भन्थे सबैले विदेशमा त फल्छ रे पैसाको रुख
त्यही सुनेर आएको मैले, अहिले पाइराछु कुकुरले नपाउने दुःख
साहुले भन्छ- उठ केटा, उठेर झाडु पोछा लगा
ओए, यता हेर् त मेरो वरिपरि माखा होलान्, तिनी पनि भगा
यसो पनि हाँस्न दिन्न, हाँसेपार भन्छ, तँ धेरै नजिस्के
साँझसम्म त्यो काम नसकेपार मेरो कम्पनीबाट त निस्के
एकान्त ठाउँ खोज्छु र रुँदै सम्झिन्छु जन्मथलो गाउँघर
सोच्दै यतिखेर त मेरो छोरो हिँड्ने भए होला, वरपर
महिना कटेपछि पैसा आउँछ भन्ने आश लाग्छ
कहिलेकाहीँ त दिनभरिको कामको थकाइले निन्द्रासमेत भाग्छ
'यो साल त आऊ है बाबु' भनी आमाले भन्छिन् फोन गरी
गहभरि आँसु राख्दै भन्न बाध्य हुन्छु, 'यो साल पनि आमा सरी'
सँगै पढेलेखेका साथीले भन्छन्, 'लाहुरे कहिले आउँछस् तँ?'
हाँस्दै 'यो साल पनि छुट्टी पाएन यार' भन्न बाध्य हुन्छु म
दिदीले खुसी हुँदै भन्छिन्, 'तिहार आयो भाइ'
भक्कानिँदै रुँदै जवाफ दिन्छु, 'प्लेन टिकट पाइएन, यो साल पनि नाई'
उनले फोन गरी सोध्छिन्, 'पियारा कति गते आउँछौ?'
मन सम्हाल्दै भन्न बाध्य छु, 'अर्को वर्ष यही दिन, तिमी देब्रे साइडमा तिम्रो श्रीमान् पाउँछौ'
स्वदेशमा पर्वको दिन सबैको रंगिन निधारभरि
विदेशमा गाउँघरको सम्झनाले झरी लाग्छ आँखामा मेरो दिनभरि।