एउटा चित्र
विचित्र लाग्यो,
त्यही विचित्र सचित्र लाग्यो
अवाक भई हेरिरहें
घरमुलीलाई बाहिर राखी
प्रवेशद्वारमा तगारो लाग्यो।
मन्दिर हो जुन
जहाँ आस्थाले, भरोसाले
शिर निहुराउँछन मानिसहरु
बटुक र पूजारीहरु कालो रङ्गाउँदैछन्
सुनौलो गजुरमा
अब आस्था, भरोसा
कहाँ अड्याउनु लाग्यो!
भत्किँदैछन् विश्वासहरु
बदलिँदैछन् सत्य पनि
डग्मगाउँदैछन् भरोसाहरु
टुक्रिँदैछन् आस्थाहरु
रछ्यान छ्यापिएको अनुहारलाई
सम्मान गर्न पनि त
सम्मानयोग्य हुनुपर्छ लाग्यो।
एउटा चित्र
विचित्र लाग्यो
त्यही विचित्र सचित्र लाग्यो
अवाक भई हेरिरहेँ,
घरमुलीलाई बाहिर राखी
प्रवेशद्वारमा तगारो लाग्यो।