मलाई सोध्ने गर्छ
म भित्रको 'म' ले-
के यो हतारो चाहेकै हो त?
म मौन भैदिन्छु
म भित्रको 'म' कहिलेकाहीँ
मसँग रिसाउने गर्छ
घुर्कीं लगाउने गर्छ
फाट्छ, टुट्छ, रुन्छ
तर पनि म भित्रको 'म'
मभित्र नै छ
कहिलेकाहीँ अनायासै प्रश्न सोध्छ
तर म मौन भैदिन्छु
कहिलेकाहीँ आशा देखाइदिन्छु
एक, दुई दिन शान्त हुन्छ
तर म भित्रको 'म' आजकाल बाठो हुँदै जाँदैछ
कहिलेकाहीँ जे गर्दा नि मान्दैन
चुप हुँदैन
चिच्याइरहन्छ
तर म मौन हुन्छु
कुनै बिहानी म उठिसक्दा पनि
म भित्रको 'म उठ्न मान्दैन
बहाना बनाउँछ, अल्छी गर्छ
तर म मौन बनिदिन्छु
कहिलेकाहीँ म भित्रको 'म' ले
नाइ भन् भन्दा, म भन्न सक्दिनँ
म भित्रको 'म' खिन्न हुन्छ
तर म मौन भैदिन्छु
म भित्रको 'म'
आजकाल स-साना कुरामा खुसी खोज्न थालेको छ
म भित्रको 'म' एक्लै पनि रमाउन थालेको छ।
म पनि आजभोलि
म भित्रको मसँग कुरा गर्न थालेको छु
कहिलेकाहीँ, बिना बादल पनि वर्षिने गर्छ म भित्रको 'म'
अनि कहिलेकाहीँ खुला हुने गर्छ, काला बादललाई चिरेर
म बुज्न सक्दिनँ म भित्रको 'म'लाई
तर अरु मलाई बुझेको झैँ गर्छन्
म चिन्न सक्दिनँ कहिलेकाहीँ
म भित्रको 'म'लाई
तर मान्छेहरु यो त्यस्तो-यस्तो भनेर टिप्पणी गर्छन्
खैर जे होस्
आजभोलि म भित्रको 'म' धेरै कुरा गर्ने भएको छ
आफ्ना-पराई चिन्ने भएको छ।