बाँकी छ
बर्सेनि लिपपोत गर्दा-गर्दा
नजानी-नजानी बाक्लिएको भित्तालाई
नमिलेका ठाउँमा लिउनसमेत खुर्केर
पातलो पारेजस्तै
पटक-पटक थपिएका बुँदा अनि संशोधनलाई
झनै बाझिएका धारा अनि उपधारालाई
बाँकी छ
या त हटाउन या अझै मसिनो पार्न।
आमा भन्नुहुन्छ, बाँकी छ
दक्षिणको बाछिटाले
पटक-पटक हानेर खोक्रो पारेको भित्तामा
मिलेसम्म सिमेन्ट लगाउन
तर बा भन्नुहुन्छ, बाँकी छ
उत्तरमा उप्किएको भनिएको
एउटा सानो दरार टाल्न
तर बाँकी छ
सन्तानको चाहना चाहिँ मुद्दालाई
अलि परको मुखियाकहाँ लैजान
बाँकी छ।
बाँकी छ,
केही वर्षको अन्तरालमा
झुटा मुद्दा र बहाना बोकेर
पहिलेजस्तै पटक-पटक ठुँग्न आउने
ती दलालहरूलाई
अब त साँच्चै नै
ठेगान लगाउन
बाँकी छ
नयाँ युगमा प्रवेश गर्ने
एउटा छुट्टै खाका कोर्न।
बाँकी छ
भाकाअनुसार मादल बजाउन
मादलअनुसार खुट्टा उचाल्न
अनि सोहीअनुसार ताली बजाउन
बाँकी छ
यी अक्षमहरूबाट
ताल्चा खोसेर बागडोर सत्ताको
बाँकी छ
सम्हाल्न जनता भित्रैबाट देशलाई
ठुँगियौँ पटक-पटकका परिवर्तनले
आशा बोकेका ठुँडले घोच्दा
रित्तियौँ पटक-पटकका आश्वासनले
आफ्नैमाथि विश्वास गर्दा
त्यसैले अब नसोचेर कतै दायाँ-बायाँ
एकचोटि पड्कन बारुदजस्तै
भरिएर टनाटन बन्दुकभित्र
बाँकी छ सहिदका सपनाहरूलाई
साँच्चै बाँकी छ साकार पार्न
बाँकी छ मरेको न्याय बचाएर
लुटिएकी आमालाई खुसी पार्न
बाँकी छ साँच्चै यति गर्न।