संघीय राजधानीदेखि कर्णालीको राजधानीसम्मको लामो यात्रा त्यसैमा पनि मुख्य चाडबाडको बेला टिकट पाउन मुस्किलै हुन्छ। त्यसैले घर जानको लागि आज साँझको टिकट हिजो नै चाँजोपाजो मिलाएको थिएँ। काठमाडौँबाट सधैंजसो दसैंको बेला घर जान्थेँ तर एसपटक दसैंमा पनि घर नगई एकैचोटि तिहारमा घर जाँदै थिएँ।
करिब वर्षदिन पछिको यात्रा झोला झाम्टा अलिअलि भइहाल्छ, सामानहरु मिलाउनै पर्यो। टिकट साँझ ५ बजेको थियो। सामान मिलाउँदा हल्का थकित र घर जान पाउँदा उत्साहित पनि थिएँ नै, घडीमा दिउँसोको १ बजेको थियो। एकैछिन आराम गर्नुपर्यो भनेर ओछ्यानमा पल्टिएँ।
केहीबेरमै बसपार्क जान कोठाबाट निस्केर गाडी चडिहालेँ। बसपार्क पुग्दा मैले टिकट काटेको गाडी छुट्ने तरखरमा थियो। बाहिरबाट हेर्दा गाडी भरीभराउ देखिन्थ्यो, बस छुट्ने तरखरमा भएर होला सबैजना गाडीमा बसेका थिएँ। म पनि बसभित्र चढेँ, आफ्नो टिकट हेरेँ। सिट नम्बर एकिन गरेर दुई पाइला पछाडि लम्केँ।
मेरो सिट झ्यालतर्फको ४ नम्बर थियो। यसो आफ्नो सिटतर्फ हेरेँ, झ्यालतर्फ रुपले बलेकी, आँखामा हल्का गाजल लाएकी, निधारमा चिटिक्क टिकी टल्काएकी, सिल्की केश अगाडि ढल्काएकी, गुलाबी भेषमा सजिएकी उन्नाइस/बीस वर्षे युवती थिइन्। यसो हेरेँ आँखा जुधिहाल्यो। उनको नशालु नजरबाट फिदा भइहालेँ म।
उनी हल्का मुस्कानसहित लजाएर नजर मोडिन्। म भने उनलाई देखेर मात्र स्तब्ध भएँ। मैले नजिकै पुगेर प्रश्न गरेँ 'हजुरको सिट यही हो?' उनले मुस्कुराउँदै लजालु पारामा 'उम् छेउतिर हो, म झ्यालतिर बस्छु है' भनिन्। मैले पनि उनको सहजता र खुसीको लागि सहजै स्वीकार गरिदिएँ। विस्तारै गाडी बसपार्कबाट बाहिरतिर मोडियो।
रातभरको यात्रा सँगै परेकीसँग परिचय गरौँ भनेर सामान्य परिचय नि गरियो। उनी छिमेकी जिल्ला दैलेखकी रहिछन्। +२ सुर्खेतबाट गरेर बिबिए काठमाडौँमा दाइसँगै बसेर पढ्दै रहिछन्। मैले पनि आफ्नो परिचय बेलिविस्तारका साथ दिएँ। यसबाट उनले अझै कम्फर्ट महसुस गरिन्। परिचयपछि उनले भावनात्मक रुपमा नजिकिँदै मसँग नजिकिदैँ गइन्। मलाई पनि ढुङ्गा खोज्दा देउता मिलेझैँ भयो।
'मभन्दा कान्छी रहिछौँ, म तिमी भनेरै सम्बोधन गर्छु ल' भन्ने प्रस्तावलाई उनले पनि सहजै इसाराले मुन्टो हल्लाइन्। त्यत्तिकैमा उनको फोनको घन्टी बज्यो। त्यो फोनकल उनको बुवाको रहेछ। उनले थानकोट आइसकेको जानकारी गराइसकेपछि उनको बुवाले 'सँगैको सिटमा को छ?' भनी प्रश्न गरेको मैले पनि सानो आवाजमा भए पनि सुनेँ। उनले 'एकजना दाइ हुनुहुन्छ' भनी जवाफ दिइन्।
उनका बुवाले 'अप्ठ्यारो होला, गाडीवालालाई भनेर कुनै महिलासँग बस्न आग्रह गर्न' भन्नुभयो तर उनले 'मेरो साथीको दाइ हुनुहुँदो रहेछ, कुनै पिर नगर्नुस्' भनिन्। 'ल राम्ररी आउनू है त त्यसो भए' भनी बुवाले फोन राख्नुभयो।
उनीसँगै थुप्रै कुराहरु भए राजनीतिको रोगदेखि केपी बाको जोकसम्म, राष्ट्र बैंकको जबदेखि स्कुलको लभसम्म, टिकटकको लतदेखि सेयरबजारको हदसम्म, ट्रेन्डिङका न्युजदेखि भिडिओका भ्युजसम्म, उनको रुपदेखि धादिङबेसीको सुपसम्म। ज्ञानगुन, विज्ञान, प्रविधि, संस्कार, संस्कृति, आधुनिकता, समसामयिक परिवेशमा छलफल तर्क-वितर्क रमाइलो ख्यालठट्टा खुबै गरियो।
हेर्दा सोझी देखिए पनि गफगाफमा हँसाउन पिएचडी नै गरेकी जस्तै थिई ऊ। आफूलाई नि त्यस्तै मनपर्ने फेरि। थानकोटदेखि चितवनसम्मको मोड, कहिले बायाँ त कहिले दायाँ मोड, कहिले यता हल्लाउनी कहिले उता, कहिले उनको काँध मेरो सिरानी हुन्थ्यो कहिले मेरो काँध उनको सिरानी हुन्थ्यो। हाम्रा बैँसालु गफ वेग्र रुपमा चलिरहेकै हुन्थेँ। गफ गर्दा-गर्दा नारायणगढ काटिएको पत्तै भएन। यताउता हेर्दा सबै मस्त निन्द्रामा देखिन्थे, हामी गुनगुन गरी गफमै।
चिसो मौसम सुरु हुने बेला भएकाले हल्का जाडो थियो गाडीमा। उनले कान छोप्न आग्रह गरिन्, लापरवाही गर्नु हुँदैन भन्दै। चिसो हुन्छ भनेर मेरो ज्याकेटको टोपी समेत लगाइदिइन् उनी आफैले। फेरि झोलाबाट एउटा रातो पछ्यौरी निकालिन् अनि मलाई समेत गुम्म पारेर ओडाइन्। यति छोटो चिनजान र गफगाफमै यति धेरै निसंकोच भई मेरो ख्याल राखेको देख्दा मैले मनमनै सोचेँ, यिनीलाई मेरै लागि भगवानले बनाइदिएका हुन्।
उनलाई निन्द्रा लागेछ सजिलो गरी काँधमै पल्टिन आग्रह गरेँ तर हजुरलाई गाह्रो हुन्छ भनिन् र मानिनन्। त्यसपछि मैले गाह्रो भएमा उठाइहाल्छु नि भनेर आफै मेरो काँधमा सुताएँ। अनि राम्ररी कपडाले नछोपिएको शरीर छोपिदिएँ। उनी पनि निर्धक्क भएर मस्तसँग पल्टिइन् र एकैछिनमा निदाइहालिन्।
केहि घण्टापछि यसो घडी हेरेको रातिको दुई बजेको थियो। उनी ब्युझिइँन। र भनिन् 'म अहिलेसम्म मस्त सुतेँ हजुरलाई गाह्रो भयो होला, अब म हजुरलाई सुताउँछु' भनी काँधमा पल्टन आग्रह गरिन्। 'ठिकै छ अहिले त' भनेँ मैले तर मेरै लागि धेरै कर गरेपछि म मान्न बाध्य भएँ। उनले मेरो सुखको लागि र मैले उनको खुसीको साथसाथै आफ्नै आनन्दको लागि अन्तिममा म पनि मस्त पल्टिएँ।
उनको न्यानो त्यो काँध अनि त्यसैमा त्यो कोमल हातले बेलाबेलामा मेरो अनुहारमा मुसार्दै स्पर्श गरिरहन्थिन् जसले मन नै पुलकित आनन्द दिइरहेको थियो। त्यत्तिकैमा म झसंग ब्युझिएँ। ओछ्यानबाट उठेर यसो घडी हेरेको साढे चार बजिसकेको रहेछ। हतार-हतारमा लुगा लगाएँ र आफ्ना झिटी झाम्टा बोकेर गाडी भेट्टाउन नेपाल यातायात चढी बसपार्कतिर हानिएँ।