विवश र सानु दुवैको उमेर सायद २०-२१ वर्ष हुँदो हो। पढाइमा अब्बल दुवै भोजपुर क्याम्पसमा पढ्थे। विवश स्नातक तह अन्तर्गत मानविकी संकाय र सानु व्यवस्थापन। मानविकी दिउँसो र व्यवस्थापन बिहानीमा कक्षाहरु संचालन हुन्थे।
सानु आफ्नो बिहानी कक्षा पढेर फर्कने र विवश दिउँसोका कक्षा लिन क्याम्पस जाने क्रममा प्रायःजसो क्याम्पसका गेटमा देखाभेट हुन्थ्यो र नियमित भेट हुँदा सामान्य चिनजान पनि भएको थियो। स्नातक तहको दोस्रो वर्षमा पढ्दै सामाजिक सेवा गर्ने क्रममा उनीहरुको औपचारिक परिचय भएको थियो। केही समयमा नै उनीहरु असल मित्र भइसकेका थिए।
विवश र सानुका सामाजिक सेवा गर्ने संस्थाहरु फरक थिए। तथापि जिल्ला स्तरका कार्यक्रमहरुमा उनीहरुको नियमित सहकार्य हुने नै गर्दथ्यो। दुवै आ-आफ्नो काममा व्यस्त भएता पनि २-४ दिनका फरकमा भेट भएकै हुन्थ्यो तर ती भेटहरु योजना गरिएका भेट हुन्नथे। मात्र संयोगका भेटहरु। भेटमा समाजसेवा, अध्ययन र अन्य सामान्य औपचारिक कुराकानी हुन्थ्यो।
विस्तारै किन-किन ती भेट मिठा लाग्थे दुवैलाई। हप्ता दश दिनसम्म भेट नहुँदा अनायसै खल्लो महसुस हुने नै गर्दथ्यो। सानु सबैसँग राम्रो व्यवहार गर्ने प्रिय पात्र थिइन्। विवश पनि उस्तै आफ्नो साथी समूहको एक प्रिय पात्र। दुवैका भिन्न धरातल भएता पनि स्वभाव, सोचाइ, लक्ष्य र दृष्टिकोणमा कहीँकतै समानता नै थियो। त्यस्तै मिठा भेटहरुले उनीहरुको सम्बन्ध प्रगाढ बनाउँदै गयो।
उनीहरुबीचमा भावनात्मक सम्बन्ध बसिसकेको भएता पनि उक्त भावना, प्रेम र मायाका कुरा व्यक्त गर्न सकेका थिएनन्। प्रेमका मामलामा दुवै उत्तिकै सचेत थिए। सामाजिक सेवा र अध्ययनलाई समान रुपमा अघि बढाउनु उनीहरुको केही बाध्यता थियो भने केही व्यक्तिगत चाहना। दुवैले तेस्रो वर्षका परीक्षा दिइसकेका थिए, परीक्षाफल आउन ४/५ महिना लाग्नु स्वभाविक नै थियो।
विवशले पहिलो र दोस्रो वर्षका परीक्षाहरु पास गरिसकेको थियो भने सानुको पहिलो वर्षको एउटा पेपर ब्याक लागेको थियो। दुवैको परीक्षा सम्पन्न भएपश्चात भने उनीहरु पूर्णकालीन रुपमा संस्थाहरुमार्फत सामाजिकसेवामा संलग्न हुने अवसर मिल्यो तर फरक-फरक संस्थामा। एउटै संस्थामा काम गर्ने अवसर जुट्नै सकेन। तथापि भोजपुर बजार घुम्ने क्रममा बिहान-बेलुका कसो कसो भेट भई नै रह्यो।
माओवादी जनयुद्धको उत्कर्षका दिन थिए, संकाटकाल लागेको थियो। बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रुपमा कर्फ्यू लागेको हुन्थ्यो। एक रात भोजपुर सदरमुकाममा साँझ ९ बजेदेखि नै हतियार, गोलाबारुद, बम पड्केको आवाज सुनिन थाल्यो। विस्तारै भिषणयुद्ध सुरु भयो। माओवादीले भोजपुर सदरमुकामका प्रहरी, सेना र सरकारी कार्यालयहरुमा एकसाथ हमला गर्दा गोलाबारुदका आवाज र गन्ध बाहेक केही थिएन।
करिब ४/५ घण्टा लगातार भिषण युद्धको आवाजले सर्वसाधरणहरु त्रसित भई भयका बीचमा रात बिताए। भोलिपल्ट बिहानै सयौँ सेना, प्रहरी र माओवादी छापामारका क्षतविक्षत् शरीर बजारभरि छरिएका थिए। अधिकांश सरकारी कार्यालयहरु ध्वस्त भएका थिए। सर्वसाधरणका घरहरु गोली र बमले केही प्वाल परेका र भत्किएका थिए।
बिहानैदेखि सर्वसाधरणहरुलाई घरबाहिर निस्कन मनाही थियो। त्यो कहालीलाग्दो रातले जीवन कति प्रिय र महत्वपूर्ण रहेछ भनी बुझ्ने सबैलाई मौका दियो। आफू र आफ्नो मान्छेको महत्व कति हुने रहेछ भन्ने बुझायो। सायद त्यसैले होला विवश र सानुले पनि माया बुझे, अभाव बुझे, आवश्यकता महसुस गरे अनि समस्या परेका बेला सम्झना र अभावका कारण हुनसक्छ, त्यो घटनाको दोस्रो दिनमा भएको संयोगको भेटमा आँट गरेरै विवशले प्रेमप्रस्ताव राख्यो।
सानुले खासै अनौठो नमाने पनि सोचेर एक हप्ता भित्र जवाफ दिने वचन दिइन्। जवाफ हुन्छ वा हुन्न जे पनि हुन सक्थ्यो, त्यसैले विवशलाई जवाफको प्रतिक्षा गर्न कठिन भयो। एकदिन पनि वर्ष दिनजस्तो लामो र पट्यार लाग्दो लाग्यो।
प्रेम प्रस्ताव राखेको दोस्रो दिनमा नै एकजना साथीले सानुको पत्र ल्याइदिए। पत्र धेरै लामो थियो। पढ्दै जाँदा माया प्रेमका उदाहरण, अध्ययन र जीवनका लक्ष्य र संषर्घका रामकहानीहरु उल्लेखित थिए तर प्रस्ताव स्वीकार गरिएको कुरा पत्रको अन्तिम पानामा पुग्दासम्म कतै थिएनन्। पत्रको बिट मार्दै गर्दा 'तपाईंको प्रेमप्रस्तावलाई स्वीकार गरेको छु, मेरो तर्फबाट मायामा कुनै खोट लगाउने ठाउँ दिन्न, सातौँ जुनीसम्म मेरो मायाको भेल रहिरहनेछ, सम्हालेर राख्नु होला प्रिय' भन्दै 'हजार जुनीसम्म खोजी बसे तिमीलाई...' बोलको गीतका दुई हरफ सहित पत्रको अन्त गरिएको थियो।
विवशका लागि योभन्दा खुसीको अन्य कुनै क्षण नै थिएन। उसलाई अहिले नै गएर सानुलाई भेटौं लाग्यो। तर त्यो समाज र परिवेशमा न भेट गर्न सजिलो थियो न त मोबाइल, फोन, फेसबुक वा अन्य सामाजिक सञ्जाल नै। पत्र प्राप्त भएको हप्तौँ दिनसम्म पनि उनीहरुको भेट हुन सकेन। विवशलाई लाग्यो कि यो त कतै सपना पो हो कि। संयोग पनि कस्तो सानुले पत्र पठाएकै दिन दुई हप्ताका लागि अफिसको कामले फिल्ड जानु परेछ।
विभिन्न गाविसमा तालिम संचालन गर्नुपर्ने रहेछ। उनको उक्त कार्यक्रम पनि अचानक तय भएको रहेछ। विवशले यता दिन रात कुर्यो तर सानु भेट्न सकेन। दिउँसो अफिसका काममा व्यस्त भएता पनि बिहान बेलुका उनलाई कुर्दाकुर्दै निराश भयो। प्रत्येक दिन भेट हुने आशा मर्दै गयो। जिल्लामा भएका फोनहरु पनि माओवादी आक्रमणपश्चात् ध्वस्त पारिएका थिए। जिल्ला नै सम्पर्क विहीन अवस्थामा थियो। विवश र सानुको फोन सम्पर्क त झन् टाढा भयो।
'माफ गर्नु होला, अचानक फिल्डमा जानु परेकोले भेट्न र जानकारी दिन पाइनँ। म सहजै अनुमान गर्न सक्छु कि प्रतिक्षा गर्न हजुरलाई कति गाह्यो भयो होला' भन्दै सानु विवशको डेरामा प्रवेश गर्छिन्। विवश ट्वाल्ल परेर हेरिरह्यो, यो सपना हो कि विपना एकछिन त छुट्याउनै सकेन। सानुलाई देख्न पाउनु नै उसको लागि अहोभाग्य थियो, उसले एकछिन त्यही हालमा आफूलाई छोड्छ।
कति मिठास थियो त्यो क्षण। आनन्दित, हर्षित। विवशको एकाग्रतालाई चिर्दै सानुले नै फिल्ड जाँदा आउँदाका समस्या सुनाई। विवशको सपना थिएन त्यो क्षण यथार्थ थियो। उनीहरु अब असल मित्रबाट प्रेमी-प्रेमिकामा परिणत भइसकेका थिए। घण्टौँ मिठा कुराकानी र प्रेमिल गफगाफपश्चात् फेरि चाँडै भेट हुने आशासहित सानु आफ्नो घरतिर लागिन्। त्यसपछिका हरेक भेट झन् मिठा थिए। रमाइला थिए। आनन्दित र विशेष थिए।
माया, प्रेम, अध्ययन र भविष्यका बारेमा केन्द्रीत हुन्थे उनीहरुका गफ। घण्टौँसम्मका उनीहरुको गफ कहिल्यै सकिन्नथे। दुई-तीन महिनाका बीचमा सानुको काठमाडौंमा आयोजना भएका दुई वटा तालिमका लागि दुई पटक काठमाडौं आउ-जाउ गर्छिन्। हप्ता दिनका ती तालिमहरु महिनौ लामा भएका महसुस र एक्लो महसुस गर्छिन्।
सायद त्यसैले होला, उनी प्रत्येक साँझ र रातमा आफ्नो प्रिय मान्छेप्रति समर्पित कविता, कथा, दैनिकी वा केही न केही लेख्दिरहिछिन्। हप्तादिनपछि फर्केर उक्त डायरी विवशलाई प्रदान गर्थिन्। डायरीका ती प्रत्येक शब्दहरु नै मायाको गहिराई बुझ्न काफी थिए। त्यस्ता डायरीहरु भरिँदै गए। माया प्रेमप्रति समर्पित लेख-रचनाहरुले मायाको गहिराई र सार्थकता प्रमाणित गर्दै गयो।
कति प्रिय थिए ती साँझ, बिहान, भोजपुर-बजार, देउराली, भन्ज्याङ, दोबाटो। सबै माया नै मायाले भरिएका आभाष हुन्थ्यो। प्रत्येक भेटको छुट्टै महत्व र अर्थ थियो मायाको अनि अजम्बरी संकल्पको। दिन, हप्ता, महिना गर्दै दुवैको परीक्षाफल आउने समय नजिक आउँदै थियो। त्यही बीचको समय मायाको लागि वास्तव मै अमूल्य थिए। सँगै गरेका फिल्ड र व्यक्तिगत यात्राहरुले मायाको गहिराईलाई मापन गर्नै नसकिने तहमा पुर्याएको थियो।
त्यो सम्बन्ध फगत माया र प्रेमको मात्र थिएन, तर गहनता र संकल्पको कडी जो असीमित र अमूल्य थियो। विवश र सानु दुवैजना अध्ययनका अब्बल विद्यार्थी थिए। भाद्र महिनामा परीक्षाफल प्रकाशित भयो, दुवैजनाले उत्कृष्ट दोस्रो श्रेणीमा पास गर्न सफल भएता पनि सानुको पहिलो वर्षमा ब्याक पेपरको नतिजा मंसिर/पौषमा मात्र आउने तालिका थियो। दुवैको उच्च शिक्षा हासिल गर्ने असीमित सपनाहरु थिए।
विवशले सोही वर्ष स्नातकोत्तर तहमा भर्ना हुने निश्चित थियो अनि सानुले केही समयपश्चात् मात्र पहिलो वर्षको नतिजा पश्चात् उच्चशिक्षाको यात्रा तय गर्नु थियो। उनीहरु दुवैजना उच्चशिक्षा हासिल गर्ने आफ्नो योजना व्यग्रताका लागि कुरिरहेका थिए। परिवार, साथीभाइ, नातेदार र शिक्षकहरुले उनीहरुलाई जेहेन्दार विद्याथी र असल मित्र देख्नुहुन्थ्यो भने उनीहरु थप प्रेमी-प्रेमिका पनि थिए।
उनीहरुको प्रेम सम्बन्ध नजिकका थोरै साथीहरुलाई मात्र थियो। साथीहरुले उनीहरुलाई मौका पाउन साथ जिस्काउँथे। विवश र सानु भने आनन्द महसुस गर्दथे। त्यो जिस्काईले झन खुसी तुल्याउथ्यो। यसै बीच तिहारको समय थियो, विवश र सानु काम गर्ने संस्थाहरुले सहकार्य गरी तिहार विशेष कार्यक्रम तय गर्यो। विवशलाई थाहा थिएन कि सानु साहित्यकार मात्र नभई एक राम्रो कलाकार पनि रहिछिन्। तिहारका सन्दर्भमा आयोजित सांस्कृतिक कार्यक्रम र नाटकमा समेत उनले अब्बल प्रतिभा देखाइन्।
त्यो समय स्नातकोत्तर तहको लागि लिइने प्रवेश परीक्षाका फर्महरु दसैँ-तिहार लगत्तै खुल्थे। त्यसैले मंसिरको पहिलो हप्ता नै विवश उच्च शिक्षाका लागि काठमाडौं लाग्नु पर्ने भयो। भोजपुर एयरपोर्टमा विवशको बिदाइ गर्न सानु लगायत अन्य साथीहरु आएका थिए। सायद प्लेन एक घण्टा ढिला भयो, त्यो एकघण्टाको बसाइ थप अविस्मरणीय भयो।
रिलवाला क्यामेराले फोटो खिच्ने, एयरपोर्टमा यताउता घुमघाम गर्ने, आहा! कति रमाइलो। ११ बजेको फ्लाइटमा विवश आफ्ना प्यारा साथीहरुलाई बिदाइका हात हल्लाउँदै काठमाडौं लाग्छ। भौतिक दूरीसँग विवशले आफ्नो मायालु, परिवार र साथीभाइको माया, महत्व र अभाव निरन्तर महसुस गरिरहन्छ।
काठमाडौंमा विवशले रत्न राज्य लक्ष्मी क्याम्पस र विश्वविद्यालय क्याम्पस दुवैतिर फर्म भरी प्रवेश परीक्षामा सामेल भयो। रत्न राज्य लक्ष्मी क्याम्पसमा २ नम्बर र विश्वविद्यालय क्याम्पसमा २३ नम्बरमा प्रवेश परीक्षामा नाम निकाल्न सफल हुन्छ। तर विवशले विश्वविद्यालय क्याम्पसमा नै भर्ना गर्दछ। कक्षा संचालनका लागि करिब दुई हप्ता कुर्नु पर्ने थियो। त्यही समयमा सानु तालिमका लागि काठमाडौं आउनुपर्ने भयो। त्यो जानकारी पाएर विवश हर्षले पुलकित भयो।
सानुको पाँच दिनको तालिमपछि फ्लाइटका कारण केही दिन काठमाडौको बसाइ लम्बियो। विवश र सानुका लागि एकअर्कासँग समय बिताउने राम्रो अवसर पनि थियो। उनीहरु दुवैका लागि काठमाडौं नयाँ र नौलो थियो। कताबाट कता पुगिन्छ पनि जानकारी थिएन। उनीहरु घुम्दैफिर्दै जावलाखेलस्थित चिडियाखाना, गोदावरी, केशरमहलस्थित लभगार्डेन घुमे, धरहरा चढे। रमाइलोसँग दिन बिताए।
केही दिनको बसाइपश्चात् सानु फेरि आफ्नो कार्यक्षेत्र भोजपुर लागिन् भने विवश आफ्नो स्नातकोत्तर तहको अध्ययन सुरु गर्यो। दिउँसो कक्षा र बिहान-बेलुका ट्युसन र कोचिङ कक्षा लिँदै आफ्नो अध्ययनमा व्यस्त हुनथाल्यो। काठमाडौंको बसाइ विद्यार्थीहरुका लागि पीडादायक नै हुन्छ। पहिलो पटक सहर छिरेको मान्छे भिडभाडभित्र एक्लो महसुस गर्दछ। त्यसैले पनि 'होमसिक' हुन्छ उनीहरुलाई। विवशलाई त्यही भयो। निराश निराश भयो।
बेलाबेलामा विवश र सानुबीच फोन सम्पर्क भइरहन्थ्यो। उनको अफिममा फोन थियो। विवशले फोन गर्दा सम्पर्क गर्न सकिन्थ्यो। फेब्रुअरी १४ भ्यालेन्टाइन डेमा पहिलो पटक मायालुलाई 'विश' गर्दाको खुसी कम सम्झनालायक थिएन। २०६२ सालको माघ महिनादेखि मुलुकमा संकटकाल झन् कडा बनाइयो र संचार माध्यम र फोनहरु सबै सरकारले नियन्त्रणमा लिई नागरिकलाई थप अन्धकारमा पुर्यायो।
विवशका विश्वविद्यालयका कक्षाहरु प्रभावित भए, जनआन्दोलनको आवाजहरु कुना-कुनाबाट गुन्जिन थाले, सात राजनीतिक दल र विद्रोही माओवादीहरुको संयुक्त जनआन्दोलन- २ नेपालभरिबाट नै सुरु भयो। घरपरिवारहरु सम्पर्कविहीन थिए। २०६३ वैशाख ११ गते जनआन्दोलन सफल भयो। जनताका अधिकार जनतामा नै फर्काइयो। विजयीको नारा घन्कियो। विवशको पढाइ करिब दुई महिना पुरै प्रभावित पश्चात् वैशाखको तेस्रो साताबाट पुनः सुचारु रह्यो।
त्यसबीचमा विवश र सानुको फोन सम्पर्क हुन सकेन। वैशाख अन्तिम साताको शनिबार उनीहरुबीच लामो गफ भयो। विवश बिहान दिउँसो र बेलुका समेत आफ्नो पढाइमा व्यस्त हुँदा शनिबार मात्र फुर्सद हुने, अनि सानुको अफिस शनिबार बिदा हुँदा सम्पर्क गर्न गाह्रो थियो। तथापि बेला-बेलामा कठिनताका बाबजुद सम्पर्क हुन्थ्यो। सबैतिर फोनको सुविधा थिएन, मोबाइल सेवा पनि राम्ररी विस्तार भइसकेको थिएन।
आफन्त, साथीभाइ र नातेदारहरुसँग सम्पर्क गर्ने भरपर्दो माध्यम भनेको हुलाक सेवामात्र सहज थियो तर हुलाकबाट पत्रचार गर्दा कम्तीमा दुई हप्तासम्म लाग्दथ्यो। सानुले पनि स्नातकोत्तर तह अन्र्तगत व्यवस्थापन संकाय पढ्ने निश्चित भएपश्चात उनको लागि विवशले सम्पूर्ण पुस्तकहरु कार्गो गरेर भोजपुर पठाइदियो। उनले कहाँ पढ्न- काठमाडौं कि विराटनगर भनी सल्लाह लिँदा विवशले काठमाडौंको केन्द्रीय विभाग वा शंकरदेव वा मिनभवन क्याम्पस पढ्न सल्लाह दियो।
विवशले सानुसँग फोन सम्पर्क गर्न सजिलो होस् भनि मोबाइल समेत किनेर उनलाई मोबाइल नम्बर दियो। केही समय मोबाइलबाट उनको अफिसको फोनमा सम्पर्क गरिरह्यो। अब सजिलो भयो। माया प्रेम र अध्ययनका बारेमा लामो कुरा हुन्थ्यो। माया प्रगाढ थियो। कहिल्यै कमी आएन। एकदिन उच्च शिक्षाका लागि भनि उनले जागिर छोडेर उनी विराटनगर गइछिन्। त्यसबारेमा विवशलाई केही जानकारी दिइनन्। त्यसपछि न उनले विवशको मोबाइलमा फोन गरिन् न उनको सम्पर्क नम्बर नै दिइन्।
दिन, हप्ता, महिना गर्दै वर्ष बित्यो तर उनको फोन आएन। सम्पर्कविहीन भइन्। एकदिन दिउँसो विवशको मोबाइलमा पूर्वाञ्चलमा दर्ता भएको नेपाल टेलिकमको मोबाइल नम्बरबाट फोन आउँछ र उसले सानुको भिनाजु भएको परिचय दिँदै विवश र सानुबीचको सम्बन्धबारे जिज्ञासा राख्दछ। विवशले आफूहरु मिल्ने साथी भएको जानकारी गराउँदै विगत एक वर्षभन्दा बढीदेखि सम्पर्क नभएको जानकारी गराउँदा गराउँदै पनि उक्त मान्छेले 'अबदेखि कहिल्यै सम्पर्क र फोन नगर्न र कुरा गरेको थाहा पाएमा मार्ने' भनि धम्की दिएर फोन काट्छ।
विवश छक्क पर्छ। उसले बुझ्नै सक्दैन के भइरहेको छ। सानुको सम्पर्क नम्बर पनि उसले पाएन। कठिन पीडाका बीच उसले आफ्नो मायालुबाट मन टाढा बनाउँछ र आफ्नो अध्ययनलाई निरन्तरता दिन्छ। स्नातकोत्तर तहको परीक्षा दिएर भोजपुर जाँदा उसले न सानुलाई भेट्छ न त साथीहरुलाई नै। सबै कहाँ-कहाँ पुगिसकेका रहेछन्।
विछोडका कठिन दिनसँग महिना, वर्ष गर्दै पाँच वर्ष बितेछन्। विवशले आफ्नो उच्च अध्ययनको दोस्रो स्नातकोत्तर तहको परीक्षा दिएर पशुपति क्याम्पसबाट फर्कने क्रममा प्रदर्शनीमार्गमा अचानक सानुलाई कोही कसैसँग हिँडिरहेको देख्छ। उसले अभिवादन सहित बोलाउँछ, उनी बोल्छिन् तर उनले न प्रेम, मित्रता, सद्भाव र आत्मियता नै देखाउँछिन्, न बोल्न चासो नै।
सामान्य औपचारिकतापछि नै उनी आफ्नो बाटो लाग्छिन्। सायद उनको प्रेमि अलि पर उनलाई कुरेर बसिरहेको थियो। विवश टोलाएर हेरिरहन्छ पर-परसम्म उनीहरु ओझेल नपरुञ्जेलसम्म। उसले बुझ्दैन कि किन उनले उसलाई वियोगमा छोडेर कसैको साथ लागिन्? न विवशले आफूलाई आएको मार्ने धम्किका बारेमा नै बताउने मौका पायो न उनले छोड्नुको कारणबारे जान्ने मौका नै।
बदलिएको मनलाई फर्काउन सकेन। आफ्नै आँखाअघि सानु कसैको साथमा अघि बढिरहिन् तर विवशका अघि उनीहरुको सम्बन्धमा विवशताको विशाल पहाड खडा भएर उभिरह्यो। उभिइरह्यो।