म यो सहरको हजारौं जागिरेमध्येको एक जागिरे। मेरो भोक र अभावको ईश्वर भनेको यही मेरो जागिर।
उफ्फ्..... दिक्क लाग्छ यो जागिर भन्ने शब्दसँग पनि आज भोलि। मिल्ने भए यो 'जागिर' शब्दलाई म नेपाली शब्दकोषबाटै हटाउन त्रिविका नेपाली विषयका विज्ञलाई उहिले निवेदन लेखिसक्थें। खैर ! यो मेरो मात्रै इच्छाले केही हुन्न।
बिहानको पहिलो पहरमा यी आँखा खुल्नासाथ अफिस जानू छ। हिजोका जुठा भाँडा माझी आजलाई खाना पकाई दुई गाँस मात्रै भए पनि जसोतसो च्यापी १० बजे त अफिस पुग्नु नै छ।
नत्र हाकिमको त्यो कर्कश आवाजमा पूरा दिनै मुड अफ हुने गरी गाली खानुपर्छ। अझ त्यति मात्रै कहाँ हो र जागिरबाटै निकाली दिने धम्की पनि एक झमट सुन्नै पर्छ यी कानले।
कक्षा ९ मा 'व्यवसायिक कि जागिरे जीवन राम्रो' भन्ने वाद-विवाद प्रतियोगितामा खुब जागिरको बखान गाउँथें। प्रतियोगिता जिते जस्तो रहेनछ यो जागिरे जिन्दगीलाई सहजै रूपमा जित्न।
हरेक दिन उठ्नासाथ जागिर जागिर भन्दै काठमाडौंको यो व्यस्त सडकमा एक छिन पख न। मलाई जान देऊ न। मेरो हाकिमले गाली गर्ने बेला भैसक्यो। तिम्रो जस्तो कहाँ छ र मेरो हाकिम भन्दै छेऊ कै अर्को बस र टेम्पोलाई बाइकको हर्न बजाउँदै आफ्नो वेदना त्यही सडकमा अलिकति पोख्दै हुइँकिँदै पुग्नु नै पर्छ हरेक दिन अफिस १० बजेभित्र।
बाझो खेतमा हलो र जुवा राखी एक हल गोरूलाई कुरिरहेको किसान झैं आज यो काम तिमीले सकेर मात्रै जानू भन्न कुरिरहेको हुन्छ, हाकिम उस्कै कार्य कक्षमा।
महिनाभरि बहर गोरूले झैं काधको छाला मर्ने गरी काम गरेपश्चात् खातामा देखिन्छ केही हजारका नोट। जसले मैले मेरो र मेरो परिवारका हजारौं दैनिकी आवश्यकता जो पूरा गर्नुपर्ने छ।
मेरो जिन्दगीको यो ऊर्जावान समय जागिरकै लागि खर्चिरहेको म। मेरै मासिक खर्च, खर्च गर्न भन्ने धेरै समय गम्नुपर्ने छ,यहाँ। नत्र, महिना नबित्दै तलब पो बितिसक्छ।
चरम आर्थिक अभाव र त्यसमाथि अनेक पीडाका धर्सा मनभरि छछल्काउँदै कार्यालय पुगेको एउटा कर्मचारीमाथि 'मुस्कान सहितको सेवा' किन दिँदैनस् भन्दै गम्किन्छ उही हाकिम आफ्नो पदीय उच्चताको एक झलक परिचय दिँदै।
'सभ्य, शिष्ट र नम्र व्यवहारसहित सेवा प्रवाहको' पाठ पढाउने हाम्रा देशका उपल्लो दर्जामा पुगेका हाकिम भनाउँदाहरू आफ्नै घरमा पालेको कुकुरलाई, 'जोन, यता आऊ तिमी, त्यता नजाऊ' भन्न भ्याउँछन् तर आफ्नै कार्यालयका पियन दाइलाई 'ओई कृष्णे, तँलाई हाकिमले कुन बेला चिया पिउन खोज्छन् सोध्नु पर्दैन ?' भन्दै गम्किन्छन्।
सायद यही होला उनको उच्च शिक्षाको दम्भ।
एक दिन हाकिमसँग भनें,'सर, यसपालि मेरो जन्मदिन धुमधामसँग मनाउने मन छ, एक दिनको बिदा दिनुस् न।'
हाकिमले भने, 'लु, जन्म दिनको मेरो पनि शुभकामना तिमीलाई तर यसपालि थुप्रै काम छ, अर्को साल धुमधामसँग मनाउलाऊ।'
त्यसको केही महिनापछि फेरि भनें, 'सर, प्रेमिकाको परिवारमा उनलाई विवाहको दबाब दिएछन्, मलाई विवाह गर्न १०,१२ दिन जतिको बिदा दिनुस् न!'
'अहिले हाम्रो कामको सिजन चल्या छ। ५ दिनभन्दा बढी बिदा हुँदै हुँदैन। बरू केही महिनापछि बिहे गर्नु त्यसबेला दिम्ला अलि दिन बिदा। अहिले तिमी यो सिजनको काममा लाग।' भन्दै तर्किए हाकिम मबाट।
जागिरदेखि वाक्क दिक्क भएर फेरि एक दिन उनकै कार्यकक्षमा गएर बिन्ती चढाएँ, 'सर, मैले राजीनामा लेख्या छु, स्वीकृत गरी बक्सिए आभारी हुने थिएँ।'
'किन ? के कति कारणले राजीनामा जान खोज्यौ समेत नसोधी' लु, अहिले कर्मचारी प्रशस्त छैनन् प्रशस्त भए पछि सोचौंला। अहिले तिमी काम गरिराख।' भन्दै पन्छिए हाकिम।
थुक्क! यो जागिर। के र कसका लागि खाएको हुँ ? मैले यो जागिर! जहाँ मेरै जीवनको न कुनै मतलब न कुनै अर्थ छ। वश, छ त जागिर र तिनका अनगिन्ती कामहरू.......जो कहिल्यै सकिन्नन् मैले गरेर... उफ्फ ....यो जागिर !!