यो यात्राको अन्त्य होइन। न सुरूआत हो। वा यो उसले भनेझैं जीवनको अप्रत्यासितताको उपज पनि हुनसक्छ। थाहा छैन यो के हो! जे पनि हुनसक्छ।
सम्बन्धलाई धागोले नाप्न खोज्ने हो भने यो केही होइन। ऊ अब सदाका लागि टाढा जाँदैछ।
म पनि अलबिदा भन्दैछु शुभकामनाका साथ।
यो उसको अन्तिम बिदाई होइन तर उसको र मेरो सम्बन्धको बिदाई भने पक्कै हो।
थाहा छैन त्यो पनि होइन कि! म दुविधामा छु, भावनाहरू उर्लिएका छन् तर शब्द छैनन्।
अन्त्यमा म लेख्छु 'धन्यवाद, मैले तिमीलाई भेटें, यो भर्चुअल संसारमा भौतिक संसारमा नभए पनि। म खुसी छु र हुनेछु' ...मेरो अन्तिम डिएम उसको लागि यही थियो । उसले लभ रियाक्ट गर्यो। र यो हाम्रो अन्तिम संवाद रहने कुरा जनायो। ऊ भोलिपल्टबाट ट्वीटरको संसारबाट बिदा लिँदै थियो।
जुन उसको र मेरो सम्बन्धको अन्तिम यर्थाथ थियो। म उसलाई यो यर्थाथलाई बदलौं भन्न पनि सक्दैनथें।
मेरो लागि ट्वीटरको दुनियाँमा भेटेको र त्यहीबाट छुटेको ऊ पहिलो र अन्तिम व्यक्ति होइन र पनि विशेष पक्कै हो।
म उसलाई यो ढुंगा माटोको संसारमा भेटे पनि चिन्नेछैन। म खोज्दै हिँडे पनि भेट्ने छैन।
जीवनको यो अनौठो बिष्मयमा म आइपुगेकी छु।
'उसलाई नसकियोस् भन्दाभन्दै सकिएको सपना ठानेर बिर्सने कोसिस गर्नेछु' म मनमनै भन्छु।
मन त हो भित्रभित्र च्वास्स दुख्छ!
ट्वीटरको संसार रमाइलो लाग्थ्यो किनकि त्यहाँ ऊ थियो।
करिब पाँच वर्ष ट्वीटर चलाएर, म एक वर्ष अघि मात्र बिदा भएकी थिएँ। लाग्यो फेरि फर्कूं, मन न हो फर्किऊँ फकिऊँ भो फर्कें।
नयाँ आइडी खोलेँ।
मैले करिब एक वर्ष पहिले यसरी नै ट्वीटरमा भेटिएको ऊ मेरो लागि रहस्यको एउटा पोको थियो।
मैले पहिलो आइडी उसकै फलो गरेँ।
ऊ वास्तवमै को हो मलाई थाहा थिएन तर उसको ट्वीटरको नाम मलाई मनपर्थ्यो।
नाम त म भन्दिनँ, तर उसको नाम विशेष थियो।
'नाममा के छ ? भन्छन् तर उसको ट्वीटरे नाममा केही थियो जसले मलाई कनेक्ट गर्थ्यो।
पहिलो पटक मैले उसलाई भनेको थिएँ, 'मलाई तिम्रो नाम मनपर्छ। सेक्सपियरले जसरी मैले पनि नाममा के छ भनेर बसिरहन सकिनँ।' उसले फुर्काउँदै भनेको थियो, ' यो तिम्रो बडप्पन हो। खासमा म हावा हुँ।'
उसले किन आफैंले आफूलाई हावा भन्यो मैले कहिल्यै सोधिनँ। मलाई सधैं लाग्यो ऊ अदृश्य बन्न चाहने भएर पो हो कि!
मलाई लाग्थ्यो त्यसैले आफ्नो वास्तविक परिचयबिना नै ऊ ट्वीटरमा छ।
उसँग बोल्नुनै पर्ने केही थिएन, न हामी कतै यात्रामा भेटिएका अपरिचित थियौं, न वर्षौंपछि भेटिएका साथी, न कसैसँग बोलूँबालूँ लाग्ने उमेरका मान्छे। म तीसकी थिएँ ऊ बत्तीसको।
हाम्रो उमेर, नौलो अपरिचितलाई देख्नेबित्तिकै बहकिने उमेर थिएन।
उसको हेल्लोमा मेरा हाई थपियो। यसरी बोल्ने बोलाउने क्रम जारी रह्यो। ऊ को हो ? कस्तो छ मलाई थाहा थिएन। ट्वीटरमा उसको परिचय उसको विचारले मात्र निर्धारण गर्थ्यो। हाम्रा लागि एक अर्काको परिचय र चिनारी एकअर्काको विचारमात्र थिए।
पहिलो गफमै उसले मलाई सोधेको थियो।
'यदि तिमी अप्ठ्यारो मान्दिनौ भने म तिमीलाई एउटा प्रश्न सोध्छु है? म तिम्रो प्रेम, विवाह, यौन र समग्र जीवनबारे धारणा बुझ्न चाहन्छु।'
उसले मलाई नभन्न पनि पाउने स्वतन्त्रता दिएको भएर मलाई उसका प्रश्न त्यति अप्ठ्यारा लागेनन्।
यौनबारे चाहिँ मैले भन्न चाहिनँ। त्यही प्रश्न अरू कसैले अरू नै ढंगबाट सोधेको भए म त्यति सहज हुन सक्दैनथेँ। सजिलै त्यो व्यक्तिलाई ब्लक हान्न पनि सक्थें।
उसँग बोल्न थालेको समय म भर्खरै एउटा एकोहोरो प्रेमबाट बाहिर निस्कन खोज्दैथिएँ।
मलाई सजिलो थिएन फेरि अर्कोसँग सजिलै नजिक हुन। मैले उसलाई भनेकी थिएँ, 'वर्षौं आफ्नो ठानेर पनि आफ्ना नहुनेसँग न्यानोपन खोज्नु मेरो आफ्नै कमजोरी थियो। म चाहन्नँ त्यही चिज फेरि दोहोर्याउन। त्यही अप्राप्तिको कुन्ठामा बाँच्न म पूर्ण तयार छैन। मलाई मौन अस्वीकृतिसँग डर लाग्छ।'
उसले मलाई भनेको थियो 'अब तिमी त्यो सम्बन्धको चिसोपनबाट बाहिर निस्कन सक्नुपर्छ। संसारमा न्यानो दिनेहरूको पनि कमी छैन।'
मलाई कताकता लाग्यो सायद ऊ नै त्यो व्यक्ति पो हो कि !
उसले र मैले एक महिना जीवन र जगतबारे गहिरो संवाद गर्यौं। जुन मैले यसअघि कोही अरू अपरिचितसँग गरेकी थिइनँ।
मलाई थाहा थिएन जीवन जगतबारे ऊ मसँग किन त्यस्ता गहिरा संवाद गर्थ्यो। मैले सोधिनँ पनि वा भनौं सोध्न पनि चाहिनँ।
मलाई त उसको वास्तविक नाम पनि थाहा थिएन।
बस् मलाई यति थाहा थियो ऊ किताबलाई प्रेम गर्छ जस्तो म गर्छु। अलिअलि आफूलाई पढाकूँ ठान्ने मेरो भ्रम उसैले तोडिदिएको थियो।
कहिलेकाहीँ ऊ मलाई कुनै उपन्यासको पात्र जस्तो लाग्थ्यो उसका प्रश्नहरू पनि त्यस्तै हुन्थें।
मैले यसअघि ज–जसलाई प्रेम गरें ऊ तीभन्दा बिल्कुलभिन्न थियो।
ऊ त्यस्तो व्यक्ति थियो जोसँग म प्रेम गर्न चाहन्थें। वा भनौं प्रेम गर्न चाहन्छु।
भर्चुअल संवाद अल्ली लत लाग्ने किसिमका हुन्छन्। त्यस्तै भयो भनौं एक महिनामै म उसँग संवादको लतमा फसें। यसअघि प्रेममा मात्र फसेकी म यसपटक संवादको लतमा फसें।
'ऊ भन्थ्यो जीवन र प्रेम दुवै अनिश्चयताका पर्याय हुन्।'
म भन्थें, 'म फेरि अर्कोपटक एकोहोरो प्रेममा पर्न चाहन्नँ। मलाई अनिश्चयतासँग डर लाग्छ।'
उसले भन्थ्यो, 'यो डराउने विषय होइन, त्यसको लागि त जहिले पनि तयार हुनुपर्छ'।
म भन्थे, 'म चाहेर पनि तयार हुन सक्दिनँ, मलाई तिमीलाई साथीमात्र सोच्छु प्रेम गर्न सक्दिनँ भन्नेसँग डर लाग्छ। म अब फेरि अर्को कोहीसँग प्रेम गरेर आफ्ना भावनालाई बली चढाउन सक्दिनँ।'
संवाद यी यस्तै हुन्थे।
एक महिनापछि ऊ एकाएक हरायो। जसरी पानी परेपछि बादल हराउँछ। मैले कल्पना पनि गरेकी थिइनँ ऊ यसरी हराउँला भनेर।
ऊ अर्को क्षितिजको यात्री झैं एकाएक मेरो डियमको इतिहासबाट हराउँदै थियो।
मलाई लाग्यो अब मैले उसलाई यात्रामा भेटेको यात्री सम्झेर वा कहिलेकाहीँ मात्र झुल्कने परको इन्द्रेणी झैं सम्झेर भुल्नुपर्छ।
बिर्सनुबाहेक मैले उसलाई कहीँ खोज्न सक्दिनथेँ।
एक महिनापछि ऊ ट्वीटरको दुनियाँमा त झुल्क्यो तर हेल्लो हाई पहिलेजस्तो गर्न छोड्यो।
एक दिन 'म मेरो काममा धेरै व्यस्त भएकाले ट्वीटरमा कम आएको हुँ'उसले भन्यो।
मैले किन आएनौ पनि भन्न सकिनँ र स्माइलीका साथ भन्यो अब म भोलिबाट आउने छैन।
मैले भनें, 'के अब गुडबाई भन्ने समय आएको हो र ?' उसले 'हो' भन्यो।
मैले बिदाइका हातहरू हल्लाएँ।
उसको र मेरो डिजिटल सम्बन्धको अन्त्य थियो।
थाहा छैन अब ऊ फेरि भेटिनेछ वा छैन। वा भेटिए पनि चिनिने छ वा छैन। यो अन्त्य हो वा सुरूआत ? अथवा यो केही होइन ? मैले बुझेकी छैन वा मैले बुझेर पनि बुझ्ने छैन। मलाई सधैं लाग्थ्यो पर जान खोज्नेलाई जान दिनुपर्छ। मैले सधैं परजानेहरूलाई बिदाईका हात हल्लाएँ।
मलाई लाग्थ्यो कुनै दिन कोही आउनेछ जीवनमा जो पर जान्छु भनेर पनि फर्कनेछ। तर यो पटक ऊ फर्कनेछ भन्ने आशा पनि रहेन मसँग। फर्किए पनि उसलाई मैले चिन्ने सम्भावना सारै कम छन्।
सायद ऊ बादलमा कोरिएको चित्र पो हो कि? जोसँग रमाउन सकिन्छ तर भेट्न सकिँदैन। सायद ऊ त्यस्तै केही हो। मन चस्स घोच्छ। दुखेको मनलाई म फेरि दुखाउने मुडमा छैन। उसँगको सम्बन्धको यो अन्त्य हो। मैले यही बुझ्नुपर्ने हुन्छ। जुन मैले चाहेकी थिइनँ, त्यही भयो। म फेरि अर्कोपटक अप्राप्तिको पीडा भोग्दैछु सायद उसले भनेझैं यी सबका लागि म अब तयार हुनुपर्छ।