सधैँ बिहानैदेखि कोलाहल रहने सहर आज सुनसान छ। बिहानको समय बाटोमा केही थान व्यक्तिहरु बाहेक कोही देखिएका छैनन्। करिब कार्यलय समय हुन थालेपछि बाटोमा काम विशेषले आएका मान्छेहरु देखिन थाल्छ्न्।
बिहानीको नौ बजिसक्यो, तर पनि सडकमा सवारी गुडेका देखिँदैनन्। सडकमा केही थान छरिएका भन्दै छन्, आज त नेपाल बन्द रे! त्यही केही पर गाउँबाट रोजगारीको लागि परदेश जान हतारिँदै पासपोर्ट बनाउन दौँडिएका दाइ बन्दको नाम सुनेर अवाक छन्।
नहुन् पनि कसरी, तीन दिनमा पासपोर्ट बन्ने आशमा यो सहर पसेका दाइको बन्दकै कारण बसाइ लम्बिने भयो। त्यसमाथि यो सहरको खर्च, मुस्किलले दिनरात काम गरेर केही हजार वचत गरेर आएका थिए। अब बसाइ लम्बिँदा अरु कति ऋण काट्नुपर्ने हो। मनमनै ती दाइ कल्पिरहेका थिए, यस्ता बन्दकै कारण न हो देश जहाँको त्यही रहेको, नभए कसलाई पो परदेशिने रहर हुन्थ्यो र!
यता देशभित्रै रोजगारी गर्नेको अवस्था पनि कहाँ उतिसारो राम्रो हो र! अझ दैनिकि काम गरेर गुजारा टार्नेको त आफ्नै समस्या छ। दिनभर सवारीसाधन गुडाउन नपाएका सवारीचालक दाइ-दिदीहरु एक दिनको भत्ता गुम्ने भएपछि खिन्न देखिन्छन्।
महंगो सटर भाडामा लिएर व्यवसाय गर्दै आएका व्यवसायी आफ्नो दैनिक नाफामा लगाम लाग्दा विचलित देखिन्छ्न्। यता कोभिडपछि बल्लतल्ल खुलेका विद्यालय, कलेजका विद्यार्थी फेरि अर्को बन्दले गर्दा विचलित छन्। सबैलाई आफ्नो परिवार पाल्ने खर्चले चिन्तित तुल्याएको छ।
देशका हरेक जनलाई आफ्नो गुजारा बारे चिन्ता छ। नहोस् पनि कसरी, मूल्यवृद्धिले नुनदेखि सुनसम्मको भाउ बढेर आकाश छोइसक्यो। त्यही मूल्यवृद्धिले ढाड सेक्दा पनि जसोतसो गुजारा गरेर छाक टार्नेलाई मूल्यवृद्धि बढ्यो भन्दै गरिएको बन्दले झन् मूल्य बढ्ने त्रास सिर्जना गरिदिएको छ।
तीन करोड नेपाली जनताको हितमा भन्दै गरिने बन्द, आन्दोलन, भाषणजस्ता कार्यक्रमबाट आजित भएर हरेक जनता सोच्दछ- आखिर यो देशमा म बसूँ कसरी? जनतालाई नै आजित तुल्याउने यी चिजहरु आखिर केका लागि गरिन्छन् ?
यद्यपि हरेक दिन मन भित्रबाट हरेकलाई लाग्दो हो सबै चिज राम्रो भैदिए, राम्रो गरिदिए कसलाई पो आफ्नो देश छोड्ने रहर हुँदो हो र! यता देशको अवस्थाका कारण हरेक वर्ष लाखौंको संख्यामा परदेश उड्ने जमातलाई हेर्दा गायक जेबी टुहुरेको गीतका केही हरफ सापटी लिन मन लाग्छ:
'बसाइ हिँड्नेको ताँतीले बस्नेको मन रुँदैछ
लाखौँको लागि उजाड छ यो देश, मुठीभरलाई त स्वर्ग छ।'