आज मेरो आकाशमा कालो बादल मडारिरहेको छ
आगो ओकल्दै मेघ गर्जिरहेको छ
ममाथि बज्रपात गर्ने धावा बोलिरहेको छ
बादलभित्र हिंस्रक चिल फन्को मारिरहेछ
निरीह जनतालाई शिकार गर्न खोजिरहेछ
धुमिल राजनैतिक दृश्य, परिदृश्यमा
मेरो मन भारी भई भित्र-भित्रै कुँडिरहेको छ
मलाई धरापमा पारियो भन्ने लागिरहेको छ
हाम्री मातृभूमिलाई यस्तै-यस्तै
कहालीलाग्दो सोच आइरहेको बेला
नेताले के झोकमा ड्याङ्ग भनिदिए-
'यसो गरे छिमेकलाई सहज हुने, चाहे त्यो कुनै होस्
म यसो गर्छु चाहे देशको राजनीति जतासुकै जाओस्'
धत्! नेताका सुद्धी
जब पाका नेतानै यसो भन्छन्
तब मेरो भित्री मन भन्छ
भात पाकेको थाहा पाउनलाई
एक सिता चिमोटे भइहाल्छ
गाँस लगाइरहनु पर्दैन
कुरोको चुरो बुझ्नलाई
उसको जुँगा चलाई हेरे भइहाल्छ
जिब्रो पट्केको सुनिरहनु पर्दैन
विदेशको छाया कति परेको छ हाम्रा नेतालाई
स्वदेशको माया कति हुँदो रहेछ हाम्रा नेतालाई
त्यति कुरो बुझ्नलाई
भनाइका ती दुई हरफ बुझे भइहाल्छ
ईति वृतान्त खोतलिरहनु पर्दैन
सिंहले शिकार गर्छ, गडुलले सर्प खान्छ
यति कुरो बुझ्नलाई
उसको दारा नङ्ग्रा हेरे भइहाल्छ
तिनले गाँजेकै देख्न पर्दैन
उहिले साहुहरू सोझा निर्धाहरूलाई
जाँड खुवाएर कपाली तमसुक बनाउथे
कथित दाताहरू सधैँ हाम्रा नेताहरूलाई
भाङ्ग खुवाएर सन्धि सम्झौता गराउँछन्
दाताका कुरा सुन्छन् विज्ञहरूका सुन्दैनन्!
धत्! नेताका सुद्धी
कति सन्धिमा इतिहास रच्न चुकेका छन्!
हाम्रा नेताहरूलाई थाङ्नैमा सुताउँछन्
देश भड्खालोमा पार्छन् कथित दाताले
हाम्रा हुस्सु नेताले
छर्लङ्ग कुरो बुझ्नलाई, यी दुई हरफ पढे भइहाल्छ
'एमसीसी सैनिक गठबन्धनको एक हिस्सा हो,
तिम्रै खर्चमा यी सन्धि संबिधानै बनोस् यही मूल सर्त हो'
धत्! नेताका सुद्धी
जब दाता नै यसो भन्छन् भने
त्यसमा कुनै ढाकछोप व्यर्थ छ
जसले जे भनुन्, मनले यही भन्छ
मेरो देशको लागि अनर्थ छ
ताज्जुब लागेर आउँछ!
जसको जौं खानु उसकै जुँगा मोल्नु?
किन बुझ्दैनन् हाम्रा नेताले?
बुझ पचाउँछन् हाम्रा छिमेकीले!
निजी स्वार्थमा नेताका बुद्धि भुटिएको छ
भाङ खुवाएर, उपहार सुलाएर
यी सबलाई थाङ्नैमा सुताइएको छ
तिनको नियत के हो भनी बुझ्नलाई
ईरान-ईराक युद्ध हेरे भइहाल्छ
स्रोत जति हाम्रा, लाभ जति तिम्रा?
कसका लागि एम्सीए?
कथित दातालाई यक्ष प्रश्न।
हाम्रा नेतालाई सयर गराई
भाङ खुवाएर, गलापासो लगाई
'सिक्स कि नाइन' चटक देखाएर
कुटिल चालको जालमा पारेर
जो जसले गरे भर्त्सना योग्य छ, त्यो मित्रवत् छैन
बिजुली पुग्ने गोरखपुर, गोर्खाली हेरिरहने?
तिनका लागि हाम्रा देशको स्रोत खर्ची-खर्ची
हाम्रै देशको स्वाधीनता दाउमा राख्ने?
धत्! नेताका बुद्धि
टुप्पीबाट रिसको धुवाँ छुट्छ!
आँखाबाट आगोको ज्वाला फेकौँ लाग्छ
सात जुनीको श्राप दिउँ झैँ लाग्छ।
हाम्रा नेताहरू तीन चित भए'सी चुप्पी साँध्छन्
तैँ चुप मै चुप, कुरा चपाउँछन्
खै के भन्नु र खैँ!
सधैँ चामलसँग पिठो साट्छन्
जनता चकित पार्छन्, जगत हँसाउछन्
सुनीतिसँग चल्न नजानी हाम्रा नेताहरू
कुटनीतिको गलापासोमा यसरी पर्छन्
कथित दाताहरू जाल फिँजाइरहन्छन्, चारो छरिरहन्छन्
विचरो भोका, सोझा, लोभी चरो फसिरहन्छन्
अरूबाट साधन स्रोत तानी-तानी
नकच्चरो भने धन दौलत सान सौगत लुटिरहन्छन्
गाउँकै मुखिया यस्ता भए'सी,
गाउँ-समाज कस्ता हुन्छन् त्यति बुझ्नलाई
पँधेर्नीका दुई/चार कुरा सुने भइहाल्छ
देशका कुरा बुझ्नलाई
नेता कति बुझक्कड छन् दूरदर्शी छन्
त्यति कुरा बुझ्नलाई
नेताका यी कामकुरा हेरे भइहाल्छ
'हामी नेता, पिँध बिनाका लोटा, जस्ता जनता उस्तै नेता
जनता भेँडा हुन्, जस्ता जनता उस्तै नेता' भन्छन् आफै नेता
धत्! नेताका सुद्धी
जब नेता नै यसो भन्छन्
तब जनता भन्ने गर्छन्
आश गरेको नेता त गोठ रूङ्ने गोठालो पो परे
रोक, रोकभन्दा मान्ने गाडीको गुरू पो परे
अर्थ नीति, विदेश नीतिमा नेताको ढङ्ग देखियो
जनता पनि जहिल्यै आफ्नै लागि नेता रोज्ने भइयो
हामी जनता पनि कस्ता छौँ
यति कुरो बुझ्नलाई
धेरै टाढा जान पर्दैन
सोमत न'भाका पालो मिच्नेलाई हेरे भइहाल्छ
जब पाका नेता नै थाकिसके
जनताले भन्नेछन् आऊ अघि युवा नेता
अपदस्थ गर,
ती थाङ्ने सोँचहरूलाई
जहिल्यै, जे पनि माग्ने संस्कृतिलाई
बिँडो थाम्ने हैन, सत्ताको बिँड समाऊ
अघि सरी, अघि आउ, युवा नेता आऊ
'देशलाई मुटु भाका युवा नेता चाहिएको छ
डलर होइन आफ्नै असर्फि चाहिएको छ'
धत्! नेताका सुद्धी
जब युवा नेताहरूले नै यसो भन्नेछन्
तब नेपालीका मन-मनले भन्नेछन्
अब देश बन्छ, विदेश जिल खानेछ
तब प्यारो राष्ट्र र राष्ट्रियता बाँच्नेछ।