पढ्न त खुब पढियो
एक-एक वर्ष हैन
सोह्र-सोह्र वर्ष पढियो
नपढेको कहा हुँ र
खुबै पढेको हुँ पढ्न त
कुरा यत्ति हो
काम मात्रै नलागेको हो, पढेका कुरा।
पढ्न त सबै पढेको हुँ
केही छैन नपढेको भन्नु
सोह्र-सोह्र वर्षसम्म स्कुलका भित्ताहरू पढेँ
साथीका अनुहारहरू पढेँ
किताबमा भएका निर्जीव अक्षरहरू पढेँ
तीन-तीन मोड भएका
गणितका सुत्रहरू पढेँ
मरेका दिनहरू पढेँ
समाज पढे, देश पढेँ
विश्व पढेँ, ब्रह्माण्ड पढेँ
पढेँ, नौलाख ताराहरू
पढेँ, सत्ताइस नक्षत्रहरू र सबै-सबै तत्वहरू
यी सबै-सबै पढ्ने म
कहिल्यै पढ्न सकिनँ मैले
आफ्नै घरलाई
यसैले होला घरको एकअक्षर 'घ' पनि थाहा छैन मलाई।
पढ्न त पढेँ वर्षौंसम्म
किताबका पानाहरू पल्टाई-पल्टाई
तर, के चाँहि पढेँ?
केही थाहा छैन मलाई।
सोचेँ, पढाइको भर्याङ चढेर
ठूलो मान्छे बनेको छु
तर, त्यो रहेनछ
म त उमेरको भर्याङ चढेर
बुढो मान्छे भएको रहेछु आज
सोचेँ, कपालहरू फुले पढ्दा-पढ्दै
दाँतहरू झरे, पढ्दा-पढ्दै
दुनियाँले नमस्कार गर्न थाले मलाई
मेरो पढाइ हेरेर
सोचेँ, विज्ञ हुँदा रहेछन् बुढाहरू
म विज्ञ भएर बुढिएछु
तर, त्यो सब झुटा रहेछ
म त घाम खाँदा-खाँदै
बुढो भएछु घाम लागेर
त्यसमाथि उमेरको भर्याङ चढेर।
पढेको छु तीन-तीन मोड भएका
गणितका घुमाउरा सुत्रहरू
लेख्यो भने पूरा जिन्दगी नै भरिने
अर्थशास्त्रका लामा-लामा परिभाषाहरू
घोकी-घोकी याद गरेको छु
चन्द्रमामा बस्ती बसाल्ने
विज्ञानका सिद्धान्तहरू
ब्रह्माण्डको सत्य ज्ञान सिकाउने
शुद्ध नेपाली व्याकरण
पढ्न त पढेकै हुँ यी सबै-सबै कुराहरू
तर, पढेर के गर्नू
आफ्नै जीवनको जिउने सुत्र नपढेपछि
आफ्नै घरको परिभाषा नबुझेपछि
आफ्नै जीवनको सिद्धान्त नजानेपछि
के गर्नू, आफ्नै जीवनको व्याकरण नबुझ्नेले
ब्रह्माण्डको व्याकरण बुझेर
के गर्नू, यी सबै-सबै कुराहरू पढेर
एकदिन मर्नु पर्नेछ उमेरको भर्याङ चढेर
जानुपर्नेछ मरेको दिन
अहमताको बीउ पढाइलाई जलाएर।
पढेकै हुँ मैले
चुम्बकका दुई ध्रुवहरू
उत्तर र दक्षिण
रटेकै हुँ, चुम्बकका दुवै ध्रुवहरूका सिद्धान्तहरू
व्यर्थ रहेछ सबै पढाइ
पढ्नु पर्ने रहेछ जीवनका दुई ध्रुवहरू
सुख र दु:ख
पढ्नु पर्ने रहेछ सङ्गतका दुई ध्रुवहरू
मिलन र विछोड।
पढ्दा-पढ्दै मान्छे बुढो हुने कुरा झुटा रहेछ
मान्छे बुढो हुँदो रहेछ घाम खाएर
मान्छे माथि पुग्दो रहेछ
उमेरको भर्याङ चढेर
अचम्मको छ यो उमेरको भर्याङ पनि
देखिँदैन कहीँ कतै कहिल्यै पनि
तर, कहिल्यै छोड्दैन मनुष्यलाई
जीवनमा सबै-सबै कुराहरू घटबढ हुदैँ जान्छन्
तर, सधै बढ्ने गर्दोरहेछ उमेरको भर्याङ
जो देखिँदैन, जो भेटिँदैन
जति पढे पनि रोक्न सकिदैँन
उमेरको भर्याङलाई
जति कमाए पनि किन्न सकिदैँन
उमेरको भर्याङ
जीवनको सबैभन्दा ठूलो भर्याङ हो
उमेरको भर्याङ।