यी धुलो र मैलोले गुजुल्टिएका केशराशि
कत्लैकत्ला भएका शर्ट
तर भित्र आत्मा भने पवित्र छ
तिमी घिन गर्छौ
छिः छिः दूरदूर गर्छौ
तर त्यो कत्लैकत्ला भएको शर्टभित्र
मासु उस्तै छ साथी
तिमी हिँड्ने बाटोमा अत्तर झैँ गन्ध आउला
तर साथी, बाटो त उही नै छ
माटो त उही छ
तिमी भित्रको अहमले
तिमी भित्रको आत्माले
नछो, छेउ नजा भन्ला
तर बग्ने रगत र फेर्ने श्वास त उस्तै छ साथी
म नि ऊजस्तै नै हो
बस् बस्त्र र रहनसहन फरक छ
तर साथी, हामी समान मानव हौँ
तिमी भन्लाऊ बोल्न मात्र सजिलो छ भनेर
तर साथी म त्यो गन्धको भिडमा अत्तर पाउँछु
फेरि भन्लाऊ
यो त पगाल भयो भनि
तर साथी म यस्तै छु
हिरा खोज्न कोइलाखानी नै पुग्न पर्छ साथी
एक रात
त्यो चिसो छिँडीमा
निदाउन खोजेर हेर साथी
एक रातलाई खाली पेट सुतेर हेर साथी
तिमी नि मजस्तै
सबैलाई समान देख्नेछौ
फेरि भन्लाऊ मलाई के अपुग छ र!
साथी, अभाव थाहा नभई सम्पन्नताको महत्व कम हुन्छ
साथी, धर्ती उही, आकाश उही
तर मान्छेको सोच फरक छ साथी
फूल उही, काँडा उही
हेर्ने दृष्टिकोण फरक छ साथी
बाटो उही, हिँडाइ उही
तर गन्तव्य फरक छ साथी
यत्रो विभिन्नतामा
सबै समान कसरी हुन्छन् साथी
म भन्छु, तिमी तिम्रो बाटो हिँड
तर अरु यात्रीलाई हीनको भावले नहेर साथी
समान्ताको खोक्रो नारा हैन
व्यवहारमा उतार साथी।