शनिबारको दिन अबेरसम्म सुतिएछ। उठ्न खोजेँ। टाउकोमा गोवर्धन पर्वतले थिचेजस्तो भयो। उल्टी आउलाजस्तो भयो, रोटेपिङमा घुमेजस्तो लाग्न थाल्यो।
ब्ल्यांकेटमाथि सिरक खापेर गुटुमुटु परिराखेकी थिएँ। तै पनि शरीर कामिरह्यो। बिहान सबेरै उठ्ने मान्छे म। साइँसुइँ केही नपाएपछि 'नानी' भन्दै भाउजू हतार–हतार मेरो कोठामा पस्नुभयो।
'नानी हजुर त आगाको भुङ्ग्रोजस्तै तात्नुभाछ' टाउको सुम्सुम्याउँदै भाउजूले भन्नुभयो। भाउजूले मलाई क्लिनिकमा लैजानुभयो। भाइरल ज्वरो रहेछ। औषधिको बिल आयो झण्डै तीन हजारको।
भाउजूसँग दुई हजार मात्र रहेछ। व्यवहारको निकै सफा, स्पष्ट बोल्ने, अन्याय पनि नगर्ने, सहन पनि फिटिक्कै नसक्ने। भाउजूको बानी मलाई अलि छुच्ची नै लाग्थ्यो। औषधिको मूल्यमा चित्त बुझेनछ क्यार, मोबाइलको क्याल्कुलेटरमा भाउ जोड्न थाल्नुभयो।
'मूल्य डबल लगाउनुभएछ, फेरि जोड्नु त सर!' भाउजूले निधार खुम्च्याउँदै भन्नुभयो।
औषधि पसले रिसले आगो भए।
'औषधि अन्तै किन्नुस्,' उनले भाउजूको हातको औषधि खोसेर टेबुलमा फ्याँके।
भाउजू बोल्न तम्सिँदै हुनुहुन्थ्यो, मैले तानेँ। औषधि अन्तैबाट लिएर घर आयौं।
'भाउजू हजुरसँग ती सर कति रिसाए। खुरुक्क पैसा दिएको भए पनि हुने। हजुर जहाँ गए पनि झगडै गर्नुहुन्छ। सबैले कति फरक ढंगले हेर्छन् हजुरलाई।'
भाउजूले फनक्क फर्केर मतिर हेर्नुभयो।
'हो यही सहने बानीले त हो नि दुःख पाउने। गल्ती मेरो कि ती व्यापारीको? रिसाउनुपर्ने त म हो नि! उल्टै ऊ रिसायो। म्याक्सिमम् रिटेल प्राइसको पनि डबल दर लगाएको थियो। औषधि जस्तो कुरा जसरी पनि किन्छन् भन्ठानेर त होला नि मनपरी मूल्य असुल्ने। अनि हामी केही नबोल्ने? हजुरलाई ज्वरोको औषधि छिटो दिनु थियो, त्यसैले नबोली हिँडेँ। नत्र उसको पसिना कडाउँथे मैले आज।'
कडक बोली थियो भाउजूको। तर त्यो बोलीमा मलाई गर्ने माया अनि ख्याल झल्केको महसुस गर्थेँ मैले। ढोंगीहरूका लागि फिड्किरीजस्ती तर सोझासाझीका लागि मिश्रीजस्तै थिइन् मेरी भाउजू।
मेरो बुवा कानुनको शिक्षक, निकै पारदर्शी हुनुहुन्छ। यसैले होला भाउजूसँग उहाँको निकै कुरा मिल्थ्यो। आमाले बुहारी मत्याउने संज्ञा दिनुभएको थियो बुवालाई। जहाँ गएपछि भाउजूसँगै हुँदा मलाई निकै सुरक्षित ठान्नुहुन्थ्यो बुवाले।
एसएलसी. सकिएपछि प्लस-टु भर्ना गर्न भाउजूले कलेज लानुभयो। इन्ट्रान्समा मेरो नाम निस्केन। मेरिट लिस्टमा मेरोभन्दा कम प्राप्तांक ल्याएको विद्यार्थीले छात्रवृत्ति पाएको कुरा भाउजूले कताबाट सुइँको पाउनुभएछ कुन्नि ?
मलाई कलेज लिएर जानुभयो। प्रिन्सिपलको अफिसमा गएर मेरो उत्तरपुस्तिका माग्नुभयो। प्रिन्सिपल अक्क न बक्क भए। मलाई औधि डर लाग्यो। भाउजूको बोल्ने तरिका पनि निकै रुखो थियो। म भाउजूलाई कोट्याउँदै सासले भन्दै थिएँ 'भाउजू छाडिदिनु के। मेरो अंक नै कम भएपछि कहाँबाट छात्रवृत्ति पाउँछु त नि मैले? परीक्षा जस्तो कुरामा त्यस्तो पनि कसैले गर्ला र?'
भाउजूले मेरो आग्रहलाई चासो दिनुभएन। उत्तरपुस्तिका देखाउन प्रिन्सिपलसँग निकै जोडदार माग गरेपछि उनले भने, 'गल्ती नै भएको रहेछ कि के रहेछ, म एकचोटि अध्ययन गरेर हजुरलाई खबर गर्छु।'
अर्को दिन कलेजबाट फोन आयो।
'रिजल्ट मिलाउँदा तल माथि भएको रहेछ। हामी फेरि सच्चाउँछौं। गल्ती त भइहाल्छ नि। सुध्रिने मौका दिनुभएकोमा धन्यवाद,' प्रिन्सिपलले माफी माग्दै फोन राखे।
म खुसी भएँ। त्यसको भोलिपल्टबाट म सरासर कलेज जान थालेँ।
एकदिनको कुरा हो। घरमा चिया पिउँदै थियौं। बुवालाई भाउजूले पकाएको चिया गज्जब लाग्ने। जस्तो चट्के व्यवहार, चिया पनि त्यस्तै टक बस्ने खालको।
बुवाको फोनमा घण्टी बज्यो। निकै बेरसम्म बोल्नुभयो। बीमाका मान्छे घर आउँदै रहेछन्। बुवालाई भाउजू र मेरो बीमा गरिदिने मन भएछ क्यार!
ती मान्छे निकै खुसी हुँदै हाम्रो घरमा आए। भाउजूसँग कुरा गर्दै गर्दा भाउजू फ्याट्ट बोल्नुभयो, 'एजेन्ट मै बन्छु, हाम्रो परिवारबाट चार जना हुने भयौं।'
विचरा आगन्तुक अचानक लोडसेडिङमा परेको चिमजस्तै भए। मिनेट पनि अडिन सकेनन्। भाउजू एजेन्ट बनेर बीमा गराउनुभयो। बुवासँग गफिँदै हुनुहुन्थ्यो।
'बीमा गर्नु राम्रो रहेछ बुवा, क्लाइन्ट बनाउन सके जागिरै गरे सरह हुने।'
'ए त्यसो भएर पो रहेछ मलाई बाराम्बार फोनमा सम्झाइरहने,' मैले मनमनै सोचेँ।
भाउजू कति बाठी! कहीँ दबिने, ठगिने चान्स नै छैन। त्यही स्पष्टवादी व्यवहारले होला बुवाबाहेक घरका अरूसँग भाउजूको खासै कुरा मिल्दैनथ्यो। हुँदाहुँदै आमा र भाउजूको तालमेल बिग्रिन थालेको थियो।
जाडो महिना, घाम ताप्दै भोगटे खाँदै थियौं। आमा मुसुमुसु हाँस्न थाल्नुभयो। मलाई आमाको हाँसोमा जिज्ञासा लाग्यो।
'किन हाँस्या मामू?'
'यसै।'
'भन्नु न!'
'अब तँ फुपू बन्ने भइस् भनेर। तेरो भदा पनि फिट्किरी जस्तै टर्रो जन्मिने होला नि?'
मैले कुरा बुझिहालेँ। भाउजू गर्भवती हुनुभएछ! मेरो खुसीको सीमा रहेन। त्यस दिनबाट भाउजूको माया अलिक बेसी नै लागेको थियो। निकै टर्री मान्छे दुई जीउकी भए पनि एकछिन बस्ने भए पो! बिहान बिहानै, योगा, ध्यान, के-केको भूत चढेको हो कुन्नि!
भाउजूसँगको उठबसले मेरो स्वाभावमा विस्तारै उहाँको रङले प्रभाव जमाउन थाल्यो। जसले जे भन्यो, त्यही कुरामा सहमति जनाउने मेरो बानीमा अलि विश्राम लाग्न थालेको थियो। निकै ज्ञानी र ध्यानी मानिन्थेँ म जवाफ फर्काउन थालेकी थिएँ। कसैको कुरालाई कहिल्यै प्रतिकार नगर्ने म लड्न नै थालेकी थिएँ।
डेलिभरीको समय आएपछि आमा र भाउजू दाइकहाँ जानुभयो। घरमा बुवा र म मात्रै थियौं। घरमा नयाँ मान्छेको स्वागतका लागि हामी आतुर थियौं। मेरो जिम्मेवारी बढेको थियो। भान्छाकोठादेखि बजारसम्म सबैतिर भ्याउनुपर्थ्यो।
एकदिन म बजारबाट सामान लिएर घर फर्किँदै गर्दा बाटोमा चिनजानकै दाइ भेट भए। मलाई दाइजस्तै लाग्ने भएकाले उनलाई दाइ नै भनी बोलाउँथेँ।
ती दाइलाई देखेपछि साथी पाएको आभाष भयो मलाई। यसो पछाडि हेरेको त भाउजू पनि। अनुहारमा न कुनै रङ, न कुनै उत्साह। त्यसैले त सजिलै अनुमान गर्न सकिन्थ्यो उनको महिना चलेको छ।
'चेकअपकोका लागि स्वास्थ्य चौकी गएर आएको नानी,' भन्दै थिइन्।
मेरो बुवा सुगरको रोगी निकै भोक लाग्ने उहाँलाई। म अलि छिटो गरी अघि बढेँ। पछाडिबाट मेरो हात च्याप्प समाए ती दाइले। सहानुभूति देखाउन थाले।
'नानी यति धेरै सामान रहेछ। लेऊ म बोकिदिन्छु,' पुलुक्क पछाडि हेरेँ। बाटो छेक्नेगरी पेट अगाडि हुत्तिएको, पछाडि सलको सप्कोले गुन्टो बोकेकी उनकी श्रीमती! मलाई निकै दया लाग्यो ती भाउजूमाथि।
त्यो झुठो सहानुभूतिको हातलाई पन्छाउँदै भन्न थालेँ, 'आफ्नीलाई नुन नसोध्नेले अर्काकीलाई सुन! पहिला आफ्नी श्रीमतीको हालत हेर्नु नि! श्रीमतीले तपाईंको पेट पनि बोक्नु, भारी पनि! सक्ने भए श्रीमतीलाई बोकेर हिँडे पनि पाप लाग्दैन। मेरो सामान मै बोक्न सक्छु।'
उनी वाल्ल परेर हेरिरहे। म अगाडि बढेँ।
त्यस दिनदेखि भाउजूजस्तै म पनि सबैको नजरमा 'आँखी' हुन थालेँ।
अर्को दिन भाउजूलाई भेट्न सहर जाँदै थिएँ। बेलुका फर्कनु थियो। गाडी निकै भीड थियो। ढोकैनेर पछाडिको सिट खाली थियो। म पछाडि सिटमा बसेर झ्यालतर्फ हेर्दै थिएँ। काखमा सानो बच्चा लिएर एक जना महिला भित्र पसिन्।
मेरै आडमा आएर बसे हुन्थ्यो जस्तो लागेको थियो मलाई। तर उनी अगाडिको सिटमा बसिन्। उनका श्रीमान मेरो छेउको खाली सिटमा आएर बसे। गाडी कुद्न थाल्यो। सबै आफ्नै सुरमा थिए।
ती पुरुष अनेक बहाना बनाउँदै आफ्नो हात मेरो जीउमा छुवाउन खोज्थे। म उकुसमुकुस भएँ। त्यहीँ ओर्लिऊँ कि जस्तो लाग्यो। चिच्याऊँ? अहँ उनको श्रीमतीलाई के बित्ला? फ्याट्ट साइड ब्यागको पछाडिपट्टि राखेको खिप निकालेर उनको हातमै रोपिदिएँ। मुर्छै परेछन् क्यार। श्रीमतीलाई मेरो आडमा बोलाएर आफू अगाडिको सिटमा सरे। पछाडि फर्केर हेर्ने उनलाई हिम्मत नै आएन सायद!
मेरी भाउजू मेरो साथमा नभइदिएको भए यस्ता घटनाले मलाई कति चिथोर्थ्यो होला? घर परिवार र समाजको इज्जत जोगाउने खेलोमा पक्कै पनि हिंसालाई पानी सरह पिएर बाँच्थेँ। अनुशासन र संस्कारको 'ट्याग' गुम्ने डरले हिंसालाई सहेर आफूभित्रै गुम्स्याइ बस्नसक्ने समाजले खोजेजस्तो एक 'संस्कारी' नारी त बन्थेँ तर जसरी भाउजू मेरा लागि एक दह्रिलो खम्बा बन्नुभयो, त्यसैगरी म आफ्नो सन्तानका लागि 'केही' बन्न सक्दिनँ थिएँ।