सायद हाम्रो पहिलो भेट जाडो महिनामा भएको थियो। सायद पहिलो भेटमा सिधैँ नजरले हेरिएन होला! अनि गफ पनि खासै भएन होला, जति पटक बोल्थेँ तपाईं शब्दले सम्बोधन पनि गरेको थिएँ। सायद विपरीत लिंगी भएको कारण पनि हामी नजिकन सकेनौँ तर समय, परिस्थिति र प्रबिधिले हामीलाई नजिकायो। समयक्रमानुसार विस्तारै हामी आपसमा घनिष्ठ पनि भयौं।
समय बित्दै गयो, हामी हरेक सुखदुःख साट्ने, साथ सहयोग गर्ने अनि हौसलाको केन्द्रबिन्दु पनि भयौँ। हामी विपरीत लिंगी भए पनि यौन प्राथमिकता कहिले नपरेको मान्छे अनि साथ र सहयोगमा हाम्रो सम्बन्ध एक असल र आत्मीय मित्रको रुपमा मात्र रह्यो। हाम्रो सम्बन्ध देखेर कतिलाई डाहा हुन्थ्यो त कति कुरा काट्नमा व्यस्त हुन्थे। तर पनि हामी यसरी नजिकियौँ कि देख्नेलाई लाग्थ्यो हामी प्रेमी-प्रेमिका हौं।
सबैले सोध्ने गर्थे कि 'तिमीहरु बिहे कहिले गर्छौ?' भनेर तर हाम्रो एउटै जवाफ थियो- हामी प्रेमी-प्रेमिका होइनौं, मात्र केवल मित्र हौँ। तर सुन्नेहरुले जति भने नि पत्याउँदैन थिए किनकि कलेज उमेर, बढ्दो जवानी, आपसको सामीप्यता, अनि केही कुरा पनि हामीबीच लुक्दैन थियो। सायद समाजले यही कुरा पचाउन सकेन। यस समाजले केटाले केटी र केटीले केटा साथी स्वीकार्दैन। सायद यसैको परिणाम थियो हाम्रो सम्बन्धमा दरार आउनु।
जब हाम्रो कलेज लाइफ सकियो तब पनि हामी हरेक समय नजिक थियौँ। कहिले भेट, कहिले म्यासेज, कहिले भिडिओ कल आदि इत्यादिबाट पनि हामी कनेक्ट नै थियौँ।
अब रोजगारी गर्ने समय आइसकेको थियो। म राम्रो रोजगारीको खोजीमा थिएँ। समयले साथ दियो भनौँ या आफ्नो योग्यताले, जे होस् तत्कालको लागि एउटा आइएनजिओमा अफिसरको जब मिल्यो। हामी निजामती अफिसर तयारीमा समेत थियौं। मेरो जागिर भएपछि म केही महिना काठमाडौँमै रहे पनि समय-समयमा आफू मातहतका कार्यालयको अनुगमन र नियमन गर्न बाहिर जानुपर्ने हुन्थ्यो। कहिले हप्ता दिनमा फर्किन्थेँ त कहिले महिना नै लाग्थ्यो। तर पनि हाम्रो मित्रतामा कमि आएको थिएन।
म आफ्नो कामको सिलसिलामा केही समय बाहिर थिएँ, कामको व्यस्तताले सामाजिक संजालमा थिइनँ। करिब दुई महिना छि काठमाडौँ आइपुगेँ अनि सिधैँ उनलाई कल गरेँ तर उनको मोबाइल अफ थियो। उनको भाइ, बहिनी कसैबाट पनि रिप्लाई आएन अनि सामाजिक संजालबाट कनेक्ट गर्ने खोजे पनि कुनै पनि माध्यमबाट रिप्लाई आएन।
अब उनलाई भेट्ने कसरी भन्ने कुरामा दिमाग चलिरह्यो। कलेज छोडेको एक वर्ष भैसकेकोले अरु साथीसँग कनेक्ट गर्न खोजेँ तर पनि कसैले सम्पर्कमा रहेको कुरा गरेनन्। करिब एक हप्तापछि उनको पुरानो रुम मेटसँग भेट भयो। उनको साथीसँग के छ? कसो छ? भन्ने भन्दा पहिले सानी कता छे? तिमीलाई थाहा छ? भन्ने प्रश्न गर्न पुगेछु। उनले छोटो उत्तर दिइन्- 'सानी डेढ महिना भयो घर गैसकी। अब आउदिन।'
'मोबाइल अफ छ, म्यासेज रिप्लाई गर्दिन, अनि कन्ट्याक विहीन भएर बसेकी छे किन हो? तिमीलाई थाहा होला नि!' मैले भनेँ।
'कुनै दिन सबै भनौँला, अहिले म बिजी छु। भरे, भोलितिर कल गर सबै विस्तारमा भनौँला। अहिले बाई।'
सानीको साथीको यस कुराले मलाई अझै तनावमा राख्यो। केही त छ! के भएको हुनसक्छ? आखिरमा मेरो गल्ती के थियो मबाट टाढा हुनलाई? हामीबीच नराम्रो सम्बन्ध पनि थिएन? न मैले कहिले उनलाई नराम्रो भने! तर पनि यसरी पर हुनुपर्ने के नै थियो र? सायद मसँग रिसाएर गएकी हुन्। यसरी टाढा भइन् कि लाग्न थाल्यो अब उनको अगाडि कसरी मुख देखाउने? खैर भरे सरुलाई कल गरेर सोध्छु।
बेलुका सात बजे तिर सरुलाई कल गरेँ। 'सरु, के छ खबर? अघि दिउँसो तिम्रो खबर सोध्न नि बिर्सेछु सरी ल।'
'इट्स ओके, अब तिमीबाट सानी टाढा भैसकी बिर्सिदेऊ। सानी अब तिम्रो जिन्दगीमा आउनेछैन। उनी घर गैसकी, सायद यो मंसिरमा उनको बिहे पनि हुन्छ। उनको बाबा काठमाडौँ आएर उनलाई लिएर जानुभयो, सानीको लागी केटा हेर्न आएको रैछ घरमा।'
'सानी अफिसर बन्छु भन्थी, यसरी आफ्नो करियर बनाउने सपना कसरी पूरा गर्छे? बिहेको उमेर भयो भन्दैमा आफ्नो करियर कसरी बिगर्न सक्छे सानीले?' मैले सरुलाई सोधे।
'मसँग बसेर धेरै रोई सानी, मेरो सपना सकिने भयो भन्दै! मैले के नै गर्न सक्थेँ र? अंकललाई सम्झाउने कोसिस नगरेको पनि हैन मैले तर मान्नु भएन। बिहेपछि पनि पढ्न सक्छे, जहाँ इच्छा त्यहा उपाय भनेर भन्नुभयो। केटा व्यापारी हो, पैसाको कमि छैन, आखिर अन्तिममा चाहिने पैसा नै त हो, जागिर गरे नि व्यापार गरे नि। सानीको जिन्दगी बन्छ भनेर बाबाले लग्नु भयो। तिमीलाई थाहा नै छ सानी सबैको कुरा नकार्न सक्छे तर बाबाको सक्दिन, त्यसैले नाई भनिन।'
'ठिकै छ यदि तिमीसँग सानीको कन्ट्याक भयो भने मैले सम्झेको छ भन्देऊ ल। मेरो मोबाइल नम्बर छैन भनिन् भने पनि नम्बर दिएर एक कल गर्न लगाइदेऊ है?' भनेर कल काटिदिएँ।
यता अफिसको काम उता घरबाट बिहेको दबाब मलाई पनि। म एक्लो महसुस गर्न थालिसकेको थिएँ। मेरो खुसीको पल अनि तनाब कोसँग शेयर गरौँ? मैले पनि सानी सधैँभरि मेरो साथमा छे भनेर अरु साथी बनाइनँ। त्यसैले होला आज म एक्लो भैसकेको थिएँ। आखिर मेरो एकमात्र साथी जो मसँग छैन जसको बिना म अपुरो र अधुरो महसुस गर्न थालिसकेको थिएँ।
आज सानी मसँग छैन। हामी अफिसर तयारी सँगै गर्दै थियौँ। बाहिरी जागिर दैनिकी चलाउन सहज होस भनेर गरेको थिएँ तर उनी पढाइमा फोकस हुन्न भनेर नगरी बसेकी थिइन्। लाग्यो कि अब मेरो पढाइ पनि कमजोर बन्ने भयो। मेरो आँट भरोसा बनेको व्यक्ति अनि सहयात्री नहुँदा असहज त पक्कै थियो। तर पनि हामीले देखेको सपना पूरा गर्नु थियो। अफिसरको परीक्षा दिने दिन आयो र परीक्षा केन्द्र पुग्दा फेरि पनि सरुसँग भेट भयो।
फेरि पनि मेरो उही प्रश्न थियो 'सानीको के छ खबर? सम्पर्क भयो? मेरो बारेमा सोधिनन्?'
जवाफ सरुले एक वाक्यमा दिइन् 'अहँ! सम्पर्क भएकै छैन।'
'ल बेस्ट अफ लक सरु' भनेर परीक्षा दिन कक्षा कोठा प्रवेश गरेँ।
त्यसपछिका दिन यसैगरी कहिले अफिसको काम कहिले सानीको यादमा दिन बित्न लागे। यही बीचमा म अधिक मदिरापान गर्ने भैसकेछु। सायद मलाई गाली गर्ने, सम्झाउने, सहयोग गर्ने कोही थिएनन् केवल थिए त आज पार्टी गरौँ भन्नेको जमात। फेरि पनि दैव दाहिना भएर आए, मेरो नाम अफिसरको लिस्टमा अटाएको थियो। मेरो नामभन्दा केही तल सानीको नाम पनि देखेँ। तीन पुस्ते नाम सहित कन्फर्म भएपछि त मेरो खुसीको सीमा थिएन। तर के गरौँ न यो खुसी साट्न सानी मसँग थिइन् न सम्पर्कमै।
अन्तर्वार्ताको समय तोकिएको थियो, सानीको पालो मेरो पालोको भोलिपल्ट। मलाई अन्तर्वार्ताभन्दा सानीसँगको भेट महत्त्वपूर्ण थियो। अफसोच! भोलिपल्ट उनलाई भेट्न जान सकिनँ। केही दिनपछि नियुक्ती लिनु थियो हामीले र हाम्रो भेट त्यहीबेला भयो तर हाम्रो बोलिचाली भएन। मैले सोचेँ, मसँग बोल्नै नहुने मैले केही गरेको थिए र? अनि उनले मलाई सम्झेको खबर पनि कसैलाई छाडेकी थिइनन्। कसरी? के? भन्दै बोल्न जाँउँ, उनी पनि मलाई हेरिरहिन् तर बोलिनन्।
अफिसर नियुक्ती हुने बेलासम्म पनि उनको बिहे भएको रहेनछ तर बिहेको कुरा चलिरहेको रहेछ। यता मेरो बिहेको प्रक्रिया सुरु हुनथाल्यो। बाबा-ममीलाई केटीको कुरा आउँथ्यो तर म हरेक केटी रिजेक्ट गर्दै गइरहेँ। मेरो मानसपटलमा एउटै कुरा दौडिरहन्थ्यो, आखिर सानी किन बोल्दिनन् मसँग? मैले धोका दिन हामीमा प्रेम पनि त थिएन। मैले उनलाई प्रेमिका कहिले स्वीकारेको पनि छैन न कहिले उनलाई चोट पुर्याउने काम गरे! आखिर कुरा कहाँ बिग्रियो?
सानीको लागि कुरा चलेको केटा सहरकै नामी व्यापारी थियो। उनको बिहे पनि भयो। केही समयपछि सानो परिवारमा परिणत पनि। कहिलेकाहीँ अफिसको कामको सिलसिलामा सानीसँग देखादेख हुन्थ्यो। न उनी बोल्थिन् न म नै। त्यो हँसिली, मुस्कानको खानी, चुलबुली, छुच्ची, सहयोगी, बाठी मान्छे सानी तर किन?
मैले पछिल्लो समय उनको चेहरा हँसिलो कहिले देख्न सकिनँ। जहिले देख्छु मलाई हेर्दै न्याउरो, अँध्यारो हुन्छिन्, भावना ओतप्रोत छ तर पोख्ने ठाउँ नपाएकी, पलपल जलेर हिँडेकी जस्ती आखिर किन यस्ती? यस्तो साथी होइन मेरो! आखिर के भयो? के छ कुरा? जुन कुराले सानीलाई पीडा दिइरहेछ? कुरा बुझ्न आवश्यक छ। केही समाधान निस्किहाल्छ कि लाग्यो र उनकै अफिसमा काम गर्ने एउटा स्टाफलाई कफी र खाजा खान जाने आग्रह गरेँ। अनि दुवैजना एउटा कफी सप गएर बस्यौं।
'म्याडम सधैँ यस्तै मुडमा हो कि कहिलेकाहीँ मात्र हो सिस्टर?' मैले सोधेँ।
'खोई सर, प्रायः यस्तै मुडमा हुनुहुन्छ। खासै बोल्न रुचाउनु हुन्न। कहिलेकाहीँ हजुरको नाम लिनुहुन्छ अनि भन्नुहुन्छ 'समाजले मलाई बर्बाद गर्यो या मित्रताले थाहा छैन। केटा साथी बनाउँदाको सजाय सबैतिरबाट पाएको छु। रमा तिमी चाहिँ केटा साथी नबनाऊ है?' आखिर किन? भनेर सोध्दा उत्तर दिनुहुन्न। बस यही हो सर उहाँले भन्ने। म्याम सहयोगी हुनुहुन्छ, काम पनि राम्रोसँग गर्नुहुन्छ तर मुड बेलाबेला अफ देखिन्छ। लाग्छ मनभरि पीडा बोकेर हिँड्नु भएको छ।'
खाजा खाने समय सकिसकेको थियो, त्यसैले अफिसमै भेट्छु आज भनेर सानीको कार्यकक्षमै प्रवेश गरेँ।
म प्रवेश गरेको देख्नेबित्तिकै सानीमा हड्बडाहट भयो। त्यही पनि सम्हालिँदै बस भनेर आग्रह गरिन्। 'के खान्छौ चिसो या तातो?'
'केही नाई। मलाई तिमीसँग भेट गर्नु थियो। त्यसैले सरी, आज तिमीलाई आँट गरेर भेट्न आएँ।'
'सरी भनेर मलाई लज्जित नबनाऊ, हाम्रो मित्रता सबै विगत भैसके अब हामी अन्जान छौँ। म विगत सम्झन चाहन्नँ। धेरै कष्टले आज म सम्हालिएर बसेकी छु। मलाई एक्लै खुसी हुन देऊ प्लिजऽ' सानीले आँखाभरी आँसु पार्दै भनिन्।
मलाई पनि के गरौँ र कसो गरौँ भयो। तर पनि प्रश्न सोध्ने साहस जुटाएर सोधेँ, 'आखिर के थियो र? मसँग टाढा हुनुपर्ने कारण! हाम्रो मित्रतामा कमि थियो र? हामीबीच साथीको सम्बन्ध बाहेक अरु सम्बन्ध पनि त थिएन नि? एक वचन सिर्फ एक वचन मात्र मलाई मेरो गल्ती कहाँ थियो भनेको भए मलाई चित्त बुझाउने बाटो हुन्थ्यो तिमीबाट टाढा हुन। तर तिमी यसरी विलोप भयौ कि अब मसँग कोही छैन, केही छैन भयो। तिमीसँग कन्ट्याक गर्ने खोजेँ, सरुसँग नि तिम्रो खबर सोधेँ तर कतैबाट रेस्पोन्स पाइनँ।'
'सरुलाई मैले केही नभन भनेको थिएँ। यता तिम्रो र मेरो बारेमा गाउँमा फैलिएको अफवाहले बाबालाई छोरी बिगारिस् भन्ने आरोप आउन थाल्यो अनि मेरो श्रीमानले पनि त्योसँग बोल्ने भेट्ने होइन भनेर बिहेअघि नै सर्त राख्नुभएको थियो। त्यसमाथि तिमी मेरो साथी थियौ, प्रेमी होइन। बाबाको इज्जतको अघि एक मित्र गुमाउनु र सामान्य सर्त पूरा गर्नु मेरो लागि ठूलो होइन। एक कान, दुई कान मैदान भने झैँ अफवाह फैलिएछ! 'सानीको त कलेजमा एउटा केटासँग लब परेको थियो! त्यो केटाले धोका दिएछ! अनि अहिलेसँगै अफिसरमा नाम निकालेको पनि रहेछ। अस्ती नियुक्ती समयदेखि भेट हुन थालेछ' भनेर। समाजले यो बुझेन या अफवाहमै वास्तविकता देख्यो! हामी साथी थियौं प्रेमी-प्रेमिका होइन। हामीबीच असल मित्रताको सम्बन्ध थियो, अनैतिकता होइन। तर यो समाजले केटा र केटीको सम्बन्ध र मित्रतालाई जहिले अनैतिकताले जोडिदियो। मित्रताको परिभाषालाई संकुचित बनाइदियो।
समय यति खराब भएर आइदियो कि अब हाम्रो सम्बन्धमा दूरी बढ्न त थालेकै थियो। गाउँमा केही नराम्रो सन्देश कसैले फैलाएछ! अनि त्यो कुराले मलाई घरबाट बिहेको दबाब आयो। पढ्न बन्द गर् भनेर बिहेको लागि बारम्बार घरको प्रस्ताव, आफ्नो अफिसर बन्ने सपना, बढ्दो उमेर, अनि धोका भन्ने शब्दले मलाई मानसिक तनाव बढाइरहेको थियो। यस्तो अवस्थामा म के गरौँ?
तिमीसँगको मित्रता मैले होइन, समाजले तोडिदिएको हो। यो संकुचित मानसिकताले तोडिदिएको हो। विपरीत लिंगीको मित्रताले तोडिएको हो। सक्छौ भने समाजले दिने मित्रताको परिभाषा बदल। सक्दैनौ तिमी, किनकि तिमी पनि त्यही समाजमा छौ। केही बोल्यौ भने उस्तै परे मेरो नाम जोडेर तिमीलाई बदनाम गराउँछ यो समाज।'
मेरो हरेक प्रश्न सधैँ तिमी तिर तेर्सिरह्यो तर मैले आफै उभिएको धरातल र समाज देखिनँ। हाम्रो सम्बन्ध मित्रतामा मात्र छ भनिरहेँ तर समाजले केटा र केटी बीचको मित्रतालाई कसरी हेर्छ? सोच्न सकिनँ। समाजले मित्रताको परिभाषा र व्यवहार अब बदल्नुपर्छ। मित्रताको विषयमा समाज रुपान्तरण हुनैपर्छ।