो पाइन्ट। गोल्डस्टार जुत्ता। पछाडि कफि रङको व्याग भिरेको, व्यागको माथि नेपालको झण्डा। झुस्स दाह्री। सधै हँसिलो चेहेरा आज मलिन छ। बिस्तारै आएर दर्शक दीर्घामा हेर्छन् अनि जुलिया र भ्यालेन्टाइन भएतिर जान्छन्। सायद बोल्ने जाँगर छैन या शब्दहरु छैनन्।
‘नवराज’, हल्का रिसाएका भ्यालेनटाइन शुरू गर्छन्, ‘मैले तिमीलाई भनेको हैन यस्तो रुन्चे अनुहार कहिल्यै नलगाउ भनेर? आज किन फेरि त्यस्तै अनुहार लगाएको? किन मलाई फेरि दुःखी बनाएको?’
‘हेरन’, केही रिसाएको भावमा नवराज उत्तर दिन्छन्, ‘आफू चाहीँ प्रेमिकालाई ग्वाम्म अंगालो मारेर बसेका छन्। अर्कालाई चाहि विछोडका पीडामा पनि सधै हाँसिराख्नु रे! गफाडी बुढा।’
भ्यालेन्टाइन अंगालो मार्न छाड्छन्। नवराज निरन्तर गर्छन्, ‘हैन आँखा नभए पनि मेरो अनुहार कस्तो छ भनेर जहिले पनि कसरी थाहा पाउँछन् यी बुढा?’
‘यो प्रेमको भाषा हो बाबु’, भ्यालेन्टाइन हाँस्दै बोल्छन्, ‘म मेरी जूलियाको आँखाले हेर्दैछु। किनकि मेरो प्रेम जूलिया हुन्। उनीसँग भएका सम्पूर्ण अंग र आभाष मेरा हुन्। त्यसैले त म हिमालमा पनि न्यानोपना आभाष गर्न सक्छु। मरूभूमीको चर्को घाममा पनि शितल आभाष गर्न सक्छु। म संसारका सबै दृष्य देख्न सक्छु र ती सबैलाई अनुभव गर्न सक्छु, जून अरुले सक्दैनन्। तिमी त अब मेरो सहयात्री हौ। तिमीले पनि सक्छौ यी सब कुराहरू। मात्र सम्हालिनु पर्छ। धैर्य गर्नुपर्छ। मेरो पनि त मृत्यु भएको २ सय ३० वर्ष पछि यो प्रेम र बलिदानीको कदर हुन् थालेको हो। बीचमा गुमनाम त थिएँ।’
‘भ्यालेन्टाइन’, नवराज अब साच्चैँ भावुक बन्छन्, ‘तिम्रो पालामा तिमीले गरेको त्याग ठूलो थियो, त्यसमा कुनै शंका छैन। त्यसैको अनुसरण गर्दै ‘तिमिलाई माया गर्ने उही तिम्रो भ्यालन्टाइन’ लेखे जस्तै प्रेमिकालाई पत्र या म्यासेज लेख्दा म पनि ‘तिमिलाई माया गर्ने उही तिम्रो नबु’ लेख्थेँ। तर नि मित्र, तिमी र मैले भोगेको पीडाको आकार उत्रै होला तर रङ फरक छ। तिमी त एक पादरी थियौं, उमेरले पाको। परिवारको पनि खासै चिन्ता थिएन। तर म त मेरो परिवार, म सँगै ज्यानको बली दिने साथीहरु र उनीहरुको परिवार आदिको पीडाले बढि छट्पटाउँछु।
मेरा आँखाबाट आसुभन्दा बढी आजको युगमा पनि छुवाछुत र जातीय भेदभावको शिकार हुनु पर्दाको वेदना बग्नेगर्छ। मृत्युपछि पनि हाम्रो लाशमाथि गरिएको घृणित राजनीतिले यो छाति भतभती पोल्नेगर्छ। भेरी किनारको त्यो बालुवामा हामीसँगै हाम्रा अग्रजले त्यहीँ जाजरकोट समेतमा रगत बगाएर ल्याएको लोकतन्त्रको पनि हत्या भएको छ।
प्रहरी बन्ने मेरो सपना, जसमा मेरा मातापिताको खुसी जोडिएको थियो, त्यो मेरो लास सँगै भेरीमा बग्यो साथी! लिखित परीक्षामा त म पास नै भैसकेको थिएँ। गएर चाखी हेर त, भेरीको पानी सायद नुनिलो होला किनकी हाम्री आमाको आँसु त्यति धेरै मिसिएको छ त्यो भेरिमा।’
प्रेक्षालय पूरै सुनसान छ। कोही कोही भावुक भएर आँसु पुछ्दै छन्। भ्यालेन्टाइन् र जूलिया पनि भावविह्वल बनेका छन्।
‘अझै पनि’, नवराज निरन्तर गर्छन्, ‘म प्रमाणित अर्थात सर्वस्वीकार्य प्रेम शहीद बन्न सकेको छैन। हो, यहीँ र यिनै अव्यक्त पीडाले म रात दिन छट्पटाउँछु। त्यो गाउँ, त्यो परिवार, मेरो लागि स्वर्गीय भएका साथी र उनीहरुका परिवार, रातमा निरीह बनेर हामी भाग्दै गरेको त्यो जंगल, हामीले बग्दै गर्दा मृत्यु भोगेको भेरी, त्यसपछिका घिनलाग्दा राजनीति सबैको स्मरणले पलपल चिथोर्ने गर्छ मलाई।’
बसेर डाँको छोडेर रून थाल्छन्। केहीबेर पछि भ्यालेन्टाइन गएर सम्झाउँदै उठाउँछन्। जूलिया पनि अंगालो हाल्दै सम्झाउँछिन्। उनीहरु पनि संगसँगै रून्छन्।
‘बुझ्यौ भ्यालेन्टाइन’, नवराज सम्हालिदै भन्छन्, ‘अबदेखि तिम्रो दिवस भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस म फरक तरिकाले मनाउँछु। हुनत संसारका प्रेम जोडी त्यो दिवस एक अर्कासँग प्रेम गरेर मनाउँछन्, प्रेम प्रस्ताव राखेर मनाउँछन् तर म त्यसरी हैन मलाई मृत्युको मुखमा पुर्याउने र मेरो कथित जात अनि लासमाथि राजनीति गर्नेहरुलाई धिक्कार्दै मनाउँछु। त्यो दिन तिनको नाममा सोती र कोइरीमा एक कालो सन्देश पठाउँछु। ताकी, पश्चातापको आगोले ती क्रुर पिपाशु बाँचुञ्जेल हरेक निमेषमा जल्ने गरून्।
अब म नयाँ पुस्ताका लागि भ्यालेन्टाइस डेको परिभाषा नै बदल्छु। जसमा प्रेममा समर्पित भएकाका कथा समेटिने छन्। अनि प्रेममा सन्तान बलिदान दिएका बुबा आमाले थोरै भए पनि सान्त्वना महसुस गर्नेछन्। अर्को कुरा, त्यो दिवस मनाउन तिमी मारिएको दिन १४ फेव्रुअरी या म मारिएको दिन १० जेठ पर्खनुपर्ने छैन। वर्षका ३ सय ६५ दिनमा कुनै पनि दिन यो दिवस मनाउन सकिनेछ।’
तिनै जना अंगालो मार्छन् र केहीबेर त्यत्तिकै बस्छन्। दर्शक दीर्घाबाट तालीको फोहोरा छुट्छ। संगीतका सबै साधन एकै चोटी बजेर माहोल थप भावुक बनाउँछन्।
बत्ति क्रमश मधुरो हुँदै विस्तारै निभ्छ।
सुनिल पोखरेल मञ्चमा जान्छन्। कलाकार र दर्शकलाई धन्यवाद दिँदै अब कविता प्रतियोगिता सुरु भएको घोषणा गर्दै पुनः दर्शक तिर फर्कन्छन्। स्पष्ट देखिन्छ, रोएछन्।
पाँच मिनेट मौनता छाउँछ। त्यसपछि सबैको कविता संकलन गर्ने क्रम सुरु हुन्छ। गुरूकुलका अन्य सहकर्मीहरु सघाउँदै छन्। सुनिल पोखरेलले कविता हेर्न खोज्छन्। अचम्म, सम्पूर्ण डायरी खाली छन्। निर्णायक पनि छक्क पर्छन्। अनि सोधिन्छ – यसको कारण।
‘यसको खास कारण भने’, सबैको तर्फबाट बोल्न प्रस्ताव गरिएका देवकोटा बीच बीचमा खोक्दै बोल्न थाल्छन्, ‘भ्यालेनटाइन र जूलियालाई साक्षी राखेर नवराजको आत्माले बताएको प्रेम र बलिदानीको यो कथाको बारेमा कविता लेख्ने शब्दहरु हामीले संसारका कुनै पनि शब्दकोषमा भेटेनौं। त्यो प्रेम यति चोखो छ, त्यो पिडा यति गहिरो छ, ती सोती, कोइरी र भेरी यति पवित्र छन्, त्यो भेदभाव र प्रहार यति घृणित छ, तिनलाई न्याय गरेर व्यक्त गर्न स्वयं नवराज र नवराजबाहेक अरू कसैले सक्दैनन्।
त्यसैले हामी सबै जना चाहान्छौ, आजको यो प्रतियोगिताका बिजेता नवराज नै बनुन्। किनकि, उनको मुखबाट निस्केको पीडाका ती पंक्ती नै संसारकै सबैभन्दा सुन्दर कविता थिए। उर्मिलाको कोखमा अर्को जन्ममा फेरि उनैले जन्मिन पाउन् र यो जूनीका अधुरा सपना पूरा गर्दै मातापिताको आँसु पुछ्न पाउन्।
आमाले पनि उनैलाई छोराको रुपमा पाएर कपाल सुमसुम्याउँदै हरेक साँझ अँगेनाको डिलमा बसेर प्रेम गीत सुन्न र सुनाउँन पाउन् अनि भ्यालेन्टाइन डे पनि नवराजकै शैली र चाहानाको क्रान्तिकारी, परिर्वतनकारी मनाउन थालियोस्। जसको कारण भ्यालेनटाइन र जूलियाको प्रेम र समर्पणले पनि नयाँ रूप पाओस्। कि कसो सुनिल?’
पुनः सबै जना ताली बजाउँछन्। नाटकका पात्रहरु भ्यालेनटाइन, जूलिया, नवराज सबैलाई बोलाइन्छ। दर्शक दीर्घाका पनि सबैजना मञ्चमै जम्मा हुन्छन् र एक अर्का संग अंकमाल गर्छन्। पीडाकैबीच पनि नाटक गहन निष्कर्षसहित सफल भएकोमा सुनिल पोखरेल दङ्ग छन्।
विजेताको रुपमा नवराजलाई सयपत्रीको सक्कली माला लगाइन्छ।
‘मलाई माफ गर्नुहोस् आमा’ नवराज आकास तिर फर्केर आँखामा टिलपिलाएको आँसु लुकाउँने प्रयास गर्दै बर्बराउँछन्, ‘सन्तान भएर पनि वियोगमा तिमीले बगाएको आँसु पुछ्न सकिनँ। तर अर्को जूनीमा अवश्य पुछ्नेछु। प्रेमको यो अधुरो यात्रा पूरा गर्नेछु। त्यसबेला भेरीमा अहिले जस्तो मृत्युको कर्कश हैन प्रेमको सुमधुर आवाज गुन्जिनेछ अनि बग्नेछ निरन्तर – न्याय र समानाताको इतिहास।’