यस्तो काव्य कथा छ लेख्नु भवमा ॐ कार जस्तै बनोस्
द्यौताले, नरले खुला हृदयले पीयूष प्याला पिओस्
पृथ्वी टक्क अडून् मुसुक्क मनले मुस्काउँदै मस्किँदै
इन्द्रै छक्क परून् सुनेर कविता नौलाख तारा बलून्।
चौतारी वनमा यता सहरमा सानन्द भाका बजून्
गौरीले सुखले, प्रसन्न मनले यही गीत गायिरहून्
चन्द्रै दङ्ग परून् निमग्न रहमा मुस्कान नौलो छरी
सारा देव भनून् छ काव्य कसिलो आशीष देऊन् हरि।
रोयो सुँक्क कठै भने धुरुधुरू वालो यहाँ भोकले
फुट्यो पट्ट भने झनै पटपपटी छाला उसै रोगले
सञ्चो होस् सब रोग भोक सहसा ऐश्वर्य-ऐश्वर्य हुन्
मान्छेका मनका हटून् कहर ती श्री सूर्य चम्की रहून्।
मान्छेका घरमा बलून् झलमली आशा जगाई दीप
यात्रामा सबले पियून् मखमली माधुर्य काव्यामृत
धर्ती स्वर्ग बनोस्, बनोस्, बनिरहोस्, समृद्धशाली बनोस्
गोडी काव्य सुधा सदा अजर होस् भूस्वर्ग बाँचिरहोस्।