प्रिय मित्र,
सम्झना।
आज धेरै दिनपछि तँलाई सम्झेर लेख्दै छु, भनौँ धेरै वर्षपछि। त्यसो त तेरो लागि कहिल्यै केही लेखिनँ, जन्मदिनमा फोटो सहितको एक-दुई वटा पोस्ट र संवादका बेलाको हाम्रा बोलिचाली बाहेक!
समयले हामीलाई कता पुर्यायो कता, ठाउँ फरक, परिवेश फरक, संघर्ष फरक, हुँदा-हुँदा हाम्रा कथाहरु फरक हुँदैछन्। दिनचर्याका उठबसहरु फरक, तनावहरु फरक अनि फरक छ केही घण्टा समय पनि।
पत्रको सुरुमा यति सहजै 'तँ' ले सम्बोधन गरिरहेछु। यही लेखिरहँदा पहिलो पटक तँलाई गरेको 'तिमी' सम्बोधन याद भइरहेछ। जब घुलमिल भइयो, अनि असहजताका दिवारहरुमा भाइचारा र प्रेमको रङ्गिन वसन्ती लहराहरु फैलिन थाले, तब विस्तारै 'तिमी' असहज लागेर 'तँ' हलुका लाग्न थालेको थियो।
उमेर, जिम्मेवारी, काम, दिनाचार्य, संघर्षहरुबीच आएको दरार र फरकले कतै मलाई त्यही 'तिमी' सम्बोधनमा फर्काउने त होइन, शंका लाग्न थालेको छ। तँलाई मेसेन्जर र इन्स्टामा लेख्न नसकेर म सायद यो पत्र लेख्दै छु। अझ यसरी बुझ्, तेरो र मेरो मित्रता बीचमा आएको यो एक भूगोल खाल्डोलाई म धमिलो मित्रता भोगिरहेका कैयौँको कथासँग जोड्न खोजिरहेको छु।
तँ यसरी बुझ्, म यो सब लेखिराख्दा मेरो अघिको एस्ट्रेलाई कैयौँ पटक हल्लाइरहेको छु अनि धुवाँभरि रुमल्लिरहेका तेरो नाम लेखिएको सोचलाई एक पाना कपिमा उतार्न खोज्दै छु। यो काम कहाँ सजिलो छ र यार, तेरो साइडमा बसेर गफिनुनै सजिलो, छतमा डुब्दै गरेको घाम हेर्दै एकअर्काका जटिल सपनाहरु सुनेकै ठिक अनि रामपुर क्याम्पसको बाटो घुम्दै कुरा गर्दै खुट्टा दुखाउनु नै रमाइलो।
ब्याचलरका ती दिनहरु जहाँ म केही लेखेर तँलाई केही-केही सुनाउथेँ अनि तँ सधैँ उडाउँथिस्, म त्यही समय सम्झन्छु। अचेल समय नै कहाँ छ यार हामीसँग? मेसेन्जरमा पेन्डिङ मेसेजहरुको लाइन छँदै पो छ। हामी दुवैलाई त्यो लाइन मिलाउने फुर्सद पो कहाँ छ!
समय त धेरै बितेको छैन, उमेर त त्यति घर्केको होइन, तर मित्रतामा आउने उतारचढावका बहाबहरुमा म डुबेर एकफेर निराश किन नहूँ?
हा हा.. तँलाई यो लाइन पढ्दा 'गफाडी' भनेर दिमागमा आउँला, तर तैँले 'के छ ओई' भन्दा आफ्नो खास हाल बताउन मन नलागेर 'ठिकै छ यार' भनेर गफ हानेको विस्तारै पत्तो नपाउने भएको छस्, थाहा नपाउने भएको छस्। बेलुका ६ बजे गरेको फोन नसुन्ने भएको छस्। पटक-पटक गरेका भ्वाइस मेसेजहरु नहेर्ने भएको छस्। मैले तँलाई नै पठाउँछु भनेर खिचेका तस्बिरहरु अनि तँ गइरहेछस् मेरो पकडको परिधिबाट विस्तारै पर। मलाई यो सब थाहा भइरहेको छ, तर म भित्रको इगोले मलाई 'ओई, सुन् न यार, तँ नभए म म रहन्नँ जस्तो लाग्छ' भन्न दिँदैन। यसो भनिहाले मलाई कति कमजोर सोच्ला यस्तो लाग्छ।
छोड्दे साँच्ची यो सब कुरा, तेरो मास्टर्स पढाइ कस्तो चलिरहेछ? अहिलेका साथीहरुसँग मसँग जिस्किने जसरी दिल खोलेर जिस्किन्छस् कि हाँस्नको लागि हाँस्छस्, बोल्नको लागि बोल्छस् यार?
ब्याचलर्सका अन्तिम दिनहरुमा आफू खुब साथी बनाउन सक्ने मान्छे लाग्थ्यो, मानौँ ममा कुनै अलौकिक मित्र बनाउने गुण छ। तर विस्तारै थाहा पाउँदै छु, कति साथीहरुलाई समयले तानेर लैजाँदो रहेछ, कतिलाई जिम्मेवारीले बाँधेर अमुक बनाउँदो रहेछ, कतिलाई प्रेमले पन्छी बनाएर उडाएर टाढा पुर्याउँदो रहेछ, कतिलाई प्रगतिका बाछिटाहरुले छुन नमिल्ने गरी माथि पुर्याइदिँदो रहेछ, अनि कतिलाई हेर्न असमन्जस्य चिसोपनले तेरो र मेरो सम्बन्ध जस्तो बरफ बनाउँदो रहेछ।
सरल जिन्दगी, थोरै नातेदार, अझै थोरै साथीहरु बीचको मेरो सानो संसारलाई म किन सम्पादन गर्न सकिरहेको छैन, कहिलेकाहीँ दिकदारीले मन पोल्छ! मैले कैयौँ रात तेरो-मेरो ब्याच्लर्स दिन सम्झिँदै पफहरु भ्याएको छु, कैयौँ केस्राहरु लेख्दै नोटबुकहरु बुढा भएका छन, कैयौँ पल यो चिसोपनलाई तताउने जुक्तिहरु बारे मनोविचारी बन्न प्रयत्न गरिरहेको छु, तर तँलाई यी सब बारे केही थाहा पनि छ र? वा तँलाई कहिले लाग्छ, म तेरो बारे सोँचेर केही लेख्दै छु?
तँलाई त म घमण्डी लाग्न थालेको छ साथी किनकि, म तेरो फर्मल बोलीचालीमा पूरानो मेरो साथी भेटाउन छोडेको छु। तेरो हरेक व्यस्त दिनका बीच मैले चिहाउने तेरा पलमा मैले हाम्रा सुखदुःख कम तेरो कार्य व्यस्तताका निन्याउरो अनुहार बढी देख्दै छु।
मेरो ड्याडि भन्नुहुन्थ्यो, 'तँ ठूलो भइस् केटा, अब गम्भीर नभए कहिले हुन्छस्?' तेरो नजिक आफूलाई पाउँदा जहिले मदहोसी, उच्श्रृङ्खल र बेप्रवाही बढी पाउँथेँ!
अचेल ड्याडिको गम्भीर केटो त म भैसकेको छु तर रङ्गिन मन, हावाको वेग बोकेका सपनाहरु, आभारा सुन्दर इच्छाहरु एकदम कम छन मसँग। परिपक्क भएर जिन्दगी सुखी हुन्छ लाग्थ्यो, गम्भीर भएर दिनरात व्यवस्थित हुन्छ लाग्थ्यो। तर, खोलाको ढुङ्गा माटोमा रमाउने बहाबलाई, पाइपमा भरेर सहरी छतमा बगाउँदा कहाँ त्यो निश्चल पाग्लपन भेटियोस्, म त्यही खोलि भएको छु।
सम्झिन्छु हाम्रा एक्कासी बन्ने योजनाहरु, कल्पनालाई यथार्थ बनाउन कति निमेष नखर्चिने हाम्रा रमाइला रङ्गिन सन्ध्याहरु, कहिल्यै नसकियोस लाग्ने रातहरु! अचेल योजनाहरु बन्दैनन्, सन्ध्याहरु अल्छीपनामा अल्झिएरै बित्छन्, रातहरु मध्यरातमै बिहानीजस्तो लाग्छन्।
तँसँग छुटेपछि तँजस्तो तँ पाउन सकिनँ, मजस्तो म पाउन सकिनँ। प्रिय साथी, के तैँले खाजा टाइममा पिउने चियाका चुस्कीहरुमा मलाई मिस गर्छस्? रामपुर क्याम्पसको पश्चिमी गेटबाट निक्लिँदै गर्दा हामीले रमाइलो गर्ने रोज क्याफेमा के मेरो झझल्कोले तँलाई अझै सताउँछ?
कि ह्या जिन्दगीमा कालो गए गोरो आउँछ भन्ने सम्झिँदै त्यही बाटोमा तैँले बाइक एकचोटि बेस्सरी हुइँकाउछस् अनि मलाई बिर्सेको बेहिसाब अभिनय गर्छस्?