मुन्धुम कविता
फैलियो रंगिन फूलहरुको महक
चारैतिर बयेली खेल्दा
हावाको एकै झोक्कामा
आवासो सोदेनहाङ्वाको
निर्दोष तर केही खोजिरहेका एक वयस्क युगल आँखासँग
जुध्यो एक्कासी नेत्तिहाङ्मा फुङतीअन्नामाको
निर्दोष तर तेजिला एकजोर अर्को वयस्क आँखा
फूलैफूलले ढाकिएको तेम्बेमा
फूलैपिच्छेका सुवासले तानिएर
भुनभुनाउँदै आएका भमरा
मातेर रसले लर्बराउँदै उडे
फूलका रंगैरंगबीच नाचिरहेका
गौथलीहरु
गुँड बनाउन छाडेर
कानेखुसी गर्दै चिर्बिराउँदै बसे
हरर चलेको वासनाबीच
फूलैफूलको वस्तीमा
जुझ्दा
आवासो सोदेनहाङ्वा र नेत्तिहाङ्मा फुङतीअन्नामाको
एक-एक जोर आँखा
चम्किएका थिए बिजुली
झिलिक्क झिलिक्क
र, तिर्मिराएका थिए
क्षणभरका लागि दुवैजना वयस्क जोडी
थाहा नपाएर
जोडिएको मनको तार
र त पहिलो पटक
चम्किएको थियो बिजुली
मनको तार जोडिँदा
मनको तार जोडिए पनि
बाँकी अझै थियो
एकले अर्कालाई स्पर्श गर्न
बाँकी अझै थियो अवासो सोदेनहाङवाले
नजिकै मुख जोडेर
फुङ्ती अन्नामाको कानको लोतीमा
झुण्डिएको कानढुङ्ग्रीलाइ अलिकति
पन्छाउँदै साउतीको भाषामा केही भन्न
तातो सासले
र, सुन्न बाँकी थियो
फुङ्तीअन्नामाले पनि
आदिम प्रेमको बकपत्र
फूलको वासनाले लट्ठिएको हो कि
नेत्तीफुङ्तीअन्नामाको आकर्षणको वासनाले लट्ठिएर हो
पुगेर नजिकै
सारेर दुई पाइला
भुइँसोरी गरेर बिन्ती बिसायो
जोडेर दश औँला-
ए सिसागेन मेन्छ्या
नेत्तीहाङ्मा फुङ्तीअन्नामा
तिम्रो आँखाबाट निस्केको ज्योतिले
पराजित भएको छु
र, मेरो आँखाबाट निस्केको ज्योतिले
पराजित भएका छौ तिमी
आँखाहरु जुझ्दा
तिमी पनि लड्खडायौ
र फूलको आड लिएर उभिन सक्यौ
म तिर्मिराएर
अरु केही देखिनँ तिमी सिवाय
आफ्नै अगाडि उभिएको नालिगेन थाङ्वेनको
सुनेर आदिम प्रेमको बकपत्रले
तरंगित हुँदै मुस्कुाइन्
परेलीहरु नचाइन् र अनुहारलाई फूलजस्तै रंगिन बनाइन्
अनि बयेली खेलिरहेका एउटा फूलको गुच्छाले
हानेर लजाउँदै लुकिन् फूलकै झाडीबीच त्यसपछि
फूलको वासनासँगै
काम वासना पनि जागेको बेला
अचानक भएकै हो लेलेपको पारिलो गाउँमा
र, मदहोस-मदहोस बनेकै हुन् दुवै
आँखाकै इसारामा अलिकति मन चोराचोर गरेका थिए
नेत्तीहाङ्मा फुङ्तीअन्नामाको सौन्दर्यमा मक्ख परेर
अलिकति सपना चोरेका थिए अवासो सोदेनहाङ्वाले
नेत्तीहाङ्मा फुङ्तीअन्नामाको
चिम्से आँखाको परेलीमा अल्झेर
आवासे सोदेनहाङ्वाले
साउती गरेकै हो-
ए फूलकी सुन्दरी रानी
नेत्तिहाङ्मा फुङतीअन्नामा
नदेऊ मलाई तिम्रो यौवनको वर्णन गर्न
म तिम्रो रुपको वर्णन गर्न सक्दिनँ
दुवै मुस्कुराए
संसारै मुस्कुराएको देखे
फक्रिए अरु-अरु फूलहरु सेक्मुरी र मारोतीफुङ पनि
चाले पाइला एकसाथ पालाम र च्याब्रुङको भाकामा
थाले रमाउन सिङचाङ्गो र अम्लारीफुङ
फक्ताङलुङ तिरबाट आएको
चिसो हावामा
लहराइन् पच्छ्यौरीसँगै केशराशि
अरु-अरु फूलहरु पनि हाँस्न थाले
कहिले घामको उज्यालो ज्योतिमा
कहिले जुनको निलो अंगालोमा
अन्तमा
त्यो आदिम प्रेमको अर्को बकपत्र थियो
आवासो सोदेनहाङ्वाको आँसुको मसिले लेखेको-
मैले मन्जुर गरेँ
तिम्रो सर्त
ठानिनँ मेन्जोमेन्जो
तिमीलाई मैले
सजाउनु थियो आफ्नो सपनामा
आहाँ! त्यो फुङलिङ गाउँदेखि अझै
उत्तर तिरको लेलेप गाउँमा
तमोरको शिरमा दुवो ढुङ्गा छोएर
तिमी र मैले गरेको
वाचाहरुअनुसार
नसकेपछि चट्याङ झार्न आकाशबाट
नसकेपछि भुइँचालो ल्याउन धर्ती मुनिबाट
मैले फुङ्वा चाङ्मा गर्न सकिनँ
र, तिमी तमोरको शिरैशिर कतै अलप भयौ
छाडेर मलाई एक्लै-एक्लै
मेरो मनभरिको माया चोरेर
आँखाभरिको सपना चोरेर
प्रिय ए फूलहरुकी रानी
मैले तिम्रो मांगेना उठाउन सकिनँ
मैले तिम्रो मानका लागि मान राख्न सकिनँ।
(नोटः यस कविता तरुनी-तन्नेरीको शीर उठाउने याक्थुङ लिम्बु मुन्धुमको 'फुङ्वा चाङ्मा' मुन्धुममा आधारित छ। मुन्धुममा उहिलै आवासो सदेनहाङ्वाले नेत्तिहाङ्मा फुङतीअन्नामाबीच आदिम प्रेम भए पनि वाचाअनुसार पूरा नगरेपछि नेत्तिहाङ्मा फुङतीअन्नामाको शीर ढलेपछि आवासो सोदेनहाङ्वालाई एक्लै छाडेर गएको कथा छ।
याक्थुङ मुन्धुम भित्रको तङ्सिङ् तक्मा मुन्धुम अन्गर्तत फुङ्वा-चाङ्मा एउटा महुत्वपूर्ण अनुष्ठान हो। सरल शाब्दिक अर्थ ओइलाएको फूललाई प्राकृतिक शक्तिद्वारा पुनः पूर्ववत अवस्थामा फर्काउने कार्यलाई फुङ्वा-चाङ्मा भनिन्छ। खास गरेर किशोर-किशोरी र तरुण तरुणीमा शारीरिक स्वस्थ्यता एवं सुन्दरता छाओस्, उच्च मनोबलका साथ उच्च आकांक्षा वा उद्देश्य दुनियाँसामु सफलतापूर्वक सम्पन्न गर्न सकून, जीवन सुखमय र सफल रहनका लागि शीर नढलोस् भनेर गरिने अनुष्ठान नै फुङ्वा-चाङ्मा हो।'