लक्ष्य ठूलो सपना बाबाको, लड्नु यही माटोमा
जहाँ गए नि नभुल्नू देश, केही गर्नू यही माटोमा
छाडेर गाउँ, आमाको काख, नाईरीको छलछल
बरहाको छाया, देशको माया, त्यो मन निश्चल
समुन्द्रपारि परदेशको ठाउँ, बिरानो माहोल,
मानिसको भिड-फिक्का यो जिन्दगी, अभाव ममताको अनमोल
पैसा कमाउनु, बाबालाई हसाउनु, फेरि फर्कनु यही माटोमा
लक्ष्य ठूलो, नभुली देश, केही गर्नु यही माटोमा
सन्देश आउँछ देशबाट, छिट्टै आऊ फर्की रे
बाबालाई तिम्रो खाँचो छ यहाँ, चाँडै आऊ फर्की रे
लेखान्त त्यो लेखिसकेको, मेटेर मेटिन्न
यो रङ्गमन्चमा रचेको कुरा, रोकेर रोकिन्न
रहेनन् बाबा, त्यागेछन् ज्योति उनले यो जीवनको
द्वार खुला उनका लागि सदैव स्वर्गको
माटोमा फर्कन्छ यो कान्छो फेरि, तर बाबाको सपना अधुरै
आँसुका धारा बगेर जान्छन्, ती लक्ष्य अधुरै
रहिनै रह्यो मनको रहर, मनको मनमै
थामी नै रह्यो त्यो सारा चाह, मनको मनमै
जिन्दगी यस्तै चलिनै रहन्छ
नमान्नू हार तिमी
जुधिनै रहनू चुनौतीसँग
नमान्नू हार तिमी।
बाबाका सपना शीर उपर राखी केही गर्नु यही माटोमा
देशमा सुलभ बिगुल छरी, जिउनु यही माटोमा अनि मर्नु यही माटोमा।