गाडधनको पूर्व-कथा
'घनरामले काठमाडौँमा घर किन्यो!'
यो हल्ला एककान दुईकान मैदान भयो। साधारण औकातको घनराम काठमाडौँमा घर किन्ने अबस्थामा पुग्यो। फेरि गाउँमै बसेर काठमाडौँमा घर जोड्यो।
'सानोतिनो घर हो र, साढे चार तलाको घर हान्यो!' आफ्नै आँखाले घर देखेर आउने अविकेशरले सुनायो।
'कति मूल्य हालेछ?' सुन्दरलालले जिज्ञासा जनायो।
'हैन त्यत्रो पैसा कहाँबाट ल्यायो घनेले!'
'कमायो होला नि कतैबाट। पैसाको खेलोफड्को गर्ने मान्छे नै हो।'
'हत्तेरिका! घरमै बसी बसी त्यत्रो घर हान्नु त चमत्कारै पो भो त।'
'बैंकबाट ऋण पनि निकालेको छ रे!'
'ऋण निकाले पनि दुई करोड पचास लाख भनेको सानो रकम हो र?'
'उसको बाजेले पनि उहिले गाडधन भेटेको कहानी हाल्छन् गाउँमा बुढापाकाहरु। त्यही गाडधनको रहलपहल अंश पनि हुनसक्छ।'
'होला होला! गाडधनबाटै जोडेको होला...' सुन्दरताले ओठ लेपार्दै अविश्वास जनायो। हत्केलामा मलिरहेको खैनीको धुलो टक्टक्याएर केहीबेरमा त्यही लेपारेको ओठको चेपमा घुसार्यो।
सानो ठाउँमा सानो कुरा पनि ठूलो रुपमा चर्चाको विषय बन्छ गाउँमा। गाउँघरमा हजार लाखको त मनग्य बखान हुन्छ। झन् करोड-करोडमा घर किनेको कुरा जताततै हल्लाको रुपमा फैलिने भैहाल्यो। चिया पसल, पँधेरो, जमघट, कचहरी काहीँ खाली छैन, कसैले न कसैले घनरामको घर खरिदको कुरा निकाली हाल्छन्। मानिसहरु अनेकन अनुमान गर्छन्। अनेकन शंका र अड्कालबाजी काट्छन्।
बिहानीको समय छ, चिया पसलमा मान्छेहरु क्रमशः थपिँदै गए। अविकेशर र सुन्दरलालको संवाद श्रृङ्खला तत्काउने अरु पात्रहरु हर्कनारायण, भक्ते माइलो, गोवर्द्धन आदिआदि पात्रहरु जोडिँदै गए। उनीहरुको कुराकानीको केन्द्रीय कथ्य घनरामको घर नै हो।
'घनरामले त्यत्रो पैसा कहाँबाट ल्यायो होला?' उदेक मान्दै भक्तेमाइलो चिच्यायो।
'न गतिलो कमाइ-धमाई छ, न गतिलो खेतीपाती छ, न बन्द-व्यापार छ, न ठेकदारी छ, न वैदेशिक कमाइ छ, कहाँबाट ल्याउनु त्यही बाजेको पालाको गाड्धन हुनुपर्छ नत्र कहाँबाट बर्सिनु' अविकेशरले फेरि जोड दिँदै बोल्यो।
गोवर्द्धनले प्रतिवाद जनायो- 'मेरा जिजुले घिउ खाएका थिए, लु मेरो हात सुँघ भनेजस्तो पो भो त तपाईंको कुरा।'
'नपत्याएर के गर्छौ? उसको बाजे गाड्धने साहुले गाडधन भेट्टाएकै हो' जवाफ दियो चिया पसलमा लामै समय वादविवाद चल्यो। आखिर सबै थाकेर भात खान घर-घर लागे।
हुन पनि घनरामलाई गाउँघरका मानिसहरु गाडधने बुढाको नाती भनेर चिन्छन्। उसको बाजेलाई गाड्धने साहु भनेर चिनिन्थ्यो उहिले उहिले। बुढा पनि उहिल्यै नै मरेको हो। उसको नाम मात्र अजर अमर बनिरहेको छ गाउँलेका मुख-मुखमा।
गाउँमा अहिले त ९० सालको भूकम्पको नालीबेली थाहा पाउने मान्छे एकादुई बाहेक कोही पनि छैनन्। गाडधने बुढाले गाडधन भेट्टाएको कुरा १९९० सालको भूकम्पसित जोडिएको छ। ९० सालको भूकम्पमै जन्मेको मान्छे पनि अहिले पचासी-छयासी वर्षका भैसके। भूकम्पभन्दा दस/पन्ध्र वर्षअघि जन्मेका मनग्गे बुढापुकाहरु थिए १५/२० वर्ष अघिसम्म। ती बुढाहरुले गाडधने बुढाले गाडधने भेट्टाएको कुरा रिठ्ठो नबिराई बताउँथे।
त्यसकै आधारमा मान्छेको मनमनमा गडी बसेको छ- गाडधनको किस्सा।
विसं १९९० माघ २ गते आइतबारको दिन २ बजे र २ मिनेट जाँदा भूकम्पले नेपाल कम्पायमान भयो। भनिन्छ भारतको विहार प्रान्तको मुंगेर जिल्लालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पमा ३१/३२ हजार नेपालीहरु किचिएर मरे। छ सात हजारको संख्यामा मानिसहरु घाइते भए। नेपाल भरिका एकलाख एक हजार पाँच सय ४९ घर लडे। हजारौँ पार्टी, पौवा देवल, स्तूपहरु भत्के। लाखौँको संख्यामा पशुपक्षीहरुको मृत्यु भयो।
ज्योतिषहरुका अनुसार त्यस दिन साँझ चार बजे सातै ग्रह एउटै स्थानमा बस्ने र आठौँको त्यहाँ दृष्टि पर्ने भएकोले केही अनिष्ट हुने कुरा पूर्व सूचित गरिएको थियो। ज्योतिष विद्यामा अगाध आस्था राख्ने तत्कालीन दक्षिणतर्फका कमान्डिङ जर्नेल मोहन शमसेर त्यो सूचना पाएपछि दरबार बाहिर पाल टाँगेर बसेका थिए अरे। उता तत्कालीन शासक श्री ३ जुद्ध शमसेर जबरा शिकार यात्रामा पश्चिम नेपाल पुगेका थिए। भुइँचालो जाँदा कञ्चनपुरको वनबासमा शिकार खेलिरहेका थिए।
भुइँचालोमा परी हजारौं मानिस मरेको थाहा पाएपछि मृत नेपालीलाई वैतरणी नदी तार्न महाकालीमा एक हजार गाई दान गरी काठमाण्डौ फर्के अरे।
सोही भूकम्पमा घनरामको पुर्ख्यौली घर भत्क्यो। हुन त घनराम भूकम्प गएको ३५ वर्षपछि जन्मिएको हो। सो बखत त्यो घरमा उसको बाजेबजैको भोगचलन थियो। दिउँसोको समयमा धर्ती कम्पायमान हुँदा उसको बाजे खिर्राबोटे डाँडामा गोरु चराउँदैथ्यो।
१९०२ सालतिर खोटाङ सिम्पानीका किँराति मिस्त्रीहरुले वडा मेहनतले बनाएको त्यो घर गर्लम्मै ढल्यो। संयोग घर भत्किँदा कोही घरमा कोही रहेनछ। बजै आफू सुठुनीबारीमा सुठुनी खन्दै थिइन्। केटाकेटी सबै खालीबारीमा डण्डीबियो र गीर खेल्दैथे। भूकम्पको धक्का अलिक कम भएपछि उसको बाजे कुदेर घर आए।
घर त ढुट्टोपिठो भएर लडिसकेको थियो। गारोवाला खोल्माले थिचेर भदौमा ब्याएको लैनोभैँसी थिलीपितिली भएर किचिएको थियो। आफ्ना कुप्राबाजे बनाएको पुरानो घर हेर्नै नसकिने गरी ढलेको थियो। घुमीघुमी घर हेर्यो। उसका आँखामा आँसुको भेल थामिएन।
भत्किन पनि उसको अँगेना र ओछ्यानको डिलबाट पूर्वपश्चिम लाइन कोरेर भत्काए जस्तो गरी घरको आधा भाग कोठेबारीको कान्लो सहित बारीको सोती गरामा झरेको थियो। अँगेनाबाट बीस हात गहिरो चिरिएर भत्किँदा घरको गर्भगृहको माटो बुङ्ग बाहिर निस्किएको थियो।
घर भत्केपछि राति बालबच्चालाई ओतमा राख्न नरुवा काटेको बारीमा फरिकाले बेरेर माथिबाट पुराना घुमको छाप्रो हाल्यो। घर भत्केपनि पुरिएका हाँडाभाँडा मालमत्ता र कन्तुर निकाल्न माटो ढुंगाको ढिकमुनि खन्ती लिएर खोस्रिन थाल्यो।
बारीको कान्लो सहित घरको आधा भाग लछारिएर तल्लो गरामा पुगेकोले टाँडमा बुइँगलमा भएका बस्तुहरु आधाउधी माथिल्लो गरामा आधाउँधी तल्लो गरामा छिरलो बनेका थिए। अँगेनाको डिल चिरिएको दस हात जति गहिरो ठाउँमा उसले एउटा घ्याम्पाको बिट देख्यो। ऊ आश्चर्य चकित बन्यो।
कोदालो खन्तीले सो ठाउँमा खोस्रिँदै जाँदा कालो तामे घ्याम्पा फेला पर्यो। उसले नसोचेको कुरा भेट्यो। तामेघ्याम्पाको मुखमा ढकनी छ। ढकनीमा एक भोटे ताल्चा झुण्डिएको छ। उसले अनेक सम्झिन खोज्यो। आफ्नो घरमा त यस किसिमको तामे घ्याम्पै थिएन। उसलाई सम्झना भयो गाडधनको कुरा।
उसले बाल्यकालमा बाजेको मुखबाट सुनेको हो। हाम्रा पितापूर्खा सो समयमा निकै धनी थिए। त्यो धन चोरडाकु र लुटेराबाट जोगाउनु कतै गाडधनको रुपमा लुकाएका छन् अरे। तर कहाँ कति कसले लुकाएको हो त्यसको एकिन विवरण कसैसित छैन। हुने कुरा पनि भएन। उहिल्यै कुन जमानाको कुरा हो। लुकाउनेले पनि मर्ने बेलामा आफ्ना छोरा नातीलाई त्यसको सुइँको दिन पाएनन्। कति पुस्तासम्म गाडधन राखेको कुरा अज्ञातै रह्यो।
शक्तिशाली भूकम्पले धर्तीको गर्भ फुटाएर गाडधन बाहिर निकालिदियो। उसले हल्लाखल्ला नगरीकन वडा तजविजले घ्याम्पो निकाल्यो। कैयौँ दिन अर्थात् नयाँ घर नबनेसम्म परालले छोपेर राख्यो। पछि घर बनेपछि नयाँ घरमा थन्काएर बिर्को खोल्यो। त्यसमा जोरबिटे कम्पनी रुपैयाँ, सो समयका मूल्यवान सिक्का, गरगहना, अन्ती, ढुंग्री, कल्ली, चुरा हारीका पोका, काँसे बटुका र थालहरु त्यो समयका निकै मूल्यवान् सामाग्रीले घ्याम्पो टम्म भरिएको रहेछ।
घरका जहान-परिवार बाहेक कसैलाई थाहा नदिई गुमसुम-गुमसुम रुपमा गाडधनलाई विस्तारै-विस्तारै सदुपयोग गर्यो। तिनै पैसाले भैँसी किन्यो। गाई किन्यो। घर बनाउँदाको ऋण तिर्यो। दुईटी छोरी हुर्किसकेको थिए। तिनको बिहेदान गर्यो। जेठा छोराको बिहे गर्यो।
व्याँसीमा पचास मुरी धान फल्ने खोला खेत किन्यो। दुई/चार वर्षपछि त गुइँगुइँती खासखुस हुन थाल्यो- नब्बेको भुइँचालो सबैलाई दशा र दुर्भाग्य बोकेर आयो। तर, रनजितेको लागि सौभाग्य र समृद्धि लिएर आयो। अब ऊ विस्तारै रनजित राउतको ठाउँमा गाड्धने बुढोको नाममा सम्बोधित हुन थाल्यो।
आफ्नो सामान्य खेतबारी खनी खोस्री दुई छाक सिँदोपिठो खाने मान्छे सो समयको राम्रै हुने खाने व्यक्तिमा दरिन थाल्यो। खोला खेत किनेपछि धानको अउलपउल हुन थाल्यो। गाउँभरिका सराद, सुत्केरी, बिहे बटुलो, न्वारान, पास्नी, तिज, तिहार उसकै घरबाट दुई पाथी, चार पाथी धान नलगी नटर्ने स्थिति भयो विपन्न गरिबका निम्ति। प्रायः कोदो मकैको खान्कीले छाक टार्ने मान्छे गाडधनको सदुपयोगपछि प्रायः दिनकै दुई छाक धानको भात खाने भएको थियो। सो समयमा कोदो/मकै पनि धाने ब्याजमा पच्चिसा लाएर अनिकाल लाग्ने घरका दुई/चार मुरी धान पनि आफ्नै ढुकुटीमा पार्ने बेजोमा लागिसकेको थियो।
साह्रो/गाह्रो अप्ठ्यारो फुकाउन सजिलो मान्छे गाड्धने साहुलाई नै देख्ते। अब रनजित राउतको नाम बहिखाता, अर्जी दरखास्त, तमसुक राजिनामा चढेको हुन्थ्यो। तर, मान्छेका ओठमुखमा गाडधने साहु नै ठप्पा लागिसकेको थियो।
गाडधनको उत्तर-कथा
गाडधने साहुको नाती हो घनराज। बाजेको पालाको गाडधनको रहलपहलले घर किनेको अनुमान गर्छन् मान्छे। हो, उसले गाडधनले नै घर किनेको कुरा खसोखास सत्य कुरा हो। तर बाजेको पालाको गाडधनले होइन। उसले आफैँले राखेको गाडधनले किनेको कुरा धेरै थोरैलाई थाहा छ। हुनसक्छ उसकी पत्नी र ऊ बाहेक गाडधन राखेको र गाडधन निकालेको कुरा कसैलाई पनि थाहा छैन।
गाड्धनको उत्तर कथनको जरो पहिल्याउने हो भने आजभन्दा सत्र वर्ष अघिको समय रेखामा फर्किनुपर्छ। सो समय घनराम स्कुलमा अध्यापन गर्थ्यो गाउँको एक सामान्य आधारभूत स्कुलमा। स्कुलमा पढाउने अध्यापक।
पहाडी गाउँमा माओवादी पार्टीको प्रभाव एक रफ्तारमा बढेर गएको थियो। बा-आमाको जीवनकालभरि पहाडको आफ्नै पैतृक थलोमा बसोबास गरे पनि उनीहरुको चोला उठेपछि थातबास भित्री मधेशतिर सारिसकेको थियो। अब जागिर मात्र पहाडमा थियो। जहान परिवार भित्री मधेशतिर बस्थे।
भित्री मधेसको पनि अजकिलो ठाउँमा थियो उसको घर। घरमुनि खेतीपाती हुन्थ्यो। घरदेखि उत्तरी र पश्चिमी क्षेत्र आटव्य चुरिया जंगलले घेरेको थियो। सुरुमा गाउँमा पढाउने मास्टरहरुसित माओवादीले मासिक लेवी उठाउन थाले। महिनाको दुई दिनको तलब अनिवार्य रुपमा उनीहरुलाई बुझाउनु पर्ने नियम लगाइयो।
सुरुमा कसै-कसैले आनाकानी र प्रतिवाद गरे पनि देशभरिको कठिन परिस्थितिले सबैले दिन बाध्य भए। पहाडको स्कुल र मास्टर कोही अछुतो रहेनन्। पछि-पछि त भित्री मधेश र सुगम ठाउँका शिक्षकहरुले पनि दिनुपर्ने दिन आयो। यसै क्रममा घनराम र माओवादी कार्यकर्ताको बीचमा राम्रै चिनजान र सम्पर्क हुन थाल्यो।
माओवादी आन्दोलनको आयाम विस्तार हुने क्रममा घनरामलाई उनीहरुले काम लगाउन थाले। बिदाको समयमा आफ्नो घर भित्री मधेश झर्दा त्यस फेटका मास्टरहरुले जम्मा गरेर बुझाएको पैसा सुरक्षित रुपमा उनीहरुको सम्पर्क स्थलमा पुर्याइदिनु पर्ने भयो। काम आसध्यै जोखिमपूर्ण थियो। कथम्कदाचित यो कुरा सेना, पुलिस र प्रशासनले थाहा पाएमा उसको बाँच्ने गुन्जायस थिएन।
आफूले यस्तो काम गर्न नसक्ने कुरा पनि राखेको हो। तर, ऊ यस्तो चेपुवामा पर्यो। माओवादीको पैसा थुप्रैचोटि पहाडका सेल्टरमा पुर्याइदिने काम गर्यो। यो काम इमान्दारीका साथ गरिदिएकोम ऊ कामरेडहरुको पत्यारिलो सहयोगी बन्यो।
सहयोगी त बन्यो तर उसको मुटुमा हमेसा ढ्याङ्ग्रो बजिरहन्थ्यो। कुनै पनि बेला यो कुरा कतैबाट सुरक्षाकर्मीलाई थाहा भयो भने मेरो बाँच्ने खैरियत हुन्न। यस्तो कुरा सोचेर उसको मुख खङ्ग्रङ्ग सुक्थ्यो।
दाङ र मङ्गलसेनको आक्रमणपछि सेनाका ब्यारेक, जिल्ला सदरमुकाम, प्रहरी कार्यालयहरुमा आक्रमण तीव्र बनाइरहेका थिए। राज्यपक्षले संकटकाल लगाएको हुँदा प्रत्याक्रमणको सिलसिलामा अझ सहज पारेको समय थियो। देश असाध्यै संगीन समयमा गुज्रिरहेको थियो। को कतिखेर कहाँ मारिने हो, थाहा पत्तो थिएन। त्यसै समयमा घनरामलाई घर झर्नुपर्ने जरुरी काम पर्यो। विद्यालयमा बिदा मिलाएर पहाडबाट भित्री मधेशमा स्थित घरमा आयो।
घर आएको दुई दिनमै माओवादीहरुले लाहानको बैंक, ब्यारेक र प्रहरी कार्यालय माथि आक्रमण गरे। बैंकको सम्पूर्ण नगद, सुनचाँदी कब्जामा लिएको कुरा मिडियाहरुमा छ्यापछ्याप्ती फैलियो। उसको घरबाट नजिकको दूरीमा थियो लाहानबजार।
एक प्रकारको भयले गाँउबस्ती मौन थिए। कतिबेला के हुने हो? कसैले भन्न सक्तैनथ्यो। भारी मात्रामा सुरक्षाकर्मीहरु परिचालन थिए चारैतिर।
घनराम घरमै सुत्ने तरखरमा थियो। सातदिनको बिदा सकिन तीन दिनको समय बाँकी थियो। बिदा सकिएपछि स्कुल जाने विषयमा सोचविचार गर्यो। मनमा भित्री भागमा सन्त्रास कायमै थियो। समय दिन प्रतिदिन जटिल अझ जटिल बन्दै थियो। जागिर खानु नै थियो। स्कुल पुग्नु नै थियो।
जे होला त, खेप्नै पर्छ डराएर हुन्न। मनलाई दह्रो बनाएर भुसुक्क निदाएछ। रातको साढे एक बजेतिर तीन जना युवा आएर ब्युँझाए। ऊ उठ्यो। घरका अरु परिवारजन मस्त निद्रामै थिए।
उनीहरुले एउटा ट्याङ्का मुस्किलले बोकेर ल्याएका थिए। आएका मध्ये दुईजना उसले चिनिका मान्छे थिए। ती माओवादी योद्धा थिए। एकजना त माथिल्लो स्तरको नेता नै थियो। खुँजका स्कुलमा उठेको पैसा तिनै नेतालाई बुझाउने गर्थ्यो। ती योद्धाले विश्वास गरेको मानिस थियो घनराम। लामो समयदेखि उनीहरुको बीच सहकार्य हुँदै आएको थियो।
रातको सुनसान समयमा आएर उसलाई भने- 'लु सर! हामीलाई आपत पर्यो। तपाईंले मद्दत गर्नुपर्यो।'
'कस्तो मद्दत गर्ने होला?'
'यो बाक्सा लुकाउनु पर्यो।'
'कस्तो बाक्सा हो यो? यसमा के छ?'
'यो बाक्सा हामीले लाहान बैंक आक्रमण गर्दा कब्जामा लिएको बाक्सा हो। यसमा सुनाचाँदी छ।'
यति सुन्नासाथ घनराम थरथरी काम्न थाल्यो। यस्तो जोखिमपूर्ण कामको जिम्मा कसरी लिने होला! किंकर्तव्यबिमूढ बन्यो। उसै त सेना प्रहरीहरु कब्जामा लिएका रुपैयाँ पैसा सुनचाँदी फिर्ता गराएरै छाड्ने भनी आशंका गरिएका गाउँघरमा खानतलासी लिइरहेका थिए। के भन्नु के नभन्नु उसको वाक्य बसिसकेको थियो। उसले नचिनेको तेस्रो केटाले काँधमा एसएलआर बन्दुक झुण्ड्याएको थियो।
दाँया काँधबाट बन्दुक निकालेर देव्रे काँधमा सार्दै थप्यो- 'यति काम त तपाईंले गर्नैपर्छ। हामी आपतमा छौँ।'
त्यस मध्येका नेता कमरेडले भने- 'हामीलाई शाही सेनाले पिछा गरिरहेको छ। हामीसित यहाँ अडिने धेरै समय पनि छैन। तपाईंले आनाकानी नगरी यसलाई सुरक्षित तवरले लुकाइदिनैपर्छ।'
'यो काम त म गर्नै सक्तिनँ। हजुरहरुले अरु नै ठाउँ लानुस्। यस गाउँमा पनि सुराकीहरु छ्यापछ्याप्ती छोडेका छन्। यो काम गर्दा म पनि बाँच्दिनँ, मेरा जहान बच्चा पनि एकैचिहान हुन्छन्' घनराम टक्टकियो।
'हामी त आजै महाभारत पर्वत छिचोलेर सुनकोसी नदी तर्नुछ। यसलाई बोकेर हिँड्न गाह्रो भो। एकातिर यो पार्टीको सम्पत्ति हो। भोलिको युद्धलाई खर्च रासनपानी धान्ने जिनिस यही भित्र छ। अर्को हामीलाई जोगाउन चर्को भो। यसलाई बोकी हिँड्दा हाम्रो ज्यानकै खतरा हुने भो। तपाईं बाहेक सुरक्षित राख्ने ठाउँ हामीले काहीँ भेटेनौँ। यसमा आनाकानी नगरिदिनुस् सर।'
साँच्चै उनीहरुसित बढी वादविवाद गर्ने समय थिएन। घनरामले अस्वीकार र आलटाल गर्दा गर्दै त्यो बाक्सा त्यहीं छोडेर उनीहरु हिँडे।
आधा रातको समयमा त्यो बाक्सा उसलाई निल्नु न ओकल्नुको गाँस भयो। उसलाई पनि धेरै सोच विचार गर्ने समय थिएन।
यो घाँडोलाई कसरी तह लाउने त, उपाय खुट्याउन थाल्यो। मध्यरातमा ऊ एक्लै छ। गुवालीमा बाक्सा फ्याँकेर कामरेडहरुले बाटो तताइसकेका छन्। कसैलाई थाहा छैन यो कुरा। खुसुक्क पत्नीलाई ब्युँझायो, खस्याकखुसुक कानेखुसी गरेर बाक्सालाई घरभित्र हुले।
डिबिया बाले। झ्यालढोका सबैमा आग्लो छेस्कीनी लाए। ठेका भाडा राखेका चुला छेउको भण्डार खन्न थाल्यो घनराम। खन्तीको प्रयोग गरेर ठिक्क बाक्सा अट्नेगरी तीन हात गहिरो चौकुने खाल्डो खन्यो। भण्डार खन्दा निस्केको माटो नाङ्लामा बोक्तै कोठेबारीमा फ्याँकिन् उसकी पत्नीले।
पहिलो भाले बास्दा घनरामका बुढाबुढीले ट्याङ्का जमिनमुनि गाडेर त्योमाथि माटोले छोपेर लिपनघसन सकिसकेका थिए। आलो भुइँमा गजरा ओछयाएर त्यसमाथि पहिलेकै जस्तो ठेका भाँडा राखेपछि उनीहरुले लामो सास फेरे। बत्ती निभाएर आ-आफ्नो ओछ्यानमा गएर सुतेको अभिनय गरे। तर, उनीहरु निदाउन सकेनन्। केहीबेरमा त छ्याङछुङ उज्यालो भयो। र, उनीहरुको जीवन पुरानै लयअनुसार चल्यो। घरको भण्डारमा ट्याङ्का गाडिएको कुरा चरामुसा त के घरकै छोराछोरीलाई पनि थाहा भएन।
ऊ घरको काम सकेर बिदा सकिनु दुई दिन अघि नै स्कुलतिर लाग्यो। समय अझ कसिलो बन्दै गयो। बाटोघाटो खानतलासी चेकजाँच झन् कडा रुपमा हुन थाल्यो। माओवादीले पनि आक्रमणको गति अरु तेज बनाउँदै लगे।
दुई महिनापछि ती कामरेड घनरामलाई भेट्न स्कुल मै आए। ऊ सित जिज्ञासा राखे-
'हाम्रो टयाङ्काको के छ हालखबर?'
'टयाङ्का सुरक्षित कामरेड!'
'कसरी कहाँ त्यसलाई व्यवस्थापन गर्नुभयो?'
'त्यसलाई घरभित्रै खाल्टो खनेर राखेको छु। तपाईंहरुले साह्रै आपतमा पारिदिनु भयो नि?'
'इतिहासको यो जोखिम तपाईं हामीले मोल्नैपर्छ सर। त्यसै क्रान्तिको बेडा अघि बढ्छ?'
'अनि कतिन्जेल त्यहाँ रहन्छ कामरेड? त्यो घरमा रहुन्जेल हामीलाई रातमा निद र न दिनमा भोक नहुने भयो।'
'उचित समयमा हामी लान्छौँ। तपाईं ढुक्क भएर त्यो समयको प्रतिक्षा गर्नुहोस्। अहिले स्थिति अलि बढी नै प्रतिकुल छ। हाम्रो लागि सहज बन्ने वित्तिकै हामीले त्यसलाई लानु नै छ। सदुपयोग गर्नु नै छ।'
यति संवाद गरेर उनी हिँडे। त्यसको हप्ता दिनमै कुनै अज्ञात स्थलमा वैठक गर्दागर्दैको अवस्थामा घर घेरा हालेर उसलाई मारियो। सात जनामा चार जना नेता घेरा तोडेर भागे। तीन जनालाई त्यहीँ गोली ठोकेर हत्या गरियो। ऊ मारिएको कुरा घनरामले सुन्यो। ट्याङ्का बोकी आउने बाँकी दुई लडाकु पनि रुम्जाटारको भिडन्तमा मारिए।
ट्याङ्का लिएर आउने तीनै जना व्यक्ति मरेको कुरामा उसलाई पूरा पत्यार थिएन। तर जब त्यसपछिका डेढ वर्षसम्म ऊसित भेट्न कोही नआएपछि साँच्चै मरेछन् क्यारे भन्ने लाग्यो। नत्र एकाध महिनाको अन्तरमा उसलाई भेटिराख्थे। ट्याङ्काको सोधीखोजी र निगरानी गरिरहन्थे। अब लैजानु त्यहाँ नराख्नु हामीलाई पनि खतरा आइलाग्छभन्दा समय अझ प्रतिकुल छ। यो अप्ठ्यारो समय गएपछि त्यहाँबाट निकाल्छौ भनेका थिए।
त्यति लामो समयसम्म ट्याङ्काको विषयमा खोजीनीति गर्न कुनै माओवादी नआएपछि उसको मनमा पर्यो ट्याङ्काको विषयसित जोडिएका सबै कामरेडहरु मरेछन् क्यारे। नत्र त कोही न कोही आउनुपर्ने हो। पहिले त पार्टीको सम्पत्ति हो, त्यसलाई हामीले नै निगरानी गर्ने हो भनेर ती आउँथे।
के कस्तो अवस्था छ? बुझ्न मान्छे नआएपछि ऊ पनि चुपचापै रह्यो। त्यसपछिका पाँच छ वर्षको समय यति दुर्गतिमा बित्यो। इतिहासमै सबभन्दा निर्णायक र उथुलपुथलमय भएर घटनाहरु देखिए।
खुल्ला राजनीतिमा रहेको पार्टीहरु र हतियारबन्द युद्ध लडेको माओवादीबीच बाह्र बुँदे सम्झौता भयो। त्यसपछि बैसठी त्रिसठीको आन्दोलन उठ्यो। युद्ध बिराम भयो। राजाबाट विघटित संसद पुनर्स्थापना भयो। सदनले राजाका अधिकारहरु व्यापक रुपमा कटौति गर्यो। माओवादीसित शान्ति सम्झौता भयो। आन्तरिम संविधान लागु भयो। आन्तरिम सरकार बन्यो। संविधान सभाको चुनाव भयो र सबभन्दा ठूलो पार्टीको रुपमा नेकपा माओवादी पार्टीको उदय भयो।
माओवादी लडाकुहरुलाई सुरुमा क्यान्टोनमेन्टमा एकत्रित गरियो। पछि केही संख्या समायोजनमा गए। ठूलो संख्या राहत प्याकेज लिएर क्यान्टोनमेन्टबाट बाहिर निस्के र खुला समाजमा साधारण जीवन यापन गर्न थाले।
बैंक ब्यारेक आक्रमणका कुरा अब स्मृतिको गर्भमा विलीन भैसकेको थियो। अब यस्तो दिन पनि आयो- बैंक कब्जा गर्दा प्राप्त गरेको सुनचाँदीको ट्याङ्का घनरामको घरमा गाडेको छ भन्ने कुरा पनि इतिहासको गुमनाम कथा बनिसकेको थियो।
ट्याङ्काको विषयमा जानकारी र सरोकार भएका पाँच प्राणी मध्ये तीन प्राणी जसले टयाङ्का लुकाउन ल्याएका हुन् ती प्राणीहरु यत्रो खुल्ला राजनीतिको दौड चलिसक्दा पनि कतै काहीँ झुल्केनन्। उनीहरु समयको गुमनाम सन्दुलीमा हराए, बिलाए। घरपति घनरामका बुढाबुढी बाहेक ट्यांकाको विषयमा थाहा पाउने कोही बाँकी रहेनन् भन्दा पनि भयो। नत्र समयको वेगले यति धेरै छलाङ मारिसक्दा कोही न कोही ट्याङ्का खोज्न आउनुपर्ने हो, कोही आएनन्।
भित्री रुपमा असाध्यै बाठो बुद्धिको घनरामले एकदिन मनमा लख्यो, युद्धकालमा त आएनन् आएनन् शान्तिकालको यत्रो वर्ष बितिसक्दा पनि यिनीहरु आएनन्। आफैं सक्सकिएर तिमीहरुको माल यहाँ छ भन्ने कुरा पनि भएन। यसै गाड्धने बुढाको नाती उसै गाडधन बुढाको नाती यो मेरै गाडधन हो। आफ्नै हातले आफ्नै ठेकाभाँडा राख्ने भण्डारमा गाडेको हुँ। अब यसलाई सुरक्षित तवरले निकालेर विस्तारी-विस्तारी सदुपयोग गर्नैपर्छ। मास्टरी जागिर पेन्सन भैसकेको थियो। स्वैच्छिक राजिनामा गरेर पेसाबाट विश्राम लियो।
अब सानोतिनो खेलोफड्को गर्नतिर लाग्यो। भएका पैसा छप्के ब्याजमा लगानी लाएर समय गुजार्न थाल्यो।
एकदिन आधारातमै बुढाबुढी उठेर भण्डार खने। गाडिएको ट्याङ्का निकाले। खोलेर हेर्दा झण्डै चार किलो जति सुनका गरगाहना, काँचो सुनका डल्ला थिए। झण्डै एघार किलो जति चाँदीका मालमत्ता थिए। अति गोप्य रुपमा ती चिज किस्ता-किस्तामा धरान पुर्यायो। धरानका सुनव्यापारीसित उसको राम्रै सम्बन्ध थियो।
त्यही सुनव्यापारी माडवारीलाई किस्ता-किस्तामा सुनचाँदी बिक्री गर्दै गयो। त्यसबाट आएको रकम धरानकै बैँकमा जम्मा गर्यो। यी काम सबै गुपचुप गर्यो। कसैले सुइँको समेत पाएनन्। थाहा थियो भने उसकी पत्नीलाई थाहा थियो।
माडे व्यापारीले राखेको दाममै बिक्री गर्दा पनि जम्माजम्मी तीन करोड रुपैयाँ उसको हातमा आइसकेको थियो। अब किन यो भावर प्रदेशको खुजँ रुङगी बस्ने? उसको मनमा प्रश्नहरु उठे र एकदिन राति खुसुक्क पत्नीको कानमा साउती मार्यो।
'भाग्यमा भएपछि लडीलडी आँछ भन्थे बुढापाकाहरु, हो रहेछ। अब यो ठाउँ बसिरहने होइन। काठमाडौँमा घर हान्नुपर्छ।'
'त्यसै गर्दा राम्रो हुन्छ। ठूलो ठाउँ भनेको ठूलो ठाउँ हो। सानो ठाउँमा सानो कुरा पनि हुण्डरी बनेर सुसाउँछ। बरु चाँडै छोड्न पाए हुन्थ्यो' पत्नीले उसको कुरामा सहमति जनाइन्।
'म भोलि नै जान्छु र सबै बन्दोबस्त मिलाउँछु।'
'कतिन्जेलमा आउनु हुन्छ त?'
'त्यस्तै पन्ध्र/बाइस दिन त लागिहाल्ला नि।'
'फोन गर्दै गर्नु नि।'
'हुन्छ, हुन्छ।'
यति संवादपछि उनीहरु सुते। भोलिपल्टै ऊ राजधानी प्रस्थान गर्यो। भने समानकै घर किन्यो। घर किनेर गाउँ फर्किनासाथ कता-कता बाटा हो, उसले घर किनेरको खबर डँढेलो झैँ गाउँभरि फैलिसकेको थियो। बाटोघाटो, पानी पँधेरामा उसकी पत्नी सामु मान्छेले घर किनेको विषयमा जिज्ञासा राख्छन्। उनी मुन्टो हल्लाएर नथाहा पाएजस्तो गरी जवाफ दिन्छिन्- 'कोनी मलाई त केही थाहा छैन।'
घर खरिद गरेको तीन महिना पछिको कुरा हो। घनरामले आफ्नो परिवारलाई राजधानी बसाइ सारिसकेको छ। भित्री मधेसको घरमा पहाडकै भतिजो पर्ने मान्छेलाई झारेर खेतीबारी बटिया गर्न जिम्मा दियो। बिकेका बस्तुभाउ बेचे। नबिकेका भतिजालाई नै सुम्पेर काठमाडौँ आए। अहिले उनीहरु आलिशान तीन तले घरमा छन्। बगैँचा सहितको कम्पाउन्ड वाल भएको त्यस महलको नाम गेटमा श्रीसदन टल्किरहेको छ। चाँदीको पातामा कुँदिएको त्यो नाम उसलाई फेर्न मन लागिरहेको छ।
उसको दायाँबायाँका महलका गेटमा पनि बाहिरपट्टि नै यस्तै पिप्ले प्लेटमा घरका नाम कुँदिएका छन्। कुनैको 'त्रिपुरा महल' छ। कुनैको 'आरोग्य सदन' छ। कुनैको 'विनायक कुञ्ज' छ। आफूले लिएको 'श्रीसदन' लाई विस्थापन गर्ने मुडमा छ घनराम। उसलाई गाउँमा घनरामको सट्टामा गाड्धनेको नाती भनेरै सबैले सम्बोधन गरिआएका हुन्। बाजेले ९० सालमा ठूलो गाडधन भेटेकै कारणले यो नाम चारचौरास चल्तीमा आएको हो। अहिलेको घर किन्दा पनि गाउँमा बाजेकै गाडधनको प्रतापले जोडेको हो भन्ने विश्वास छ।
बाजेकै पालादेखि गाड्धान फापी पनि आएको छ। यी सबै कुरालाई हिसाब-किताब गरेरै उसले प्लेटमा अक्षर कुँद्ने ज्यासलमा गएर अर्डर गर्यो- 'गाडधान महल' को ठूलो प्लेट तयार गरिदिनको लागि। भोलिपल्टै प्लेट तयार भएछ। उसलाई खबर आयो। 'श्री सदन' को प्लेट निकालेर त्यस ठाउँमा उसले टाँस्यो- 'गाडधन महल' प्लेटका अक्षर हेरेर ऊ भित्रैबाट मुसुक्क मुस्कुरायो।